बिचार/ब्लग

वसन्त जस्तो छैन कोरिया

‘कोरियामा अहिले उज्ज्वल र आरामदायी वसन्तको याम छ। फूल र पातहरू बाहिर आउन सुरू गर्दैछन्। भ्रमणका लागि यो निकै राम्रो समय हो र म आशा गर्छु, तपाईंहरूको कोरिया बसाइ राम्रो हुनेछ।’

दक्षिण कोरियाका उप विदेशमन्त्री आन छोङ घे राजधानी सोलस्थित प्रेस सेन्टरको कन्फरेन्स हलमा कोरियाली प्रायद्वीपको बद्लिँदो भूराजनीतिबारे बोल्दैछन्। जुनैबेला युद्धको सामना गर्न तयार बस्नुपर्ने देशका मन्त्रीका निम्ति विदेशी पत्रकारसँग सिधै सवाल जवाफ सायद एउटा दुर्लभ अवसर नै हुन्छ।

‘तर हामीले यस क्षेत्रको बृहत् भूराजनीतिक तस्बिर हेर्यौँ भने यो वसन्तको समय जस्तो छैन’, ३५ वर्ष विदेश मन्त्रालयमा रहेर कुटनीतिमा खारिएका उनले बडो आत्मविश्वासका साथ हामीलाई आफ्नो विषयतिर तान्दै लगे, ‘पूर्वोत्तर एसियाली क्षेत्र, खासगरी कोरियाली प्रायद्वीपमा अनिश्चितताको बादल घुमिरहेको छ।’

सोच्न र लेख्न यहाँ अत्याधिक विषय भएकाले ‘विश्व पत्रकार सम्मेलन २०१७’ दक्षिण कोरियामै किन आयोजना गरियो भनेर नसोध्न उनले कुटनीतिक पारामै सुझाए। ‘बरू तपाईंहरूलाई केही मसला मिल्ने गरी म हाम्रो विदेश नीतिको चुनौती र मेरो सरकार यो कालो बादल कसरी हटाउन चाहन्छ भन्नेबारे बताउने छु।’

 

 

कोरियाली प्रायद्वीपको तस्बिर छर्लङ्ग अघिल्तिर राखिदिए लगत्तै उनले ५५ देशबाट आएका झण्डै सय जना पत्रकारलाई लन्च रूममा निम्त्याए। मन्त्रीको तातो विश्लेषण सुनेर मनमनै प्रश्नको सूची बनाउँदै गरेका केही पत्रकार सबैभन्दा अगाडिको टेबलमा उनीसँग संवाद थालिहाल्ने मुडमा छन्।

बेइजिङबाट डेढ घण्टा उडान भरेर सोल आइपुगेका चाङ सोङले अग्रसरता लिइहाले। किम्चीको टुक्रा चपिस्टिकले टिप्दै गर्दा उनको मुखबाट पहिलो प्रश्न निस्क्यो, ‘कोरियाली प्रायद्वीपको समस्या कसरी समाधान हुन्छ?’

मन्त्री घेले प्रश्नको जवाफ दिन एकछिन पनि ढिलो गरेनन्, मानौँ उनी आफ्नो मन्तव्य जस्तै हरेक प्रश्नको उत्तर तयार गरेर आएका छन् अथवा जवाफ दिन कोरियाली कुटनीतिज्ञका लागि यो एउटा सामान्य प्रश्न हो।

उनले एकदमै छोटो र अर्थपूर्ण जवाफ दिए, ‘यसको साँचो बेइजिङसँग छ।’

‘तपाईंलाई साँच्चै त्यस्तो लाग्छ?’, चाङले थप व्याख्याको अपेक्षा गरेझैँ फेरि सोधे, ‘चीनले भनेको उत्तर कोरियाले मान्छ?’

किम्ची, सुप र सागपातका कोरियाली परिकार छिट्छिटो टिपेर हामी फेरि कन्फरेन्स हलमा छिर्यौँ, जहाँ तत्कालै दोस्रो सत्र सुरू हुँदैछ र जसको एक जना प्रस्तोता उनै चाङ सोङ छन्– चीनको सबैभन्दा ठूलो पत्रिका पिपुल्स डेलीको विदेश सम्बन्ध विभागका उपनिर्देशक।

चीनको राष्ट्रिय धारको प्रवक्ता झैँ लाग्ने ग्लोबल टाइम्स दैनिकका एक जना संस्थापक र प्रबन्ध सम्पादक रहिसकेका चाङ सुरूमै मन्त्री घेले लन्च टेबलमा दिएको जवाफमा असहमत देखिए– ‘चीनसँग साँचो छ भन्ने कुरामा म सहमत छैन तर यो निकै रोचक छ।’

कसरी रोचक छ?

चाङले खुलाउँदै गए, ‘हामीले साँचो कोसँग छ पत्ता लगाउन सक्नुपर्छ। यदि हामीले त्यो पत्ता लगायौँ भने छ पक्षीय वार्ता फेरि सुरू गर्न सक्नेछौँ।’

उत्तर कोरियाले परमाणु हतियारको कार्यक्रम सुरू गरेपछि कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण रूपमा समाधान गर्ने भन्दै छ पक्षीय वार्ता सुरू गरियो। तर अमेरिका, चीन, जापान, रूस र दुई कोरियाले २००३ देखि २००७ सम्म पाँच चरणमा भएका वार्ताबाट कुनै समाधान निकाल्न सकेनन्। अन्ततः २००९ मा उत्तर कोरिया वार्ताबाट बाहिरियो र फेरि आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढायो।

हलबाट कसैले चाङलाई उनले लन्च टेबलमा मन्त्रीलाई राखेकै प्रश्न सोध्यो– उत्तर कोरियाको परमाणु समस्याको समाधान कसरी होला?

‘यदि मसँग अवसर हुन्थ्यो भने म यो प्रश्न प्रेसिडेन्ट ट्रम्पलाई सोध्ने थिएँ’, कुनै समय पिपुल्स डेलीको वासिङ्टन संवाददाता रहेका चाङले बेइजिङतिर सोझिएको प्रश्नलाई वासिङ्टनतिर मोड्दै भने, ‘तर मलाई लाग्छ ट्रम्पसँग पनि यसको उत्तर छैन।’

तत्कालै चाङले ट्रम्पको एउटा भनाइ सम्झिए, जसले केही दिनदेखि बेइजिङलाई झस्काइरहेको थियो– ‘बिहान मैले मेरो स्मार्ट फोनमा फाइनान्सियल टाइम्समा ट्रम्पको अन्तर्वार्ता पढेँ, जहाँ उनले भनेका छन्, यदि चीनले उत्तर कोरियाको समस्या समाधान गर्दैन भने हामी गर्छौँ।’

‘म छक्क परेँ, कसरी ट्रम्पले समाधान गर्छन्?’

आश्चर्यजनित प्रश्नसँगै उनी विगततिर फर्किए, ‘सम्भवतः ट्रम्पको दिमागमा युद्ध वा सैनिक कारबाही होला। तर यदि उनले त्यो सोचिरहेका हुन् भने म उनलाई अफगानिस्तान, मध्यपूर्व, इराकको अवस्था सम्झाउन चाहन्छु। मलाई लाग्दैन, युद्ध एउटा विकल्प हो।’

000

हामी चढेका चार वटा बसले सोलबाट पूर्वी तटको पर्वतीय नगर प्योङचाङतर्फको राजमार्ग समाते। राजधानी सोलबाट एक सय ८० किलोमिटर यात्रा गरेपछि राति हाम्रो बास उत्तर कोरियाको सिमा छेउको सानो बौद्ध नगरमा हुँदैछ।

‘यो अमेरिकी सैनिकहरू रहेको क्षेत्र हो, कोरियामा अहिले २८ हजार पाँच सय अमेरिकी सेना छन्,’ विदेशी यात्रुका लागि सजिलो अंग्रेजी नाम राखेकी कोरियाली गाइड सोफीले बसको अगाडिबाट राजमार्गको दायाँबायाँ देखाउँदै ब्रिफिङ गर्दैछिन्, ‘त्यो दायाँतिरको इलाकामा चाहिँ कुटनीतिक नियोगहरू छन्।’

नौ वर्षअघि पहिलो पटक दक्षिण कोरिया आउँदा मैले अमेरिकी सेनाबारे धेरै सुनेको थिएँ। सुनेको मात्र होइन, त्यसबेला पनि उत्तर कोरिया छेउको गैरसैनिक इलाका घुमाइएको थियो, जहाँ हामीले गल्फ खेलिरहेका अमेरिकी सेना प्रत्यक्ष भेटेका थियौँ। नौ वर्षपछि दोस्रो पटक कोरियामा अमेरिकी सैन्य क्याम्प देख्दा मेरा कान फेरि ठाडा भए।

मभन्दा अघिल्लो सिटमा रहेकी सोफीलाई सोधेँ, ‘अमेरिकी सेनासँग कोरियालीको सम्बन्ध कस्तो छ?’

मेरो प्रश्नको जवाफ दिनुको सट्टा उनी त नेपालतिर पो चासो दिन थालिन्। ‘अहिलेसम्म नेपाल जाने अवसर त पाएको छैन, तर यहाँ सोलमै मैले नेपालबारे एउटा कक्षा लिएको थिएँ’, त्यो सायद नेपालको पर्यटनबारे नै रहेछ, र उनले थपिन्, ‘हिमालय भएको शान्त ठाउँ हो, तिमिहरूको देश।’

 

 

मेरो प्रश्नको जवाफ सजिलो बनाउन उनले यति भूमिका बाँधेकी रहिछिन्। ‘नेपाल जस्तो शान्त ठाउँका मानिसलाई यो अलि अचम्म लाग्न सक्छ’, उनले भनिन्, ‘तर कोरियाको इतिहास फरक छ, अमेरिकी सेनासँग हाम्रो सम्बन्ध निकै लामो छ।’

दोस्रो विश्व युद्धको अन्त्यसँगै करिब ३५ वर्ष लामो जापानी शासनबाट मुक्त भएको खुसीमा रमाउन नभ्याउँदै कोरियालीले फेरि युद्धमा धकेलिनु पर्यो, त्यो पनि आफै–आफैबीच। कोरियाली युद्धमा अमेरिका दक्षिणको पक्षमा लड्यो भने चीन र सोभियत संघले उत्तरलाई काँध दिए। १९५३ मा युद्ध रोकिएपछि १९५७ मा कोरियामा युनाइटेड स्टेट्स फोर्स नाम दिएर अमेरिकी सेनाको स्थायी क्याम्प खडा गरियो, जसमा जमिन, वायु र नौसेना उत्तर कोरियासँग कुनै पनि बेला युद्ध गर्न तयारी अवस्थामा छन्।

बसमा प्योङचाङतर्फ अगाडि बढ्ने क्रममा बीचको नगर गंगन्यवाङ आइपुगेका हामीलाई मेयरले दिउँसोको खानाको व्यवस्था गर्दैछन्। गाडी होटलतिर मोडिँदै गर्दा अगाडि एक हुल केटीहरू लाइनमा हिँडेका देखिए।

‘यी उत्तर कोरियाली महिला हकी खेलाडी हुन्, अर्को वर्ष प्योङचाङ शीतकालीन ओलम्पिकको टेस्ट म्याच खेल्न यहाँ आएका’, हामीलाई होटलतर्फ डोर्याउँदै सोफीले छोटो परिचय दिँदै गर्दा मैले बसबाटै मोबाइलमा उनीहरूको फोटो लिन भ्याएँ।

२० जना खेलाडी र १० जना कोच सहितको उत्तर कोरियाली टोली केही दिनअघि बेइजिङ हुँदै दक्षिण कोरिया आएको रहेछ। कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गर्दा उत्तर र दक्षिण कोरियाले भर्खरै सुरू गरेको खेल कुटनीतिको यो दोस्रो शृंखला थियो। केही साताअघि दक्षिण र उत्तरको महिला फुटबल टोलीबीच प्योङयाङमा एउटा दुर्लभ फुटबल खेल आयोजना गरियो, जुन भावनात्मक सम्बन्ध फेरि जोड्ने प्रयास थियो।

गंगन्यवाङमा उत्तर कोरियाली महिला टिम अष्ट्रेलियाको टिमसँग आइस हकी खेलमा पराजित भएको खबर यात्राकै क्रममा सुनियो। जसरी दक्षिणका खेलाडीले उत्तरको राजधानी प्योङयाङमा सम्मान पाए, दक्षिण कोरियाली दर्शकले हकी खेलभरि उत्तरको टिमलाई साथ दिएर, ‘गो कोरिया, वी आर वन’ भन्दै कोरिया एकताको झण्डा फहराए।

 

 

गंगन्यवाङ नगरका मेयर मेयोङ हे चोइसँग दिउँसोको खानापछि अर्को एक घण्टा बस यात्रा गरी साँझ हामी ओलम्पिकका लागि सिंगारिँदै गरेको प्योङचाङ उत्रियौँ। दक्षिण कोरियाका आठमध्ये एक गंगवन प्रान्तका गभर्नर चोइ मुन सुन प्योङचाङमा अर्को वर्ष हुने ओलम्पिकको तयारीबारे ब्रिफिङ दिन डिनर रूममा हाम्रो अगाडि बडो उत्साहका साथ देखापरे।

‘प्योङचाङ, नो प्योङयाङ’, नाममा नअलमलिन भन्दै उनले उत्तर कोरियाको राजधानी प्योङयाङ र दक्षिण कोरियाको प्योङचाङ नगर छुट्टाछुट्टै हो भनेर अथ्र्याउन धेरै मेहनत गरे, ‘प्योङ भनेको शान्ति, चाङ भनेको समृद्धि अर्थात् प्योङचाङको अर्थ शान्त र समृद्ध नगर।’ गजबको नाम!

प्योङयाङ र प्योङचाङमा फरक देखाउन उनले दुई वर्षअघिको एउटा वास्तविक घटना नै सुनाए- ‘राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन प्योङचाङ आउनुपर्ने एक जना नाइजेरियन नागरिकले झुक्किएर जहाजको गलत टिकट लिँदा बेइजिङबाट उत्तर कोरियाको राजधानी प्योङयाङ पुगे। त्यहाँ बिना भिसा प्रवेश गरेको भनेर उनले पाँच घण्टासम्म अध्यागमनका अधिकारीहरूको प्रश्न सामना गर्नु पर्यो र फिर्ता आउन फेरि पाँच सय डलर तिरेर जहाजको अर्को टिकट काट्नु पर्यो।’

कोरियाको मुनह्वा ब्रोडकास्टिङ कर्पोरेसनमा दुई दशक खोज पत्रकारका रूपमा काम गरेको अनुभवपछि तीन वर्षअघि चोइ दोस्रो पटक गभर्नर निर्वाचित भएका रहेछन्। एसियामा सिंगापुर र जापानपछि कोरियाको प्योङचाङमा तेस्रो शीतकालीन ओलम्पिक आयोजना गर्ने अवसरको नेतृत्व गर्न पाउँदा यी ख्याउटे गभर्नरको मुहारमा खुसी सलबलाएको छ।

 

 

‘म पहिले पत्रकार थिएँ, २० वर्षभन्दा बढी रिपोर्टिङ गरेँ, अहिले यो प्रान्तको गभर्नर छु,’ आफूलाई चिनाउँदै चोइले थपे, ‘यहाँबाट अलि पर उत्तर कोरियाको सीमा क्षेत्रमा डिएमजेड छ, भन्न चाहिँ त्यसलाई गैरसैनिक इलाका भनिन्छ तर त्यो अहिले विश्वकै एउटा तनावपूर्ण सैन्य क्षेत्र हो।’

एउटा देश छुट्टिएर दुई वटा बन्दा के हुन्छ? देशको नामको अगाडि उत्तर र दक्षिण मात्र थपिँदैन, त्यहाँ वसन्त पनि शीतकाल जस्तो बन्छ, युद्ध र विभाजनका डोबहरू जताततै देखिन थाल्छन्। दक्षिण र उत्तर कोरियाका धेरै नगर र प्रान्तले आफ्नो केही भाग गुमाएका छन् र ठाउँहरूको नामको उच्चारण समान हुनाले मानिसले हण्डर पाएका धेरै कथाहरू छन्। गंगवन प्रान्तको नाम नै उत्तर कोरियाको कंगवनसँग मिल्छ। पहिले गंगवन एउटै प्रान्त थियो, १९४५ मा कोरियाको विभाजनसँगै केही भाग उत्तरतिर पर्यो र एउटा प्रान्त छुट्टिएर गंगवन र कंगवन बन्यो। 
000

प्योङचाङको नाम कण्ठस्थ गरेपछि हामी दक्षिण कोरियाको ‘सिलिकन भ्याली’ अर्थात् सामसुङ कम्पनीको मुख्यालय रहेको गेओङ्गी प्रान्तको राजधानी सुवन जाँदैछौँ।

‘आज हामी प्योङचाङबाट पश्चिम फर्केर दुई सय ५० किलोमिटर यात्रा गरी सुवन पुग्दैछौँ’, बस गुड्नासाथ सोफीले माइक समाउँदै आफ्नो काम थालिन्। सुवन कोरियाका जोसेन राजवंशका अन्तिम राजाको दरबार रहेको नगर हो। उनको मृत्युसँगै सन् १९१० बाट कोरियामा जापानी शासन सुरू भयो र त्यो दोस्रो विश्व युद्धसम्म जारी रह्यो।

जोसेन राजा आफ्ना नागरिकलाई युद्धमा होमेर राज्य विस्तार गर्ने महत्वाकांक्षी शासक थिएनन्। ‘उनी अध्ययनशील थिए र आफ्नो संस्कृति तथा आर्थिक विकासमा चासो राख्थे, त्यसैले अहिले पनि धेरै कोरियाली जोसेन राजालाई सम्झिन्छन्,’ सोफीले अन्तिम कोरियाली राजाको छोटो कथा सुनाइन्।

अन्तर्राष्ट्रिय ब्राण्ड भएर मात्र होइन, सायद हामीमध्ये धेरैले बोकेको स्मार्ट फोन सामसुङको कारखाना हेर्ने इच्छा धेरैले साँचेका थियौँ। बसको पछाडिबाट कसैले सोधिहाल्यो– ‘सोफी, हामी सामसुङको कारखाना जाँदैछौँ?’

‘सामसुङको कारखाना जाने कार्यक्रम छैन’, सोफीले स्पष्टिकरण दिएको शैलीमा भनिन्, ‘सामसुङले अहिले अन्य देशहरूमा पनि कारखाना खोलेको छ, र मलाई लाग्छ तपाईंहरूले प्रयोग गर्ने सामसुङको सेट सुवनमा बनेको होइन।’

नेपालका सडकमा धेरै गुड्ने कोरियन कार हुण्डाइ र कियाको मुख्य काराखाना सुवनमै छ। अहिले एउटै कम्पनीअन्तर्गत रहेका हुण्डाइ र किया उत्पादनमा होइन, डिजाइनमा मात्र प्रतिस्पर्धा गर्दैछन्। सोफीले अब कारको ब्यापार बताउन थालिन, ‘कोरियामा प्रयोग हुने ८० प्रतिशत कार हुण्डाइ र कियाका उत्पादन हुन्, केही चाहिँ जापानी ब्राण्ड पनि प्रयोग गर्छन् तर अघिल्लो वर्ष जापान जाँदा मैले त्यहाँ कोरियन कार चलाएको खासै देखिनँ।’

 

 

कोरिया विभाजन हुँदा उत्तरमा झण्डै ५५ र दक्षिणतिर ४५ प्रतिशत भूभाग पर्यो। युद्धपछिका केही वर्षसम्म दक्षिण भन्दा उत्तर कोरिया सैन्य रूपमा बलियो र आर्थिक रूपमा पनि सम्पन्न थियो। कोरियाका मुख्य औद्योगिक क्षेत्र र प्राकृतिक स्रोत उत्तरतिर परेपछि देशलाई आर्थिक रूपमा सबल बनाउन दक्षिण कोरियालीले कडा मेहनत गरे। राजदरबारभित्र हामीलाई गाइड गर्ने करिब ७० वर्षका एक जना वृद्धले ती दिन यसरी सम्झिए, ‘युद्धपछिका दिनहरू निकै कठिन थिए, हामीले कति दिन आधा पेट मात्र खाएर १२–१५ घण्टासम्म कृषिको काम गर्यौँ।’

युद्धपछिको दक्षिण कोरियामा आर्थिक सुधारको जग बसाल्ने काम भने सैनिक शासक पार्क चुङ हेले गरेका थिए भनेर कोरियालीहरू सम्झिन्छन्। पार्क कोरियाली सेनाको जनरल थिए, जसले सैन्य कु मार्फत् १९६१ मा सत्ता कब्जा गरे र १८ वर्षसम्म निरन्तर शासन चलाए। निर्यात उन्मुख औद्योगिकीकरण गरी दक्षिण कोरियालाई आर्थिक विकासको मार्गमा हिंडाएको श्रेय पार्कलाई नै दिइन्छ। बौद्धमार्गी पार्कको १९७९ मा हत्या भयो, त्यसयता कोरियामा उनको शासानकाल सधैँ विवाद र चर्चामा रहिआएको छ।

तिनै सैनिक शासक पार्ककी छोरी पार्क गेन हे पछि दक्षिण कोरियाको राजनीतिमा उदाइन् र २०१२ मा पहिलो महिला राष्ट्रपति बन्न सफल भइन्। तर चार महिनाअघि महाअभियोग लागेर नाटकीय रूपमा पतन भएपछि अहिले उनी जेलमा छिन्। देश यस्तो संक्रमणबाट गुज्रिरहेको बेला दक्षिण कोरियामा राष्ट्रपति छैन। र यो देश अहिले पनि राम्रैसँग चलिरहेको छ। अझ् भनौँ, कोरियाले अब राजनीतिक अस्थिरताका बाबजुद् आफै चल्न सक्ने प्रणाली विकास गरिसकेको छ। 

जनसंख्यामा दक्षिण कोरियाको सबभन्दा ठूलो प्रान्त गेओङ्गी र यसको राजधानी सुवन १९५० को कोरियाली युद्धको एउटा ब्याटल ग्राउण्ड रहेछ। सुवनलाई आधार बनाएर अमेरिकी वायु सेना उत्तर कोरियासँग लडेको थियो। कहिले उत्तर कोरियाली सेना त कहिले अमेरिकी सेनाले कब्जा गर्ने क्रममा अन्ततः यो भूभाग दक्षिणतिर पर्यो।

‘देश विभाजन हुँदा हाम्रो प्रान्त पनि छुट्टियो तर हामी अब कोरियाली प्रायद्वीपमा शान्ति चाहन्छौँ,’ सुवनका मेयर योम ताय युङले लन्चमा यस्तो अपेक्षा राख्दै हामीलाई बिदा गरे, ‘त्यसमा तपाईं पत्रकारहरूको पनि सहयोग चाहिन्छ।’
000

 

 

सुवनबाट हामीलाई उच्च गतिको कोरियन रेल–केटिएक्स चढाइयो। रेल के भन्नु, हामी बसेको कक्ष हवाइजहाजको बिजनेस कक्षभन्दा कम लाग्दैन। लिकमा सुलुलु चिप्लेर कफी सुरूप्प गर्दै बाहिरको जनजीवन हेर्नमा हामी सबै मस्त भयौँ।

संयोगले रेलको सिटमा राइजिङ नेपालका कार्यकारी सम्पादक अरूण रञ्जित सँगै परे। पत्रकारितामा जुग बिताएका अरूणसँग सोलको कन्फरेन्समा चिनजान भयो र रेलमा बल्ल कुराकानी गर्ने मेसो मिल्यो। दक्षिण कोरियालाई पानी पँधेरो बनाएका अरूणका अगाडि म अनभिज्ञ जस्तो भएँ।

नेपाली–नेपालीबीच जुन देशमा भेट भएपनि कुरा आफ्नै देशबाट सुरू हुन्छ। ‘उहिले हामीले चामल निर्यात गर्ने देश हो दक्षिण कोरिया, अहिले यहाँ आइपुग्यो’, उनी कोरिया र नेपालको तुलना गर्न थाले, ‘कोरिया विभाजनपछि दक्षिण कोरियालाई खाद्यान्न संकट पर्यो, त्यसबेला विभिन्न देशले सहयोग गर्ने क्रममा नेपालले चामल पठाएर सहयोग गरेको रेकर्ड छ।’

कुरा गर्दै जाँदा अरूणले कोरियामा रहेको अमेरिकी फौजमा नेपाली पनि रहेको प्रसंग ल्याए। ‘अमेरिकी सेनामा अमेरिकी नेपाली प्रशस्तै छन्, जो विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पमा जाने क्रममा दक्षिण कोरियामा पनि छन्’, उनले कोरियामा नेपाली मूलका अमेरिकी सेनाको आकर्षणको कारण खोल्दै भने, ‘अफगानिस्तानजस्ता जोखिमपूर्ण देशमा जानुभन्दा कोरिया आउनु सुरक्षित मान्छन्, यहाँ युद्ध लड्नु पर्दैन।’

तर कोरियाली प्रायद्वीप त्यस्तो सुरक्षित रहिरहला? डोनाल्ड ट्रम्प र किम जोङ उन कुनै पनि बेला बमको स्वीच दबाउन अग्रसर छन्, जसले परमाणु युद्ध नै निम्त्याउन सक्ने जोखिम बढ्दैछ। दुवै कोरियाका नागरिकको चाहना हेर्ने हो भने त खेल कुटनीतिले ल्याएको सौहार्दतालाई विस्तार गर्दै शान्तिपूर्ण एकतातर्फ पो अगाडि बढ्नु पर्ने हो, जसले देशसँगै विभाजित भएका दशौँ हजार परिवारलाई जोड्न सक्छ। 

‘उत्तर र दक्षिण एक भए भने कोरिया यो क्षेत्रकै ठूलो शक्ति बन्छ, जुन कुरा सम्भवतः अमेरिका, जापान र चीन पनि चाहँदैनन्’, अरूणले आफ्नो अनुमान लगाए, ‘त्यसैले अहिले एकता सम्भव देखिँदैन।’

प्रतिघण्टा तीन सय ५ किलोमिटर गतिको रेलमा साढे दुई घण्टा दौडेपछि हामी हङकङ जस्तै लाग्ने दक्षिण पूर्वी नगर बुशानमा ओर्लियौँ। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गरिराख्ने बुशान पूर्वी एसियाको ‘सिनेमा घर’ को रूपमा चिनिन्छ। कोरियाको यो दोस्रो ठूलो नगर बौद्ध संस्कृतिमा त्यत्तिकै धनी मानिन्छ। बिहानको खानाको क्रममा हामीलाई बताइयो, कोरियाको ४० प्रतिशत अन्तर्राष्ट्रिय कार्गो कारोबार बुशानबाटै हुन्छ।

 

 

बुशानमा हाम्रो पहिलो गन्तव्य थियो, कोरियाली युद्धमा दक्षिण कोरियाको पक्षमा लड्ने क्रममा मारिएका अमेरिका र अन्य देशका सेनाको सम्झनामा बनाइएको संयुक्त राष्ट्रसंघीय समाधिस्थल। होटलबाट हाम्रो बस एकै छिनमा त्यही समाधिस्थलको गेटमा रोकियो, प्लास्टिक ओढेर झरी छल्दै हामी समाधि पार्कभित्र छिर्यौँ।

युद्धमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा लडेर ज्यान गुमाएका अमेरिकासहित १४ देशका दुई हजार तीन सय सैनिकको समाधिस्थललाई कोरिया सरकारले सांस्कृतिक सम्पदास्थलको रूपमा विकास गरेको छ, जसलाई महासचिव हुँदा बान कि मुनले विश्वमा राष्ट्रसंघको एक मात्र समाधिस्थलको रूपमा चित्रित गरेका थिए।

स्मारक हलमा कोरियाली युद्ध तथा समाधिस्थल सम्बन्धी वृत्तचित्र हेरेपछि हामी खुड्किला चढ्दै ती सैनिकको चिहान भएतिर अगाडि बढ्यौँ। राष्ट्रसंघको झण्डा रहेको ठाउँमा पुगेपछि हामी लाइनमा उभियौँ। दुई जना कोरियाली सैनिक फुलको बुके लिएर अगाडि बढे, उनीहरूले सैनिक सलामी दिएसँगै मृतक सैनिकप्रति सम्मानको धुन बज्यो। हामीले टाउको निहुरायौँ।

 

 

युद्धमा मारिएका विभिन्न देशका सेनाका लागि छुट्टाछुट्टै चिहान बनाइएको छ। हाम्रो टोलीका केही साथीहरू आफ्नो देशका सैनिकको चिहान खोज्न थाले। मलाई भने हङकङमा रहेको गोर्खा सैनिकको समाधिस्थलको सम्झना आयो, जहाँ पुगेर अस्ति भर्खरै पनि गोर्खा परिवारले आफ्ना पूर्खाप्रति सम्मान दर्शाएका थिए।

‘अमेरिकी पत्रकार कोही हुनुहुन्छ?’

समाधिस्थलमा विदेशी पत्रकारलाई गाइड गरिरहेका एक जना वृद्धले ८० प्रतिशत चिहान अमेरिकी सेनाको रहेको भन्दै हाम्रो टोलीमा रहेकी अमेरिकी पत्रकार लीन वाल्सलाई त्यतातिर जान संकेत गरे। फर्कने क्रममा ती वृद्धले फेरि अमेरिकी, क्यानेडियन र अष्ट्रेलियन दूतावासले आफ्ना सेनाको सम्मानमा छुट्टाछुट्टै खडा गरेका स्तम्भ हुँदै अगाडि बढाए।

समाधिस्थलबाट फर्केर हामी बसमा चढ्यौँ। पानी पर्न रोकिएन। मेरो स्मार्ट फोनमा ट्वीटरले एउटा ब्रेकिङ खबर आएको घण्टी दियो। चीनको ग्लोबल टाइम्सको ट्वीटरबाट आएको त्यो खबर उत्तर कोरियाले जापानी सागरमा भर्खरै रकेट प्रहार गरेकोबारे थियो।

बुशानमा बिहानैदेखि बसमा मसँग सिट सेयर गरेकी हाम्रो टुर व्यवस्थापक हीसुलाई मैले यो ट्वीट देखाएँ।

‘के खबर हो?’, उनले सोधिन्।

‘देखिनौ, उत्तर कोरियाले जापानी सागरमा रकेट हानेछ भर्खरै।’

‘ए, हो?’

हल्का आश्चर्य जनाए पनि कलेज सकेर दुई महिनाअघि मात्र करिअर सुरू गरेकी उनलाई त्यसले खासै छोएन। २६ वर्षकी हीसुले यस्तो सनसनी मच्चाउने खबरलाई महत्व नदिएको देख्दा मलाई लाग्यो– या त कोरियाको युवा पुस्तालाई यस्तो कुराले खासै छुँदैन, वा उनीहरू यसमा अभ्यस्त भइसकेका छन्।

 

 

विश्वभरबाट आएका सञ्चारकर्मीलाई बुशानको पर्यटकीय आकर्षण देखाउन किन चुक्थे पर्यटनमैत्री आयोजक। चार वटा बसका हामी आगन्तुकलाई दुई वटा क्रुजमा राखेर हाउन्दे ग्वांगन पुल देखाउन लगियो। सेल्फी र लाइभ भिडियो लिँदै क्रुजमा समुद्री सयर लगाएर बुशान सिनेमा सेन्टर घुमिवरी हामी मेयर सु ब्यूङग सोसँग साँझको खानामा बस्यौँ। 
000

बुशानबाट फेरि केटिएक्स चढेर ग्वाग्मीएंग नगरमा उत्रिँदा यहाँका मेयर याङ की डीएई रेल स्टेशनमै स्वागत गर्न आइपुगे। बुशान र इन्चन नगरको बीचमा रहेको यो सानो नगरलाई भर्खर आर्थिक सुधारतर्फ अगाडि बढाउँदै छन् पूर्व पत्रकार याङ।

‘आज बिहान उठ्दा म ६० देशका पत्रकार ग्वाग्मीएंग आउँदै हुनुहुन्छ भनेर उत्साहित थिएँ, किनकी यसले मलाई मेरो पुराना दिनतर्फ फर्काउँदै थियो जब म पत्रकार थिएँ’ उनी साँच्ची नै पुराना दिनतिर फर्किए, ‘मैले १४ वर्ष पत्रकार भएर काम गरेँ र दुई पटक कोरियाको पत्रकारिता पुरस्कार पाएँ, अहिले पनि जब म पत्रकार भेट्छु नजिकको साथी भेटेको महशुस हुन्छ।’

रेल स्टेसनकै सम्मेलन कक्षमा समुद्री खानाका परिकारको प्रस्ताव गर्दै याङले साढे तीन लाख मात्र जनसंख्या भएको नगरलाई रेलमार्गले जोड्न सकेको खुसी हामीसँग बाँडे। ‘हामी चीन र रूससहित उत्तर कोरियासँग समेत सम्बन्ध विस्तार गर्दैछौँ’, चिनियाँ शैलीमा उनले त युरेसियन अन्तरमहाद्वीपीय रेलमार्गको योजना पो सुनाए, ‘त्यसका निम्ति मैले दक्षिणबाट उत्तर कोरिया हुँदै चीन र रूस जोड्ने रेलमार्ग प्रस्ताव गरेको छु।’

कोरियाको समुद्रमा तनावको ज्वार उठिरहेको बेला एउटा सानो नगरका मेयर भने अन्तरमहाद्वीपीय रेलमार्गको योजना बुन्दैछन्। त्यसका निम्ति आफूले रूसको हासान, चीनको हुनचुन र डण्डोङ तथा मंगोलियाको उलानबटारसँग प्रारम्भिक सम्झौता गरिसकेको बताउँदै उनले थपे, ‘मेरो स्रोतका अनुसार आफ्नो भूभाग भएर चीन र रूस जोडिने रेलमार्गबाट आर्थिक फाइदा हुने देखेर उत्तर कोरिया पनि यसमा सकारात्मक छ।’
000

 

 

कोरियामा अन्तिम गन्तव्य, ‘सानो चीन’ भनेर चिनिने इन्चनको नगरको चाइना टाउन सरर घुमेर हामी ५:३० बजेतिर होटल छिर्यौँ।

६:३० बजे इन्चनका मेयरले दिने बिदाइ डिनरमा जाने प्रतीक्षामा कोठामा सुस्ताइरहेको थिएँ। ह्वाट्स एपमा एउटा म्यासेज आयो, ‘कृपया १४औँ तलाको रोज हलमा ६ः१० बजे आउनुहोला, त्यहाँ अन्तर्वार्ता हुनेछ।’

कसको अन्तर्वार्ता? अन्तर्वार्ता दिने हो कि लिने?

केही प्रष्ट नभई म लिफ्ट चढेर रोज हलमा पुगेँ, जहाँ दक्षिण कोरियाली पत्रकार संघ तथा एसियाली जर्नलिष्ट एसोसिएसनका पूर्वअध्यक्ष ली साङ कि हाम्रो टोलीका ५–७ जना पत्रकारसँग थिए। म पुगेलगत्तै दुई तीन जना कोरियाली रोज हलमा प्रवेश गरे। तीमध्ये एक रहेछन् उत्तर कोरियाली पत्रकार– किम मायोङ सुङ, जो अहिले दक्षिण कोरियाको चोसुन मिडियामा आवासीय लेखक छन्।

ली साङ किले हामीलाई ती उत्तर कोरियाली पत्रकार किमसँग परिचय गराए। र आफ्नै ठट्यौलो शैलीमा झ्यालबाट देखिएको नदी पारिको भूभाग देखाउँदै भने, ‘उत्तर कोरिया ऊ त्यहीँ पारि हो, अर्को वर्ष हामी जानुपर्छ।’

लीले हामी केहीलाई उनै उत्तर कोरियाली किमसँग भेट्न बोलाएका रहेछन्, जो करिब १५ वर्षअघि चीन हुँदै भागेर दक्षिण कोरिया आएका थिए।

टाई सुटमा सजिएका किम झ्यालबाट देखिएको उत्तर कोरियालाई पछाडि पारेर हामीसँग कुरा गर्न थाले। कोरियाली भाषाबाट अंग्रेजीमा उल्था गर्न अर्की दक्षिण कोरियाली पत्रकारले उनलाई सहयोग गर्दैछिन्। प्रश्न सोध्न तँछाडमछाड गरेको देख्दा हाम्रो टोलीबाट किममाथि प्रश्नको वर्षा होलाजस्तो भयो। हरेक प्रश्न आफ्नो हातको सानो नोटबुकमा टिप्दै किम चाहीँ कुनै हडबड नगरी जवाफ दिइरहेका छन्।

किमलाई पहिलो प्रश्न सोधियो, ‘तपाईं कसरी उत्तरबाट फुत्केर दक्षिण कोरिया आइपुग्नु भयो?’

‘उत्तर कोरियामा म पत्रकार थिएँ र एक दिन चीन घुम्न आएँ’, २००२ को घटना सम्झिँदै किमले भने, ‘चीनको प्रहरीसँग कुरा मिलाएँ, त्यसपछि उनीहरूले नै मलाई सुरक्षित रूपमा दक्षिण कोरिया आउन सहयोग गरे।’

‘तपाईंलाई आफ्नो देशप्रति किन त्यसरी वितृष्णा जाग्यो?’

‘उत्तर कोरियाली सरकारको मुख्य उद्देश्य कम्युनिस्ट शासन बलियो बनाउनु हो’, कम्युनिस्ट सरकारले सपना देखाएको तर त्यो पूरा नहुँदा असन्तुष्टि बढेको निष्कर्ष सुनाउँदै किमले भने, ‘जतिबेला म स्कुलमा थिएँ, मलाई कम्युनिस्ट समाज राम्रो हुन्छ भनेर पढाइयो, तर कलेज पुग्दासम्म पनि मैले वास्तवमा त्यस्तो समाज कतै देखिनँ।’

उत्तर कोरियाली सरकारले जुछे कम्युनिस्ट विचारबाट नागरिकको ‘ब्रेन वास’ गर्न खोज्ने तर आफूलाई त्यो मन नपरेपछि देश छाड्ने निर्णयमा पुगेको उनले खुलेर सुनाए।

‘अमेरिकाबारे उत्तर कोरियाका मानिस के सोच्छन्?’

‘उत्तर कोरियाली प्रायद्वीपप्रति अमेरिकी नीतिबाट प्योङयाङमा सबै आक्रोशित छन्, तर जब म सोल आइपुगेँ त्यसरी आक्रोशित हुनु गलत हो भन्ने लाग्यो।’

‘उत्तर कोरियाका शासक किम जोङ उन कस्तो स्वभावका नेता हुन्?’

‘किम इल सुङ र किम जोङ इल सन्तुलित र रणनीतिक थिए’, किम परिवारको तुलना गर्दै उनले भने, ‘तर अहिलेका किम जोङ उनमा कुनै डर छैन, उनी उत्ताउला र अलि खतरनाक छन्।’

किमलाई अन्तिममा सोधियो, ‘कोरियाली प्रायद्वीपको समस्या कसरी समाधान होला?’

उनको जवाफ ठ्याक्कै त्यस्तै छ, जस्तो हामीले कोरियामा यो एक साता सुन्दै आएका छौँ– ‘दुई कोरियाको शान्तिपूर्ण एकता नै एक मात्र समाधान हो।’

२०७४ बैशाख १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत