रोजगार

कामका लागि क्यानडा जान उडेकी इलामकी कविता बैैङ्कक जेलमा

१५ चैत, इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । आचार्य र अधिकारीले भने आफूहरू निर्दोष भएको बताएका छन् ।

अहिले अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेशअनुसार उनीहरूलाई जेलमा राखिएको छ । वकिलको परामर्श लिँदा उनीहरूलाई धरौटीमा छुटाउन दुईलाख ५० हजार थाई भ्याट धरौटी तिर्नुपर्ने बताएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

योसँगै वकिल राखेर उनीहरूको पक्षमा बहस र उनीहरूलाई भेटेर बहस नोट लेख्नका लागि कम्तीमा एक पटकको पाँच हजार थाई भ्याट लाग्ने र धरौटीमा छुटाउनका लागि कम्तीमा छ पटक भेट्नुपर्ने भएकाले उनीहरूलाई छुटाउन ठूलो रकम चाहिने बताइएको छ ।

धन कमाउनका लागि विदेश जान खोजिरहेकी आचार्यलाई दलालले क्यानाडा पठाई दिने प्रलोभन देखाए । क्यानाडा जस्तो मुलुकमा जान पाउने भएपछि सरसापट गरेर भएपनि आचार्यले विदेश जाने निधो गरिन् । दलालले थाइल्यान्ड हुँदै क्यानाडा पठाइदिने भनेपछि अधिकारीसँगै असोजको अन्तिम हप्ता आचार्य थाइल्यान्ड हुँदै क्यानाडा हिँड्ने तयारी थियो ।

त्यहाँ दलालले क्यानाडाको भिसा लगाएर राहदानी दिएपछि होटलमै थाई प्रहरीले पक्राउ गरेको आचार्यका आफन्तले जानकारी गराएका छन् । पक्राउ परेपछि सम्पर्क नभएकाले दलाल को हो भन्ने कुरा थाहा भइनसकेको परिवारले जनाएको छ ।

२०७३ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत