पत्रपत्रिकाबाट

मोदी भ्रमण जनकपुर हुँदै

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। सरकारको निम्तोमा नेपाल आउन लागेका मोदी विहारको पटनाबाट सीधै जनकपुर आउनेछन्। मोदी वैशाख २८ मा दुईदिने भ्रमणका लागि नेपाल आउँदै छन्। मोदीले आफ्नो अघिल्लो भ्रमणमा जनकपुर भ्रमणको इच्छा व्यक्त गरे पनि अन्तिम समयमा आएर रोकिएको थियो।

गृहमन्त्री रामबहादुर थापाले मोदीले नेपाल भ्रमणको थालनी जनकपुरधामबाटै सुरु गर्न लागेको जानकारी दिए। मन्त्री थापाले मंगलबार जनकपुरको सुरक्षा अवस्था, मोदीको नागरिक अभिनन्दनलगायत कार्यक्रमको तयारीबारे जानकारी लिएपछि भ्रमणबारे खुलाएका हुन्।

‘मोदीको स्वागत कार्यक्रमको व्यवस्थापन प्रदेश २ सरकारले गर्छ। केन्द्र सरकारले समन्वय गर्छ’, गृहमन्त्री थापाले जनकपुरमा भने, ‘पटनाबाट सोझै जनकपुर आएपछि बाह्रबिघा मैदानमा मोदीलाई स्वागत र अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको छ।’

मोदीलाई जनकपुरमा स्वागत गर्न प्रधानमन्त्री केपी ओली नै जानेछन्। बिहारको पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा मोदी जनकपुर ओर्लनेछन्। जनकपुरमा मोदीले नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त रूपमा रामायण सर्किट परियोजनाको उद्घाटन गर्नेछन्।

रामायणकी प्रमुख पात्र सीताको जन्मथलो जनकपुर र रामको जन्मथलो अयोध्यालाई जोड्न रामायण सर्किट निर्माण गर्न लागिएको हो। धार्मिक रूपमा नेपाल, भारत, श्रीलंका र इन्डोनेसियालाई सडक र हवाई माध्यमले जोड्न उक्त परियोजना फलदायी हुने विश्वास गरिएको छ।

- अन्नपूर्ण पोष्टबाट

२०७५ बैशाख १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत