देश

तीस किलो यार्सागुम्बा निकासी

दार्चुला, १५ असार यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुरलगायतका देशमा निर्यात गरिन्छ ।

अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पूर्जी लिने गरे तापनि अवैधानिक रुपमा सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ । त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको भनाइ छ ।

प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८२० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको छ । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो ।

गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रले रु ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो । दार्चुलामा यस वर्षको हालसम्ममा चार क्विन्टल ५० किलो यार्सागुम्बा संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

२०७५ आषाढ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत