पत्रपत्रिकाबाट

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । शनिबार मुगुको राराताल किनारमा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली प्राकृतिक स्रोत र जडीबुटीको धनी छ । अब यो प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ ।’

उनले रारालाई पुग्नैपर्ने पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए । त्यसका लागि कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण गरिने र हवाई यातायातलाई नियमित बनाइने उनको भनाइ थियो ।

मुलुक सधैँ पछाडि रहन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले विकसित बनाउनुपर्ने बताए । त्यसका लागि सबैलाई प्रण गर्न उनले अपिलसमेत गरे । ‘भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘प्राकृतिक रूपमा सुन्दर छ । जडीबुटी छ । कर्णाली झन् महत्वपूर्ण छ ।’ सरकारले कर्णालीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रारा र से–फोक्सुन्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान सञ्चालन गरिने बताए ।

राष्ट्रका नाममा सम्बोधन
राराताल किनारबाटै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले कर्णाली प्रदेश सामाजिक–आर्थिक रूपान्तरणको पर्खाइमा रहेको बताए । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प बोकेर देश विकासको अभियान कर्णालीबाट थाल्ने उद्घोष गरे । ‘नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौँ, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ,’ प्रधानमन्त्रीले सम्बोधनमा भने ।

प्राकृतिक र सांस्कृतिक सम्पदा, सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता हुँदाहुँदै पनि अपेक्षाकृत विकास गर्न नसकेको उल्लेख गर्दै उनले अब विकासको अभियान सुरु गरिएको बताए । ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’ उनले २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको वर्ष रहेको बताए ।

नयाँ पत्रिकाबाट

२०७५ बैशाख २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत