ठूला व्यापारिक घरानामा अनुगमन हुन्छ
पत्रपत्रिकाबाट

ठूला व्यापारिक घरानामा अनुगमन हुन्छ

काठमाण्डौ।करिब दुई महिनादेखि रोकिएको बजार अनुगमन सुरु हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नयाँ योजनाका साथ अनुगमन सुरु गर्न लागेको बताएका छन्।

यादवले आइतबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी व्यवस्थित ढंगले अनुगमन सुरु गर्न लागेको जानकारी दिए । अबको अनुगमन ठूला व्यापारिक घरानामा हुने यादवले बताए । ‘साना व्यवसायीभन्दा ठूलामाथि अनुगमन गर्छौं,’ यादवले भने, ‘ठूलालाई कारबाही गरे साना त्यसै सतर्क हुन्छन्।’

मन्त्री यादव आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल लगायत विभागसँगको छलफलपछि अनुगमन अघि बढाउने जनाएका हुन्।

विगतमा गरिएका अनुगमन सतही भएको भन्दै अब गहिराइमा अनुसन्धान अघि बढाउने उनले बताए । ‘विगतमा कानुनी त्रुटिको कारण कारबाही गर्न केही कठिनाइ भएको थियो,’ यादवले भने, ‘दोषीलाई कानुनी दायरामा ल्याउन पुराना कानुनमा भएका कमजोरीलाई सच्याउँछौं।’

अब हल्ला गरेर नभई गहिराइमा पुगेर अनुगमन गर्ने बताए । ‘बजार अनुगमनका नाममा धेरै हल्ला भए,’ उनले भने, ‘कसैसँग रिस उठेको भरमा चोर, फटाहा भनेर दोष लगाउन मिल्दैन ।’अनुगमनलाई एकीकृत गर्ने मन्त्री यादवले बताए । ‘बजारलाई व्यवस्थित बनाउन प्रभावकारी समिति बनाएका छौं,’ उनले भने, ‘कसैप्रति पूर्वाग्रह नराखी बजारको अनुगमन गर्छौं ।’
शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका बेथितिबारे सम्बन्धित मन्त्रालयलाई कारबाहीको लागि लेखी पठाउने मन्त्री यादवले बताए ।

- नागरीक दैनिकबाट

२०७५ बैशाख ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत