समाज

घरघरमा खिर खाएर साउन १५ मनाइँद

आज नेपालीहरुले खिर खाएर साउन १५ मनाइरहेका छन् । सँस्कार सँस्कृतिमा साँच्चि नै नेपाल समृद्ध छ । मौसमअनुसार विभिन्न चाडपर्व रीतिरिवाज नेपालीहरुले मनाउँदै आएका छन् । नेपालीहरुले प्राचीनकालदेखि मनाउँदै आएका यस किसिमका रीतिरिवाजमा वैज्ञानिक आधार पनि भेटिन्छ ।


असार १५ मा दही, चिउरा खाने र साउन १५ मा खिर खाने परम्परा रहँदै आएको छ । बर्खा मासमा काम गर्दा गर्दा थकित भएपछि र कामको चटारो पनि कम हुने भएको हुँदा साउन १५मा परिवारका नाताकुटुम्ब सँगै बसेर खिर खाँदै रमाउने चलन रहेको छ । श्रावण मासमा गाईभैँसीले दुध पनि बढी दिने र विभिन्न मसला हालेर खिर खाँदा स्वास्थ्य पनि राम्रो हुने भएकाले सबै नेपालीले खिर खाएर साउन १५ मनाउने गरेका छन् ।


मनोबैज्ञानिक रुपमा पनि यस्ता चाडपर्वले जीवनमा खुसी हुन र रमाउन मद्दत पुग्ने मानिन्छ । सधैँ काम काम हुँदा जो कोहीलाई मानसिक तनाब बढ्न सक्ने भएकाले काम सकेपछि मनाइने यस्ता परम्पराले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने मानिँदै आएको छ । नेपालीहरुले मनाउने यस्ता परम्पराको गहिरो, वैज्ञानिक र व्यावहारिक अनुसन्धान हुन सके समाजविकासमा यस्ता परम्पराको अझ योगदान बढ्ने देखिन्छ । पछिल्लो पुस्ताले परम्पराको गहनतालाई बुझ्नु भन्दा नि केबल लहैलहैमा रमाइलोको रुपमा मात्र यस्ता परम्परा मनाएको पाइन्छ ।

२०७८ श्रावण १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत