मलेसियामा कुटपिटबाट युवाको मृत्यु
प्रवास

मलेसियामा कुटपिटबाट युवाको मृत्यु

फलेवास, पर्वत, १८ जेठ रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।

करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिनुभयो । पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।

मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर क्षेत्री पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो ।

परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

२०७५ जेठ १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु