ग्यास बुलेटको अड्को खुल्ने अपेक्षा
बजार

ग्यास बुलेटको अड्को खुल्ने अपेक्षा

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमणमा लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट फुकुवा गर्ने विषयलाई पनि एजेन्डा बनाइएको छ । दुई वर्षदेखि अल्झिएको विषयलाई एजेन्डा बनेपछि ग्यासमा देखिएको कानुनी अवरोध हट्ने उद्योगीले अपेक्षा राखेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार संसद्मा सम्बोधन गर्दैै नेपाली नम्बर प्लेटका बुलेटमा भारतबाट ग्यास ओसार्न देखिएको समस्या समाधानमा सार्थक पहल गर्ने बताएका थिए । नेपाल एलपी ग्यास उद्योगका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले प्रधानमन्त्रीले भारत भ्रमणले लामो समयदेखि रोकिएका ग्यास बुलेट फुकुवा हुनसक्ने अपेक्षा गरिएको बताए । नेपाली नम्बर प्लेटका ७ सय ७५ बुलेट निर्माण गर्नका लागि नेपाल आयल निगमले स्वीकृति दिएको थियो । दुई वटा बुलेट नेपालमा भित्रिसकेपछि सञ्चालन हुन सकेको छैन ।

नेपाली नम्बरका बुलेट सञ्चालन गर्नका लागि भारतको नागपुरमा रहेको एक्स्प्लोसिभ डिपार्टमेन्टबाट ‘बुलेट सुरक्षित छ र ग्यास ढुवानी गर्दा कुनै खतरा हुँदैन’ भन्ने बेहोराको लाइसेन्स चाहिन्छ, । तर भारत सरकारले जुन लाइसेन्स नदिँदा निर्माण भएका ग्यास लामो समयदेखि भारतमै रोकिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव दुई साता घि विश्व व्यापार संगठनको मन्त्रिस्तरीय बैठकमा भारतमा गएका बेला बुलेट फुकुवा गर्ने विषयमा भारतको पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

मन्त्री यादवले पनि हालसम्म निर्माण भइसकेका बुलेटको यकिन संख्या व्यवसायीसँग माग्दै बुलेट सञ्चालनको पहल गरिरहेको बताएका थिए । भारत गएका बेला मन्त्री यादवले विदेशमन्त्री सुष्मा स्वराज, उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभु र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानलाई भेटेर ग्यास बुलेटको समस्या समाधान गर्न भारतपट्टिबाट भएको अवरोध खुलाउन आग्रह गरेका थिए ।

‘एक्स्प्लोसिभ’ प्रमाणीकरण भएपछिमात्र आइओसीका रिफाइनरीमा पेट्रोलियम पदार्थ र एलपिजी ग्यासको लोड दिने कानुनी प्रावधान छ । भारतले यस्तो सर्टिफिकेट नदिँदा तयार भएका बुलेटले ग्यास ढुवानी गर्न नपाइ भारतमै रोकिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले विभिन्न ५३ वटा ग्यास उद्योगले ७ सय ७५ ग्यास बुलेट खरिद गर्न ५ अर्ब ४२ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

- कारोबार दैनिकबाट

२०७४ चैत्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत