यस्तो छ ट्रम्प-किम शिखरवार्ता हुने सिंगापुरको होटल
ग्लोबल

यस्तो छ ट्रम्प-किम शिखरवार्ता हुने सिंगापुरको होटल

जेठ २३-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखरवार्ता सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेला होटलमा हुने तय भएको छ।

ह्वाइट हाउसले यो ऐतिहासिक शिखरवार्ताको स्थान तय भएको बारे जानकारी गराएको हो।

जुन १२ मा हुने सो शिखरवार्तालाई गोर्खा सैनिकले सुरक्षा दिने जनाइएको छ।

सेन्टोसा टापु सिंगापुरका ६३ टापुमध्ये एक हो। ५०० हेक्टर क्षेत्रफल भएको सो टापु मुख्य टापुबाट नजिकै छ। यहाँ लक्जरी रिसोर्ट, क्यासिनो र एसियाकै उत्तम गल्फ कोर्सहरु पनि छन्।

यद्यपि यसको इतिहास भने भयानक छ। १९ औँ शताब्दीमा बेलायती व्यापार केन्द्रका रुपमा सिंगापुर स्थापना भएपछि भारत र चीनबीच व्यापारिक मार्गमा यो स्थान पर्दछ। यद्यपि बेलायती शासनअघि नै यो स्थान व्यापारी र समुद्री डाँकुहरुको अखडा थियो।

दोस्रो विश्वयुद्धमा यहाँ नरसंहार गरिएको थियो। जापानले यसलाई १९४२ मा कब्जा गरेको थियो। त्यसको केही वर्ष जापानले यहाँको चिनियाँ समुदायका हजारौँ व्यक्तिको हत्या गर्‍यो। १८ देखि ५० वर्षबीचका चिनियाँ पुरुषहरुलाई बोलाएर मेसिनगनले भुटिन्थ्यो। उनीहरुको लासलाई समुद्रमा फ्याँकिन्थ्यो।

यस्तै आमहत्या स्थलमध्ये एक थियो सेन्टोसा टापु। यही टापुमा गठबन्धन सेनाका ४ सय सैनिकलाई बन्दी बनाइएको थियो।

१९७० को दशकमा सरकारले यसलाई सेन्टोसा नाम दिएर पर्यटन पूर्वाधारको विकास गर्‍यो, जसको अर्थ हुन्छ, ‘शान्ति।’ त्यसअघिसम्म यसलाई पुलाउ बेलाकाङ माती अर्थात्, ‘मृत्युको टापु’ भन्ने गरिन्थ्यो।

हाल खुलेका युनिभर्सल स्टुडियोको थिम पार्क, वाटर पार्क, क्यासिनो, आदिका कारण हजारौँ पर्यटक यहाँ ओइरिन्छन्।

ट्रम्प किम शिखरवार्ताका लागि यही स्थान किन रोजियो त? किनभने यो मुख्य टापुको नजिकै छ र सुरक्षित छ। यो टापुसम्म पुग्न एउटा केबल कार, एउटा मोनोरेल, एक पुल र एउटा सुरुङमार्ग मात्रै छ, जसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ।
अर्को साताको मंगलबार बिहान ९ बजेबाट ट्रम्प र किमबीचको शिखरवार्ता सुरु हुनेछ।

वार्तास्थल क्यापेला होटल ३० एकडमा फैलिएको छ, जसमा ११२ कोठा छन्। बेलायती आर्किटेक्ट नर्म्यान फोस्टरले डिजाइन गरेको यो होटलमा म्याडोना र लेडी गागा बास बसिसकेका छन्।

होटलको सबैभन्दा सस्तो कोठाको शुल्क प्रतिरात ६६३ डलरबाट सुरु भएर १० हजार डलरसम्म छ।

शिखरवार्ताको समयलाई पूरै होटल बुक गरिएको छ।

२०७५ जेठ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत