समाचार

कोभिड –१९ विशिष्ट सम्मान प्रदान

बारबरा फाउन्डेसनले कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने चिकित्सक, नर्सलगायत अन्य प्राविधिकलाई एक कार्यक्रमका बिच पूर्व राष्ट्र«पति रामवरण यादवको हातबाट विशिष्ट सम्मान प्रदान गरेको छ ।
डा. भगवान कोइरालाको संयोजकत्वमा रहेको निर्णायक मण्डलले देशभरिबाट कोरोना महामारीमा आफूभन्दा पनि आफ्नो कर्मलाई प्राथमिकतामा राखेर बिरामीको सेवा गरेका व्यक्तित्वहरुलाई छनोट गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवले कोरोना महामारीले ठुलाठुला शक्तिशाली देशलाई थरथर काम्ने बनाएको अवस्थामा हाम्रो जस्तो स्रोत साधन कम भएको र व्यवस्थापकीय कमजोरी समेत रहेको देशमा दत्तचित्त भएर काम गर्नुहुने सबैको उच्च पशंसा गरे । कार्यक्रममा निर्णायक मण्डलका संयोजक डा. भगवान कोइरालाले छायाँमा रहेको चिकित्सा क्षेत्रलाई कोभिड–१९ ले अलिकति माथि उठाएको हुँदा अझै राम्रो काम गरेर चिकित्सा क्षेत्रको महत्व र यसको गरिमा समाजमा स्थापित गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति एवं बारबरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले उपचार गर्दा चिकित्सकको मात्र नाम आउने तर नर्सलगायत सम्पूर्ण प्राविधिक टिमको उत्तिकै योगदान भएको हुँदा बारबरा फाउण्डेसनले सबैको हौसला बढाउने उद्देश्यले अग्रपङ्क्तिमा काम गर्ने सबैलाई सम्मान गर्ने जमर्को गरेको र आगामी दिनमा पनि सबैको हौसला पाएमा सकेसम्म यसैगरी अगाडि बढ्ने जानकारी गराए ।
कार्यक्रममा सामाजिक दुरी कायम गर्न सम्मान–पत्र पहिले नै सम्मान ग्रहण गर्ने व्यक्तिलाई पठाएर पूर्व राष्ट्रपतिको हातबाट सम्मान गरिएको थियो । कार्यक्रममै बारबरा फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे र उनकै छोरी अद्विती घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण समेत गरेका थिए ।

 

२०७८ श्रावण १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत