पत्रपत्रिकाबाट

पत्नीपीडित पुरुषका उजुरीको चाङ

बिर्तामोड : ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।

न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यसबारे कुरा गरौंला।’

उपप्रमुख प्रसाईंले दुःख मान्दै सुनाइन्, ‘मुटुका बिरामी ती युवकको उपचारकै क्रममा मृत्यु भयो। उनको समस्याबारे समितिमा छलफलको विषय नै बन्न पाएन।’

१९ वर्षअघि रोजगारी सिलसिलामा अफगानिस्तान गएका आचार्यसँग उनकी श्रीमतीले वकिलको मिलेमतोमा आठ वर्षअघि नै सम्बन्धविच्छेद गराउन सफल भएकी थिइन्। आचार्यकी श्रीमतीले अदालतमा आफ्ना पतिको सबन्धविच्छेदको स्वीकृति पत्र पेस गरेकी थिइन्।

‘ श्रीमान् विदेश गएपछि वृद्धा सासूको स्याहारसुसार गरेर बसेकीश्रीमतीले त्यस्तो गर्छिन् भन्ने मैले सोचेको पनि थिइनँ तर विदेशमा दुःख गरेर कमाएको सम्पत्ति पनि सकियो, रोगले पनि थला पा¥यो’, स्थानीय सरकारले केही गर्छ होला भन्दै आफूसमक्ष पीडा पोखेको न्यायिक समिति संयोजक प्रसाईंले भनिन्।

- अन्नपूर्ण पोष्टबाट

२०७५ बैशाख १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत