साहित्य

पाटेबाघ – जेबी दर्लामी अर्घाखाँची

रिखे झाँक्री फेरि बिरामी भएको खबरले मेरो मन कहालियो । ऊ मेरो कुनै आफन्त थिएन । एउटै गाउँवासी हुनु र एउटै खोलाको पानी पिउनुको नातावाहेक ऊसित मेरो अरु कुनै सम्बन्ध पनि थिएन । तर जब जब ऊ बिरामी भएको थाहा पाउँछु, मेरो मुटुकलेजोले काम गर्न छाडेझैं लाग्छ ।

कस्तो सम्बन्ध आइलाग्यो यस्तो कि म आफ्नो जिन्दगी आफ्नै मर्जीले ज्यून सकिरहेको थिइनँ । म रिखे झाँक्रीमा आफ्नो प्राण अल्झिरहेको देख्थें । हुनपनि हाम्रो सम्बन्ध नै यस्तो थियो ।

बिरामी भइरहन्छ रिखे झाँक्री । अब त ऊ बूढो पनि भएको छ । अचेल जब ऊ बिरामी भएको खबर सुन्छु, यसैपाली ऊ मर्छ क्यार भन्ने भयले मेरो मन कहालिन्छ । आजपनि त्यस्तै कहालियो ।
म उसको घर पुग्दा केही ठिटाहरू उसलाई अस्पताल लैजाने सुरसारमा लागेका थिए । अस्पताल नजिक थिएन । मोटरबाटो पनि थिएन । उसलाई बोकेर लैजानुपर्ने भएको थियो सधैजस्तै । र सधैंजस्तै उसलाई आफ्नो पिठ्यूँमा बोक्न मै अगाडि सरें । नसरुँ पनि कसरी ? कमसेकम मेरो लागि रिखेले बाँच्नुपरेको थियो । ऊ बाँच्नुमा नै मेरो भलाई थियो । त्यो पाजी मेरो कुनै नातेदार थिएन तर ऊ मर्नु मानौं मै मर्नुसरह थियो । तसर्थ ऊ मर्न हुँदैन भन्नुको अर्थ मेरै बाँच्ने लालसा थियो । उसलाई बरु आफ्नै प्राणको त्यति माया थिएन होला जति म उसको माटोको थुप्रो शरीरलाई माया गर्न अभिशप्त बनेको थिएँ ।
जरेखोलाको उकालोमा पुग्दा घाम चर्किसकेको थियो । चैतको तम्तमाइलो दिन । कति दिन ननुहाएको रिखे झाँक्री मेरो पिठ्युँमा लम्पसार थियो । ऊ आफैले भन्छ, वर्षमा एकपटक नुहाउँछ ऊ, बाउको सराद्धेको दिन । आफ्नै घरमुनिबाट बग्ने सिलिङखोला उसलाई सधैं टाढा भयो । हरेक वर्षको माघेसंक्रान्तिका दिन ऊ नौ डाँडा पर शितखोला र झिमरुकखोलाको दोभानमा लाग्ने मेलामा गएर नुहाउँछ । बाध्यताले । नुहाउँछ के भन्नु ? वर्षौेंदेखि जमेको मयलको पाप्रालाई भिजाएर फर्कन्छ । त्योपनि बाउलाई शान्ति मिलोस् भनेर मात्रै । आफ्नो लागि हो भने त त्यति त्याग किन पो गर्दो हो, रिखेले ।

उसको काखी गन्हाएर मर्नु न बाँच्नु भएँ । उकालोमा त्यसै त श्वास बढेर हैरान । उसमाथि उसको काखी । उसमाथि उसको सास फेराइमा फुस्स फुस्स निस्किरहेको जाँडको दूर्गन्ध । अझ उसका पाखुरा र तिघ्रा रगेडिएर निस्केको मयलको लेग्राको च्यापच्याप । म आफैलाई श्रापित सम्झिएँ । कुन दिनमा जन्मिएछु भनेर आफैलाई धिक्कारें ।

जरेखोलाको उकालो काटिसकेपछि बेसारे छेंडाको ओरालोमा झर्दैगर्दा मनमा केके कुरा खेल्न आए । तिनै पुराना कुरा याद गरेर दुःख भुलाउने चेष्टा गरें ।
………….

गर्मी यामको तम्तमाइलो दिन थियो त्यो ।

बैरागी डाँडा वरिपरि गाइबाख्रा चरिरहेका थिए । गोठाला आएका दिदीबहिनीहरूको सुस्केरा, ठट्टा र गीतले बन गुलजार बनेको थियो । त्यही समय बाख्राको बथानमा एउटा पाटेबाघ देखा प¥यो । त्यसले बथानको सबैभन्दा मोटो पाठालाई ङ्याक्क पा¥यो र तलतिर झा¥यो । गोठालाहरूले देखे, त्यो बाघ पाठोलाई बोकेर त्यहीं नजिकैको कात्तिके गूफाभित्र प्रवेश ग¥यो ।
गोठालाहरू डरले थर्थर भए । त्यो कुनै चानचुने बाघ थिएन । त्यो अघिअघि देखा परिरहने बाख्रे चितुवा पनि थिएन । त्यो त पाटेबाघ थियो । त्यसलाई दरी बाघ पनि भन्थे मानिसहरू । ऊबेलामा लाहुरबाट आउनेहरूले बोक्ने दरीको रङजस्तै पाटैपाटा देखिने बाघ थियो त्यो ।

गोठाला आएकामध्येबाट एउटा कलिलो केटो हुर्रिँदै ओरालो झ¥यो । ऊ केहीबेरमै गाउँमा आइपुग्यो र भेटेजति सबैलाई त्यो बाघको बारेमा बतायो । अर्को केहीबेरमै भरुवा बन्दुक भिरेका शिकारीहरूको एक हुल त्यो गोठाले केटाको पछि लागेर बैरागी डाँडाको उकालो चढिरहेको थियो ।

तल एउटा खोला थियो । त्यसको नाम थियो सिलिङखोला । बर्खामा त्यसले राप्ती नदीलाई पनि धकेल्थ्यो, हिउँदमा भने त्यसमा कमिलाहरू वारपार गर्थे । त्यो खोलाको किनारहरूमा ससाना टोलहरूले बनेको गाउँ थियो । गाउँका मानिसहरू कृषि र पशुपालनमा जिन्दगी गुजारिरहेका थिए । कति पुस्तादेखि उनीहरू त्यही काममा व्यस्त थिए । तर जतिसुकै व्यस्तताले पनि उनीहरूलाई सुख भने दिएको थिएन । सुखको खोजीमा गाउँका युवाहरू इण्डिया र खाडीमा गएर रगत पसिना सुकाउनुपर्ने वर्षौंदेखि चल्दै आएको परम्परा बनेको थियो ।

अझ अर्को आतंकको कुरा त त्यो बाघ देखिने समयमा छिमेकी गाउँमा कलिला नानीहरू आश्चर्यजनक तरिकाले हराउँथे । कसैको लास भेटिन्थ्यो, आधा शरिर मात्रको । कसैको त कुनै अत्तोपत्तो लाग्दैनथ्यो ।

गाउँमा भएका लोग्नेमानिसहरू फुर्सदमा तास खेल्थे । जाल बोकेर माछा मार्न राप्तीसम्म पुग्थे । कहिलेकाहीं बन्दुक बोकेर शिकार खेल्न बनमा पनि जान्थे । बितेको छ वर्ष यता हरेक वर्ष गाउँमा त्रासको कालो बादल छाउन लागेको थियो । त्रासको कारण थियो, बनमा पाटेबाघ देखा पथ्र्यो । त्यो देखा पर्ने समय अत्यन्तै कम हुन्थ्यो । कहिलेकाहीं त एकपटकभन्दा बढी कतै देखा नै पर्दैनथ्यो । तर जब त्यो देखा पथ्र्यो त्यसले मान्छेले देउतालाई भाकल गरेर जतनसाथ पालिराखेको पाठालाई रोजेर खाइदिन्थ्यो । हरेक वर्ष यस्तो हुन्थ्यो । बाघ पसेको खबरसँगै गाउँमा हरेक वर्ष डरको छाया पस्थ्यो । शिकारीहरूले केही दिन त्यसको खोजी पनि गर्थे तर उनीहरूको कोशिस आजसम्म व्यर्थ भएको थियो । त्यो बाघ कहिल्यै शिकारीको फेला पर्न सकेको थिएन ।

आजपनि त्यो पाटेबाघले रेश्मी साइँलाले कुलपूजाका लागि पालिराखेको पाठो बोकेर हिँडेको थियो । तर आज भने त्यो बाघको दिन अन्तिम रहेछ सायद । गोठालाहरूले उसलाई नजिकैको गुफामा पसेको देखेका थिए । शिकारीहरू पनि विश्वस्त थिए, आज त्यो बाघले उम्कन पाउने छैन । आज छ नाल भरुवा बन्दुकबाट छुटेका गोलीले त्यसको मुटुकलेजो छियाछिया बनाइदिने निश्चित थियो ।

कात्तिके गुफा आइपुग्यो । त्यो ओढारमा यसअघि पनि शिकारीहरूले थुप्रैपटक दुम्सी र भालु मारेका थिए । त्यस गुफा अर्थात् ओढारको मुख सानो थियो तर भित्रपट्टि भने फराकिलो ठाउँ थियो । भित्र पसेर शिर नझुकाइ मज्जाले हिँड्न सकिन्थ्यो । त्यो ओढार गाउँका शिकारीहरूका लागि परिचित ठाउँ थियो । जुनसुकै बेला त्यहाँ पस्ने कसैको हिम्मत नभएपनि कुनैबेला दुम्सी या भालु पसेको मौकामा त्यसको शिकार गर्दै शिकारीहरू त्यस ओढारभित्र पस्थे र जँगली जनावरभन्दा आफूहरू बलवान भएको प्रमाण दिन्थे ।
त्यही ओढारमा आजको पाटेबाघ पसेको थियो र गोठालाहरू नजिकै बसेर कुरिरहेका थिए । आजसम्म यो ओढारमा पसेको कुनै पनि जनावर सिलिङखोले शिकारीहरूको निशानाबाट बाँचेर उम्केको इतिहास छैन ।

शिकारीहरूले ओढारको मुखमा सुकेका पत्कर जम्मा गरे । बढीभन्दा बढी धुँवा निस्कोस् भन्ने हेतुले थाकलका हरिया पातहरू पनि मिसाएर पत्करमा आगो सल्काइदिए । क्षणभरमै ओढारमा धुँवाको साम्राज्य फैलिहाल्यो । गोठालाहरूले आत्तिँदै गाइबाख्रा धपाउँदै गाउँतिरको बाटो सोझ्याए ।
शिकारीहरूले ओढारको दायाँबायाँ बसेर आआफ्ना बन्दुकका घोडा उचालेर राखे । उनीहरूका चोरऔंला ट्रिगर थिच्नका लागि ठिक्क परेका थिए । धुँवा त्यो गुफाभित्र नअटाएर बाहिर निस्कन लागेको थियो र नाकै पिरो बनाउने त्यो धुँवा आकाशतिर मुस्लो बनेर उडिरहेको थियो । अब त्यहाँभित्र गएको बाघ कुनै हालतमा बाँच्न सक्ने थिएन । ऊ उस्तै परे धुँवाले निसास्सिएर भित्रै मर्नेवाला थियो । कथंकदाचित् त्यहाँबाट बाहिर निस्कन लाज मानेन भने पनि तीनतिरबाट ओढारको मुखमा तेर्सिएका बन्दुकहरूबाट छलिन उसको कुनै ह्याउ थिएन ।
तर अचानक ओढारभित्रबाट मान्छेको आवाज आयो । कुनै लोग्नेमानिस आत्तिंदै चिच्याएको आवाज ओढारका भित्ताहरूमा ठोक्किंदै बाहिरसम्मै आइपुग्यो । उसको भाषा पनि सबैले बुझे ।

ऊ भनिरहेथ्यो,
‘बचाऊ बचाऊ । मलाई नमार ।’

यस्तो सुनेर शिकारीहरू हच्किए । सबैले उचालिएका बन्दुकका घोडा छुसीमा बसाले अनि हतारिँदै ओढारको मुखमा जलिरहेको पत्करलाई पन्छाए ।
त्यहीबीच ओढारभित्रबाट एउटा मान्छे नाङ्गै अवस्थामा आत्तिँदै बाहिर आयो । त्यो मानिस ओढारबाट बाहिर निस्कनेबित्तिकै घुँडामा हत्केला टेकेर झुक्यो र ठूल्ठूलो स्वरमा श्वास फेर्न थाल्यो । उसको श्वास फेराईमा सानोतिनो चित्कार पनि मिसिएको थियो र ऊ कुनै दमको बिरामीझैं स्याँस्याँ गर्दै तलमाथि हल्लिरहेको थियो । केहीक्षण त्यसरी श्वास फेरिसकेपछि त्यो मानिस बेहोश भएर गर्लम्म त्यहीं ढल्यो ।

शिकारीहरू उसको नजिकै गए । जब उनीहरूले त्यो बेहोश बनेको मानिसको अनुहार देखे तब उनीहरू छक्कै परे । त्यो मानिस गाउँकै चिनारु थियो । रिखीराम रास्कोटी थियो उसको नाम । भूइँफुट्टा धामी थियो । केही समयदेखि ऊ बेलामौकामा काम्न लागेको थियो । गाउँलेहरू उसकहाँ अक्षता लिएर हेराउन पनि जाने गरेका थिए । उसले धेरै कुरा पु¥याउँछ भन्ने विश्वास पनि गाउँमा फैलिएको थियो । बिरामीहरूलाई निको पार्छ पनि भन्थे कोही । हुन पनि हो कि जस्तै गरेर केही टाढा गाउँका मान्छेहरू पनि ऊकहाँ फुकफाकका लागि आउने गरेका थिए । रिखीराम केही वर्षअघि गाउँबाट अचानक हराएको थियो । सङ्कटकाल थियो देशमा । गाउँलेहरूले ऊ सायद बूढेशकालमा पनि विद्रोही पार्टीमा सामेल भएछ कि भन्ने ठानेका थिए । कतिपयले दुईतिरको बन्दुकको चपेटामा परेर मारियो होला भन्ने शङ्का पनि गरेका थिए । तर गाउँबाट हराएको तीन महिनापछि ऊ पुनः गाउँ फर्केको थियो । घर फर्केको थियो । त्यो पनि सकुशल नै । उसको पुनरागमन गाउँलेहरूका लागि पनि हर्षको खबर बनेको थियो ।

जब ऊ घर फर्कियो उसले झाँक्री विद्या सिकिसकेको थियो भन्छन् गाउँलेहरू । उसैले गाउँमा बडो गर्वका साथ सुनाएको थियो,
‘मेरा देउताहरूले मलाई बनमा लगेर सम्पूर्ण विद्या सिकाए । तीन महिनासम्म मैले अन्नको एक दाना पनि मुखमा हालिनँ न त पानी नै पिएँ । देउताहरूले नै मलाई शक्ति दिएर बचाइ राखे ।’
उसको कुरा गफैजस्तो पनि लागेको थियो तर नपत्याइ पनि सुख थिएन । त्यसअघि कहिल्यै नगर्ने अचम्मका हर्कत उसले गर्न लाग्यो । मुख्य त ऊ मर्नेगरि काम्न लाग्यो । कतिपय कुरा भविष्यवाणी पनि गर्न लाग्यो । उसको घरमा अक्षता बोकेर आउने मानिसहरूको भीड देखेपछि मनको अन्तरकुन्तरमा रहेको शङ्का पनि धूलिसात बन्यो । सबैले जस्तै मैले पनि उसको कुरा पत्याएँ ।

त्यस यता ऊ हरेक वर्ष गाउँबाट हराउँथ्यो र करिब महिना दिनपछि फर्केर आउँथ्यो । अब त ऊ हराएको कुरामा गाउँलेहरूको खासै चासो हुन पनि छाड्यो । पहिलापहिला भने हामीले खुब सोध्थ्यौं उसलाई । कहाँ जान्छस् भनी केरकार गथ्र्यौं । उसले जवाफमा तन्त्रमन्त्रमा अझै सिपालु हुनका लागि गुप्तवासमा जाने गरेको छु भन्थ्यो । उसको सम्पूर्ण अस्तित्वमाथि नै विश्वास राख्ने हामीले उसका हरेक कुरामा विश्वास नगरेर पनि त हुँदैनथ्यो । अब त ऊ कहिले हराउँछ र कहिले देखा पर्छ भन्ने पनि गाउँलेको चासोभित्र पर्न छाडेको थियो ।
तर अचम्मको संयोग कस्तो हुन थाल्यो भने उसले घर गाउँ छाडेर हिँडेको केही दिनभित्रै गाउँको पेरिफेरिमा रहेको बनमा अचम्मको पाटेबाघ देखा पथ्र्यो । सबैले त्यो बाघलाई मान्छे खाने बाघ पनि भन्थे । त्यसले छिमेकी गाउँमा हरेक वर्ष एकदुईजना मान्छे खान्थ्यो पनि । तर सिलिङखोलामा भने भाकल गरिएका पाठाहरू मात्रै उसको शिकार बन्ने गरेका थिए ।

शिकारीहरूले रिखे झाँक्रीलाई उठाए । केही वर्षदेखि उसको नयाँ नाम यही बनेको थियो । पहिले ऊ रिखीराम पुलामी थिया । अहिले सबैले उसलाई रिखे झाँक्री भन्छन् । झाँक्रीको ठाउँमा कसैले धामी पनि भन्छन् । जेनतेन उसको लाज ढाकिदिए र पालैपालो बोकेर उसको घरमा ल्याए ।

रिखे झाँक्री आफ्नो घरको आँगनमा निस्लाम भइ ढलिरहेको थियो । उसको अनुहारमा धुँवाको कालो मोसो लागेको थियो । उसको छाती छिटछिटो तलमाथि गरिरहेको थियो । केहीबेरपछि उसले घाँटीमा केही अड्केजस्तो ख्याकख्याक ग¥यो । अनि बिस्तारै उठेर खुट्टा लम्पसार बनाइ बस्यो । राम्ररी नखुलेका आँखाले चारैतिर हे¥यो र लजाएजस्तो अनुहार बनाएर सुस्तरी भन्यो,
‘झन्नैले मारेनौ मलाई जाँठाहरू ।’
उसको यस्तो कुरा सुनेर सबै शिकारी एक मुख भएर बनै थर्कनेगरी हाँसे ।

त्यही समय रिखे झाँक्री बल गरेर उभियो । उसलाई दुईजनाले आड दिएर उभ्याए । लल्याकलुलुक बनेको उसको शरिरमा अचानक कताबाट बल प्रवेश ग¥यो । उसले बटारिँदै जिऊ तन्कायो र आफूलाई समातिराखेकाहरूलाई एकै झट्कामा पर हुत्यायो । त्यसपछि ऊ जोडसित काम्न थाल्यो । काम्दै नबुझिने भाषामा केके बक्न थाल्यो । उसको लाज ढाकिदिन कसैले गम्छा बेरिदिएको थियो उसको कम्मरमा । काम्दाकाम्दै उसले त्यो गम्छालाई निकालेर फाल्यो । उसको सर्वाङ्ग नग्न अवस्था हेर्न नसकेर शिकारीहरूले मुन्टो बटारे । रिखे झाँक्री नाङ्गैभुतुङ्गै थियो । हात बाँधेर कामिरहेको । त्यसरी काम्दा उसको जननेन्द्रिय मन्दिरको घण्टीझैं हल्लिरहेको थियो ।
अचानक सबैले देख्दादेख्दै ऊ त बाघ बन्यो । त्यही पाटेबाघ । गुफामा पसेको त्यही दरीबाघ । त्यसले शिकारीहरूतिर हेर्दै यामानको मुख च्यात्यो र माघे झरी बर्साउने आकाशझैं बेस्सरी गर्जियो ।

शिकारीहरू हाराबारा भए । आआफ्ना बन्दुक सोझ्याउने त के समात्ने मौका पनि पाएनन् तिनले । कोही आ–आफ्ना घरतिर दौडिए । कोही खोलातिर हाम फाले । कोही बारीका रुखमा चढेर आफूलाई सुरक्षित रहेको आभास गराए । ती शिकारीमध्ये मपनि एक थिएँ ।
मैले पनि आफ्नो बन्दुक समात्ने होश पाइनँ । शिकारी एकातिर बन्दुक अर्कोतिर । आफूभन्दा जम्माजम्मी दुई पाइलाको दुरीमा मान्छे खाने बाघ देखेपछि कसको होश ठेगानमा रहन्छ होला र ? मपनि बेहोशी अवस्थामा कता कता दौडिएँ । कहाँ पुगें, आफैले भेउ पाउन सकिनँ । जब अलिकति होश फर्कियो म एउटा विशाल फौजमा सामेल थिएँ । म राजा भानसिंहको एक सिपाही थिएँ । उनका असङ्ख्य अङ्गरक्षकमध्ये मपनि एउटा थिएँ । म उनको फौजको सेनापति थिएँ ।

सिपाहीहरूका सबैका हातमा हतियार थियो । अहिलेको जस्तो बन्दुक हैन, बाँस र फलामका हतियार । मेरो काँधमा पनि छिप्पेको लिबाँसबाट बनेको धनु थियो । त्यो धनुबाट शत्रुको छातीमा रोपिन तयार थुप्रै बाणहरू थिए । बाणहरू राख्ने ठोक्रो मेरो पिठ्युँमा थियो ।
राजा भानसिंह र उनको परिवारलाई प्रचण्ड गर्मी र अनेक प्रकारका शत्रुको खतराबाट बचाउँदै अनगन्ति खोला ता¥यौं र एउटा अग्लो डाँडामा पु¥यायौं । असाध्य गर्मी र त्यसले निम्त्याउने विभिन्न रोगब्याधीको जोखिमबाट छुट्कारा खोज्दै हामीले पहाडतिरको यात्रा रोजेका थियौं ।
सानो खोला तरिसकेपछि एउटा चिसो पहाडलाई हामीले आफ्नो र आफ्ना सन्तानको आश्रयस्थलको रुपमा अँगाल्यौं । त्यो पहाड बडो शान्त र शीतल थियो । राजा भानसिंहको धनुबाट छुटेको बाणले त्यो पहाडमा पानीको मूल फुटायो । त्यही पानीको धारालाई हेरेर हामीले आफ्नो आश्रयस्थलको नाम राख्यौं, सिद्धधारा ।
सिद्धधारा अब हाम्रो राज्य बनेको थियो । त्यहाँबाट बगेका पानीले तल सुसाइरहेको खोलालाई थप ऊर्जा दियो । हामीले त्यो खोलाको नाम सिद्धखोला राख्यौं ।
त्यही पहाडमा हामीले समृद्धिका सपना बुन्यौं । भविष्यको रेखा को¥यौं । हामीले त्यहाँ आफ्ना सन्तानका लागि खुसीको बीज रोप्यौं ।

सुखका दिन आइसकेका थिए । हामी हाँसीखुसी आफ्नो राज्यमा बाँचिरहेका थियौं ।
त्यही समय कुनै एक दिन ।
हाम्रो राज्यको सिमानाभित्र केही नयाँ मानिसहरू आइपुगे । उनीहरू निशस्त्र थिए र नाकनक्शामा हामीजस्तै थिए । उनीहरूका पनि हाम्रोजस्तै थेप्चा नाक र चिम्सा आँखा थिए । भाषाचाहिँ अलिकति फरक रहेछ । तर केही शब्द हाम्रो भाषासँग मिल्दाजुल्दा पनि थिए ।
ती मानिसहरूको कुरा र हाउभाउबाट हामीले थाहा पायौं कि उनीहरू हाम्रो राजासित भेट गर्न चाहन्थे । मैले नै उनीहरूलाई हाम्रो राजाको सामु लिएर गएँ । आगन्तुकले केही छलकपट गर्लान् कि भनी म बडो सतर्क थिएँ र फौजका केही सिपाहीहरूलाई पनि धनुर्बाण ठिक्क पारेर तयारी अवस्थामा बस्नू भनी आदेश दिएको थिएँ ।
ती मानिसहरू हाम्रो राजासित धेरैबेर कुराकानी गरेर बसे । उनीहरू गइसकेपछि म आफ्नो राजाको सामु हाजिर भएँ । मैले राजा भानसिंहको अनुहारमा कहिल्यै नदेखेको उदासी देखें । मैले उनको त्यो अनुहार हेर्नै सकिनँ र बिन्ती बिसाएँ,
‘महाराज के भयो ? हुकुम होस ।’

राजाले भने,
‘धेरै कुरा त मैले पनि बुझिनँ सेनापति । तर उनीहरूले भनेका केही कुरा ईशाराले पनि बुझें । उनीहरूले भने कि यो भूमि उनीहरूको राज्यको सीमाभित्र पर्दछ । उनीहरूका राजा चाहन्छन् कि हामीले तुरुन्तै यो ठाउँ छाडेर अन्तै जानुपर्छ । होइन भने युद्धका लागि तयार हुनुपर्छ ।’
मैले सोधें,
‘हामीले के गरौं त महाराज ?’
राजाको हुकुम भयो,
‘मैले उनीहरूसँग जवाफ पठाएको छु, हामी यो भूमिलाई छाडेर कतैपनि जाँदैनौं ।’

मैले राजाको आशय बुझें । अर्थात् अब हामी शत्रुसित मुकाबिला गर्न तयार हुनुपर्ने भयो । मैले युद्धको तयारीका लागि राजासँग आदेश लिएँ । त्यसपछि आफैं अगाडि सरेर भेडाको सिङ जोडले फुकें । डाँडाभरि हलचल भयो । क्षणभरमै हजारौं सिपाहीहरू युद्धका लागि तम्तयार भएर खडा हुन आए ।

म अगाडि सरेर चिच्याएँ,
‘हाम्रो नामनिशाना मेटाउन भनी वैरी अगाडि बढ्दैछ । त्यो वैरी हाम्रो नजिकै छ । सम्भवतः आजकै रात उनीहरू हामीमाथि आइलाग्नेछन् । तर हामी कमजोर छैनौं । हामी मगराजका सन्तान हौं । हाम्रो विरासत नै वीरहरूको हो । वीराङ्गनाहरूको हो । आइलाग्नेलाई तरबार, भाला र धनुर्बाणले कसरी ठिक पार्नुपर्छ, हामीलाई कसैले सिकाउनुपर्दैन ।’
यति भन्दै मैले नाङ्गो तरबार हातमा लिएर माथि उचालें र चर्को स्वरमा सोधें,
‘हो कि होइन ?’
‘हो ।’
‘हो ।’
‘हो ।’
सिपाहीहरूको समवेत स्वर त्यो पहाडलाई चिराचिरा पार्लाजत्तिकै गरेर करायो,
‘राजा भानसिंहको जय ।’
‘मगराजको जय ।’

हामीलाई यो भूमि छाडेर जान भन्नेहरू तीन दिनपछि दिउँसोको समयमा सिद्धखोला तरेर उकालो लागेका थिए । रात परेपछि हामी पहाडका चारैकुनामा छरिएर बस्यौं । सिद्धखोलातिरको सबैभन्दा तल्लो कुना मैले आफ्नो भागमा राखें । वैरी आयो भनेपनि सबैभन्दा पहिले मसितै उसको सामना हुनेथियो । केही सिपाहीहरूलाई लिएर म रातको समय पोथ्रामा दबेर बसें । शत्रुको पहिलो प्रहार खानुपर्ने सम्भावित सिपाही म नै थिएँ । मपछि लहरै बसेका सिपाहीहरू पनि वैरीको पनिशाना हुने प्रबल सम्भावना थियो ।
हाम्रो श्वासप्रश्वासले सिद्धखोलाको सुसाईलाई जित्लाजत्तिकै गरिरहेको थियो । रौंहरू ठडिएका थिए । उत्तिखेर गर्मी र उत्तिखेरै जाडो भएजस्तो आभास भइरहेको थियो । युद्धको रोमाञ्चकताले मुटुको गति बढाइदिएको थियो ।

वैरी निःशब्द थिए तर तिनको श्वास र पसिनाको दूर्गन्ध हामीसम्म आइपुगेको थियो । हाम्रा भाला, तरबार र धनुर्बाण तिनका छातीमा बज्रिन तम्तयार भएर बसेका थिए । वैरीको बाँकी फौज सिद्धखोलाको बगर हुँदै हाम्रो राज्यतिर अगाडि बढिरहेको थियो । तर तिनले हाम्रो माटोमा पाइला राख्न पनि पाएनन् । उनीहरूले हाम्रो शरिरको गन्ध थाहा पाउनुअघि नै हामी तिनमाथि जाइलाग्यौं । धनुर्बाण ताकिरहने त समय नै भएन । हाम्रो तरबार र भालाले नै उनीहरूलाई ठिक पारे । उनीहरू सम्हालिन नपाउँदै हामीले तिनलाई परास्त ग¥यौं ।
उनीहरू फर्कँदाखेरि सिद्धखोलाको पानी पनि शान्त थियो । उनीहरूको पदचाप कतै सुनिएन । हजारको सङ्ख्यामा आएको वैरी सयको गन्तीमा फर्कियो ।

राजा भानसिंहको जय ।
जय जय जय ।
मगराजको जय ।
जय जय जय ।।

रातभरि हाम्रो गर्जनले विश्राम लिएन । विजयको खुसीयालीमा हामी रातैभर झुमिरह्यौं । नाचिरह्यौं ।

त्यसपछिका हरेक महिना लडाइँ चल्यो । कहिलेकाहीं त महिनाको दुईपटक पनि । प्रत्येक लडाइँमा हाम्रो जित भयो । सिद्धखोला पारि हामी कहिल्यै गएनौं । उनीहरू पटक–पटक हाम्रो राज्यमा आउन चाहन्थे अनि त्यही कारण घमासान युद्ध हुन्थ्यो । कतिपटक सिद्धखोलामा पानी र मान्छेको रगत बराबर भएर बग्यो । त्यसको कुनै हिसाब थिएन । हाम्रा सिपाहीहरू पनि मारिन्थे युद्धमा तर हाम्रो तुलनामा शत्रु पक्षको क्षति सधैं नै बढी हुन्थ्यो ।

एक दिन सिद्धखोलामा पानी भर्न गएका हाम्रा चालिस जना चेलीबेटी शत्रु सेनाद्वारा मारिए । तिनका चेलीहरू पनि हरेक दिन त्यो खोलामा पानी लिन आउँथे । हाम्रा पनि जान्थे । यो नियमित प्रक्रियाजस्तै थियो । तर शत्रु यति कायर होला भनेर हामीले कहिल्यै सोचेका थिएनौं ।
त्यो दिन हाम्रा चेलीहरूको मुटुबाट बगेको रगतले सिद्धखोला राताम्य देखा परेको थियो । त्यही दिन हो, म पहिलोपटक बाघ बनेको । चालिसजना चेलीहरू जसमध्ये मेरी अद्र्धाँगिनी पनि थिइन्, सिद्धखोलाको बगरमा ढलेको दृष्य देखेपछि मभित्र पीडा, आक्रोश र बदलाको भावना यति प्रबल बनिदियो कि जब मैले चिच्याउन भनी मुख खोलें, मभित्रबाट बाघको गर्जन निस्कियो । जतिपटक म चिच्याउन चाहन्थें उतिपटक मेरो मुखबाट बाघ कराउँथ्यो । मेरा सिपाहीहरू डराएर पर–पर भाग्दै गएको म देखिरहेको थिएँ । आफ्नो मुखबाट निस्किरहेको बाघ–गर्जन पनि म राम्ररी सुनिरहेको थिएँ । अर्थात् म सचेतावस्थामा नै थिएँ ।
तर मेरो बोली मेरो अधीनमा थिएन । म हैरान बनें । आत्तिएँ पनि । अन्तिमपटक मान्छेको बोली निकाल्ने प्रयत्नस्वरुप जब म भित्रैदेखिको बल लगाएर कराएँ तब मेरो बोलीमा मात्र बाघ सुनिएन, म आफै बाघ बनें । साक्षात् पाटेबाघ ।

अचम्म लागिरहेको थियो । मेरो मन, विवेक, होश सबै मानिसको थियो तर मेरो बल, चाल र शरिर बाघको थियो ।
त्यही रात मैले सिद्धखोला तरें । शत्रुको राज्यमा पसेको थिएँ म । बिहान झिसमिसेमै उठेर गाइबाख्राको स्याहारमा लागेका असीजना आइमाईमान्छेको घाँटी फोरेपछि मात्रै मभित्रको पीडा, आक्रोश र बदलाको भाव अलि मत्थर भयो । अर्कोदिन सिद्धखोला तरेर आफ्नो राज्यमा प्रवेश गर्नासाथ म फेरि मान्छे नै बनें र आफ्नो राजाको दरबारमा हाजिर भएँ ।
दरबार र सिंगो बस्तीले मेरो स्वागत धुमधामले ग¥यो । राजा भानसिंहको स्याबासी र धाप पाएँ मैले । अद्र्धाँगिनी गुमाउनुको पीडा त छँदैथियो तर बदला लिएँ भन्ने सम्झँदा मन शीतल हुँदै आयो ।

………………………. …….

अकस्मात म ब्यूँझिएँ लामो निद्राबाट । ब्यूँझिएपछि थाहा भयो, म निद्रामा हैन बेहोश अवस्थामा ढलेको रहेछु । यतिञ्जेल मैले देखेको यो दृष्य के थियो ? म अलमलमा परें धेरैबेरसम्म । केहीबेरपछि अघि मसित भएका शिकारीहरू पनि आए । मलाई जीवितै देखेर उनीहरूलाई अचम्म लाग्यो । उनीहरूले मलाई रिखे झाँक्रीले चपाइसक्यो भन्ने ठानेका रहेछन् ।
रिखे त्यहाँ कतै थिएन । सायद ऊ बाघ बनेर फेरि गाउँबाट हराएको थियो । हामी लाचार थियौं । न उसलाई मार्न सक्यौं न त समातेर राख्न । अब केहीदिनपछि त्यसले छिमेकी गाउँका साना नानीहरूलाई मारेको समाचार फैलनेछ । मनमा ढुँगा राखेर सुन्नुपर्नेछ हामीले रिखेको काम ।

नभन्दै केही दिनपछि सिद्धखोला पारिका गाउँहरूमा मान्छे खाने बाघको आतंक सुरु भएको थियो । धनचौर, ढिकुरालगायतका गाउँहरूमा ससाना नानीहरू बाघको शिकार हुन थाले । दिनहुँ जिल्लाका एफएम रेडियोबाट नागरिकलाई सचेत बनाउने सूचना बज्न थाले । गाउँलेहरू पहरा दिंदै जागा बस्न थाले । तर पनि बालबालिकाहरू मारिने क्रम रोकिएन ।
जिल्लाको प्रशासनले आफूले नसकेर बाघ मार्न भनी चितवन राष्ट्रिय निकुञ्जलाई हारगुहार ग¥यो । अनुभवी सैनिकहरू गोलीगठ्ठा बोकेर आए पनि । तर उनीहरू बाघ मार्न नमिल्ने बहाना बनाएर पन्छिए । नरभक्षी बाघ मार्न पनि उनीहरूलाई कानुनले रोक्यो । तिनका कुरा सुनेर जनतामा आक्रोश फैलियो । केही गाउँलेहरूले बनमा भेटिएका जनावर मारेर रीस मेट्ने काम गरे । सैनिकहरू केही हप्ता बसे जिल्लामा । बनमा आगो लगाएजस्तो पनि गरे । तर त्यो नरभक्षी बाघ कतै फेला परेन । दुनियाका लागि त्यो नरभक्षी बाघ थियो तर उसलाई राम्ररी चिन्नेहरूका लागि ऊ केवल रिखे झाँक्री थियो । हामीसँग एउटै खोलाको पानी पिएको मान्छे थियो ऊ ।

एकदिन समाचार सुनियो, ढिकुरा गाउँ नजिकै मोटरबाटोमा हिँडिरहेको एक बालकलाई त्यो नरभक्षी बाघले झम्टा मा¥यो । नजिकबाट देख्नेहरूले बताए, बाघ बूढो थियो र सायद बिरामी पनि । त्यसले बालकमाथि झम्टँदै गर्दा ऊ आफै भूँइमा ढल्यो । बालकको ज्यान बाँच्यो ।
त्यसको केही हप्तापछि अर्को नराम्रो खबर सुनियो, बाघले पाँच वर्षकी बालिकालाई आफ्नो हजुरआमाको पिठ्यूँबाटै खोसेर आक्रमण ग¥यो । बालिकालाई बाघको पञ्जाबाट त छुटाइयो तर सन्धिखर्कमा उपचार हुन नसकेर भैरहवा पठाइएको छ । सन्धिखर्कस्थित सरकारी अस्पतालका डाक्टर जगन्नाथ तिवारीले पत्रकारहरूलाई बताए कि घाईतेको अवस्था अत्यन्तै गम्भीर छ । देख्नेहरूले पनि भने, बाँच्न सायद गाह्रो छ ।

सामाजिक सञ्जाल र अनलाईन पोर्टलभरि घाईते बालिकाको तस्वीर सार्वजनिक भयो । अनुहारभरि चोटैचोट र रगतका टाटाहरू । घाँटीमा सेतो कपडा बाँधिएको । शान्त मुद्रामा मानौ उनलाई केही भएकै छैन । बालिकाको नाम परी थियो । परी दमासे । लोककथाकी परीजस्तै थिइन् उनी ।
दुईहप्तापछि बेहोश अवस्थामै परीले संसार छाडेर गइन् । फेसबुकभरि स्थानीय प्रशासनलाई गाली गर्दै आक्रोश पोखिए । बाबाको मृत्यु, आमाको अर्कै नयाँ संसार । सानैमा यस्तो बिचल्ली भोगेकी परी आफ्नी हजुरआमासित बस्थिन् । हजुरआमाले पिठ्यूँमा जतनसाथ राखेर बारीमा काम गरिरहेको समयमा अचानक बाघले उनलाई टिपेर तल फालेको थियो । अनि त्यहीँ गएर उनको घाँटीमा दाँत गाडेको थियो ।
परीको मृत्युको समाचारले म पनि अरुजस्तै स्तब्ध भएँ । हत्यारालाई म चिन्दथें तर किटानी जाहेरी दिनका लागि मसित कुनै तागत थिएन । परीको अनुहार मेरो मनमा यसरी गडेर बस्यो कि त्यो अनुहारलाई मैले निकाल्नै सकिनँ । जब म उनको निर्दोष अनुहार सम्झन्थें, आँखामा आँसु रसाउँथ्यो ।

केही दिन बाघको आतंक बन्द भयो । त्यसको केही दिनपछि रिखे पनि घर आएको थाहा भयो । ऊ घर फर्केको सुन्नासाथ मैले आफ्नो बन्दुकमा बारुद भरें । एउटा बाघलाई पुग्नेगरी छर्रा र गोली पनि खाँदें बारुदसँगै । पड्काउन मात्र ठिक्क पारिएको त्यो बन्दुक भिरेर म रिखे झाँक्रीको घरमा गएँ । म रिखेलाई उसकै घरमा गएर मार्न चाहन्थें । म उसलाई एकै प्रहारमा रक्ताम्य भएर ढलेको हेर्न चाहन्थें ।

म उसको घरमा पुग्दा ऊ आफ्नो पिढीँमा टुक्रुक्क बसिरहेको थियो । मलाई परै देखेर ऊ करायो,
‘मलाई मार्न आइस् कि क्या हो ?………..
यति भनेर ऊ फिस्स हाँस्यो तर म हाँसिनँ । म भित्रभित्रै आगोझैं सल्किरहेको थिएँ । मैले उसलाई एक निमेष हेरें । उसको मुखमुद्रा देखेपछि उसलाई मार्न गोलीबारुद खर्च गर्नुपर्छजस्तो लागेन । ऊ त आफै मरिसकेको थियो । नमरेपनि ऊ ज्यूँदो लासजस्तो थियो । उसका गाला र आँखा भित्र पसेका थिए र उसको शरिर शिथिल थियो ।

म उसको सामु उभिएको थिएँ । उसले अघिको आफ्नो कुरालाई जोड्दै भनेको थियो,
‘नमार् जाँठा ।’
त्यसपछि उसले जे भन्यो, त्यो सुनेर मेरो जीउ फुलेर यामानको भयो । मुटु थर्थर काम्न थाल्यो । शरिरैभरि चिटचिट पसिना आयो । थामिन नसकेर म उसकै सामु भूइँमा थचक्क बसें ।
उसले आफ्नो कुरालाई निरन्तरता दिंदै भनेको थियो,
‘मपछि झाँक्री बन्ने पालो तेरै त हो । त्यसपछि बाघ बन्ने पालो पनि तेरै हो । ……… अब म कति नै बाँच्छु र ?’
ऊ बोलिरह्यो । मैले टेकेको जमिन तलतल भासिंदै गयो । म त्यसैमा गाडिएँ । उकुसमुकुस भएँ । सास रोकियो मेरो । ऊ एक्लै बोलिरहेको थियो,
‘तँ र म राजा भानसिंहको पल्टनमा सँगै थियौं । त्यो दिन सिद्धखोलामा तेरो स्वास्नी मात्रै मारिएकी थिई । मेरो त स्वास्नीसँगै दुई कलिला छोरा र छोरी पनि मारिएका थिए । मेरो घृणा अझै शान्त भएको छैन, सिद्धखोला पारीका गिद्धहरूप्रति । त्यो क्रूर शासक …..’

‘तर एउटा क्रूर शासकको बदला तिम्ले ती निर्दोष बालबालिकाहरूलाई किन मा¥यौ ?’
मैले सोधें । यति सोधिरहँदा मेरा आँखामा परी दमासेको अनुहार टाँस्सिन आएको थियो ।
‘सारै दुःख लागेको छ मलाई ।’ मैले भनें ।

‘तर शासकलाई सघाउने र उसको चाप्लुसी गर्ने त त्यहींका मानिस थिए नि । छाडी दे अरु कुरा । भोलि मलाई डाक्टर लैजाओ ।’
रिखेले यति भन्यो र आफ्नो घरभित्र पस्यो । एकछिन बाहिर एक्लै बसिरहें र मपनि आफ्नो घर फर्किएँ । मेरो दिमागले काम गर्न छाडेको थियो ।

त्यो रातभरि मलाई निद्रा लागेन । केके विचारहरू मनमा आउजाउ गरिरहे । रिखेलाई कुनै हालतमा क्षमा दिन म सक्तिनथें तर उसको मृत्यु हुनु मेरो पनि दशा लाग्नु थियो । मैले कल्पनासम्म नगरेको कुरा गरेको थियो उसले । उसलाई मैले केही बताएको थिइनँ तर पनि मैले बेहोश हुँदा देखेको दृष्य उसैले बताएको थियो । सबैभन्दा दुःखको कुरा उसले आफू मरेपछि म बाघ बन्ने कुरा सुनाएको थियो ।
तसर्थ आफ्नै भलाईका निम्ति पनि मैले रिखेको उपचार गर्नुपर्ने भएको थियो ।
भोलिपल्ट बिहानै गाउँका केटाहरूलाई गुहारेर रिखेलाई अस्पताल लिएर गएँ । हिजोसम्म उसलाई मार्न चाहन्थें म । आज उसको प्राणका रक्षाका लागि हरेक दुःख सहन तयार भइरहेको थिएँ । कस्तो खालको परिस्थिति होला यो ? म पूरै अन्यौलग्रस्त बनेको थिएँ ।

२०७५ जेठ २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत