पत्रपत्रिकाबाट

चिनीमा युरिया मिसाउने व्यवसायीविरुद्ध मुद्दा

खोटाङ।युरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय खोटाङमा एक व्यवसायीविरुद्ध दर्ता भएको छ । युरिया मिसाएको चिनी बिक्री गरेको उजुरीपछि दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एन्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध प्रशासनमा मुद्दा दर्ता भएको हो।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । प्रशासनमा पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता भएको हो । मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट दुई लाख रुपैयाँ धरौटी मागिएको प्रशासनले जनाएको छ । प्रशासनले मागे अनुसार व्यवसायी पाण्डेले बिहीबारै धरौटी बुझाएका छन्।

शिलबन्दी गरिएको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एन्ड सप्लायर्सको पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते ल्याब टेस्टका लागि चिनीको नमुना संकलन गरेको थियो । १२ दिनपछि शिलबन्दी तोडेर नमुनाका रुपमा सातवटा बट्टामा संकलन गरिएको चिनी ल्याब टेस्टका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । रिपोर्ट नआएसम्म सप्लायर्सका सञ्चालक पाण्डेलाई अनुसन्धानकै घेरामा राखिने प्रशासनले जनाएको छ । नमुनाका लागि चिनी झिकिएको बोराबाट चिनी बिक्री नगर्न भनिएको छ।

- नागरिक दैनिकबाट

२०७५ बैशाख १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत