बिचार/ब्लग

कांग्रेसले मति बिगारेपछि

लोकतन्त्रमा कार्यपालिका बियबस्थापिका र न्यायपालिका एक अर्काका परिपुरक हुन् ।तर शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र मिलेर २०७४ साल बैशाख १७ गते आइतबार अर्थात् आजका दिन नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध आरोप नामका अनेक फतुर लगाउँदै महाभियोग प्रस्ताव संसदमा दर्ता गरियो । नेपालको इतिहासमा यसलाई रक्तहीन कोतपर्व भन्नु पर्छ । माओवादीसँग मिलेर कांग्रेसले न्यायको हत्या गरेको दिन हो यो । 

सुशीला कार्की महिला भएकाले आरक्षण पाएर प्रधानन्यायाधीश भएकी होइनन् । उनी एक निडर, क्षमतावान र साहसी न्यायमूर्ति हुन् । पेशाप्रति उनको निष्ठा अतुलनीय छ । यसै कारणले आफ्ना अनेक पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी देशको न्यायपालिकाको प्रमुख बन्ने हैसियतमा पुगिन् । यो उनले आर्जन गरेको सबैभन्दा ठूलो पूँजी हो । यसै कारण नेपाली जनजनका मनमा उनी सम्मानित छिन् । 

कथित महाभियोग पत्रमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध अनेक अभियोग लगाइएको छ । उनलाई पक्षपात गरेको, न्याय सम्पादनमा त्रुटी गरेको, आइजीपी प्रकरणमा कार्यसम्पादन मुल्यांकन तोडमोड गरेर फैसला गरेको, सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको जस्ता आरोप लगाइएको छ । यी आरोप होइनन्, सत्ताधारीको कुत्सित स्वार्थ पूरा गर्न औजार बनाइएका फतुर मात्र हुन् । 

हो, सुशीला कार्कीले पक्षपात गरिन्, किनभने उनले न्यायको पक्ष लिइन् । आइजीपी प्रकरणमा उनले दूधको दूध पानीको पानी छुट्याइन् । सरकारको स्वेच्छाचारितामाथि अंकुश लगाउँदै न्यायको नजिर स्थापित गरिन् । यस्तो पक्षपात नेपाली जनतालाई मन परेको छ । त्यसैले सुशीला कार्की न्यायाधीश होइनन् न्यायमूर्ति हुन् । न्यायको प्रतीकका रुपमा आँखामा पट्टी बाँधेर तराजु बोक्ने एक महिलाको प्रतिमा हुन्छ । सुशीला कार्कीको न्यायप्रतिको निष्ठाले त्यो प्रतिमामा प्राण भरेको अनुभव जनताले गरेका थिए । 

आरोपका रुपमा सत्ताधारीहरुले जेसुकै लेखे पनि सुशीला कार्कीमाथि महाभियोग लगाउनुको प्रमुख कारण लोकमान प्रकरण हो । संसदमा लोकमान विरुद्ध महाभियोग प्रस्ताव ल्याउँदा कांग्रेस चुईंक्क बोल्न सकेको थिएन । प्रकारान्तरले कांग्रेस सभापति शेरबहादुर देउवा लोकमानको पक्षमा उभिन चाहे पनि नागरिक दवाव झेल्न नसक्ने अवस्थामा उनी थिए । त्यसैले संसदमा कांग्रेसले मुख बन्द गर्ने नीति लियो । जव संसदले आफ्नो विवेक बोल्न सकेन र विवेक बोल्न चाहने एमालेसँग पर्याप्त संख्या थिएन तव सर्बाेच्च अदालतले लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन अयोग्य हुने फैसला गरेको थियो । आज तिनै लोकमानको बोलीमा लोली मिसाउन कांग्रेस पुगेको छ । 

सुशीला कार्की विरुद्ध ल्याइएको महाभियोगमा भू–राजनीतिका बाछिटा नहोलान् भन्न सकिन्न । नेपालकै पात्र मार्फत सुशीला विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न लगाएर कुनै बेला लोकमानलाई संरक्षण गरेको शक्तिले देउवा र दाहाललाई प्रयोग गरिरहेको छ । कुनैबेला त्यही भू–राजनीतिले नेपालमा अस्थिरता फैलाउन कसैलाई टाउकोको मुल्य तोक्न लगायो र कसैलाई टाउको गिंड्न लगायो । आज त्यही भू–राजनीतिले टाउको गिंड्ने र टाउकोको मुल्य तोक्नेलाई एक ठाउँमा मिलाएर न्यायको शीर छेदन गर्न लगाएको छ । 

यस्तो अवस्थामा नेपालको चिन्ता गर्ने र हित चाहने नागरिक समाज तथा राजनीतिक दल तत्काल एक ठाउँमा आउन जरुरी छ । अव सामाजिक सञ्जालबाट मात्र विरोध गरेर पुग्दैन । नागरिक सडकमा निस्कने बेला भयो । 

२०७४ बैशाख १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत