तरुण दलका जिल्ला अध्यक्ष पटेलको निधनप्रति दुःख व्यक्त
राजनीति

तरुण दलका जिल्ला अध्यक्ष पटेलको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २७ जेठ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत अध्यक्ष पटेलको निधनबाट भातृ संस्था तरुण दल र काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

जिल्ला अध्यक्ष पटेलको गएराति ४२ वर्षको उमेरमा काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय पटेल विगत दुई महिनादेखि मिर्गाैला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित हुनुहुन्थ्यो । स्व पटेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

सभापति देउवाले उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । स्व पटेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज अपराह्न पार्टीको केन्द्रीय कार्यालयमा राखिएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अध्यक्ष पटेललाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

त्यसैगरी पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायत केन्द्रीय सदस्यले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि पार्टी र नेपाल तरुण दलका नेता एवं कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो । उहाँको अन्तिम संस्कार पर्सामा गरिने भएकाले पार्थिव शरीरलाई आजै पर्सा लगिएको छ ।

२०७५ जेठ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत