बिचार/ब्लग

पुरुष प्रधान समाज कहिले सम्म

 

सीता पाण्डे 

हिजो अंक नेताले भने, “जनता र आइमाई भनेका एकै हुन् । मन पर्‍यो भने धनसम्पत्ति त के सम्पूर्ण कुरा दिन, समपर्ण गर्न तयार हुन्छन् अनि मन परेन भने तिनीहरूबाट अलिकति फुस्काउन त के ती जस्ता खतरनाक र घातक जङ्गलको बाघ पनि हुँदैन ।”

त्यसो भन्दैगर्दा मन्त्रीसमेत भइसकेका ती सांसदको अनुहार चम्किलो र गर्वपूर्णभावले भरिएको थियो । हुन त उनले यसो भन्दा नजिकै बसिरहेकी मप्रति लक्षित गर्दै हाँस्तै भनेका थिए, “अन्यथा नलिनुहोस है, तपाईँलाई चाहिँ भनेको होइन ।” सुन्नेहरू हाँसे, म पनि हाँसे । उक्ति मलाई उनको मौलिकजस्तो लाग्यो । उनले त्यो कुरा आफ्नो चुनावक्षेत्रका बाढीपीडित जनतालाई खाद्यान्न बाँड्न जिल्ला जाने कार्यक्रमअघि कार्यकर्ताहरूलाई व्यवस्थापन पक्षको सावधानी र सचेतना अपनाउन निर्देशन दिँदै भनेका थिए । किनकि चुनाव आइरहेछ । अहिले, यस बेला जनतालाई राह्रत दिनुभन्दा पनि उनीहरूको भावना र मन जित्नु आवश्यक देखिएको छ । त्यसैले जनतासित व्यवहार गर्दा सावधानी अपनाउनु स्वाभाविक छ ।

यो त भयो ती नेताको कुरा । मलाई कुरो घत लाग्यो । नचाहेरै पनि उनको त्यो भनाइले असर पुर्‍यायो । सोच्न र विचार गर्न थालेँ । हुन त उनले त्यो कुरा हल्का रुपमा भनेका भए तापनि मलाई लाग्यो- यसमा सत्यता धेरै छ । साँच्चै आइमाईहरू मन पर्‍यो भने सम्पूर्ण कुरा दिने मात्र हैन, लुटाइदिन्छन् । पछि त्यही कुराको सानो अंश फिर्ता पाउन जीवनभर माग्नेझैँ उनीहरूलाई पछ्याइरहन्छन् । खटाई-खटाई पुरुषहरूले दिँदा उनीहरूप्रति अनुगृहीत हुन्छन् । यो कुरा लेख्दै गर्दा मलाई एउटा कुरा सम्झना आयो- तराईतिर गरिब, निमुखा थारुहरू ऋण चुक्ता गरिसक्ता पनि, पहिले लिएको धन बुझाइसक्ता पनि मालिकहरूप्रति सदा दबिएका हुन्छन् । हुन त त्यसो भनेर मैले सम्पूर्ण नारीवर्गलाई कमजोर र कम विवेकी भन्न खोजेकी हैनँ तर हाम्रो समाज त्यही रुग्ण मानसिकताले ग्रस्त छ ।

धेरै मान्छे भन्ने गर्छन्- ती अविवाहित नेताले स्त्री-धन र शरीरको राम्रो जानकारी राखेका छन् । रहर र महत्वाकाङ्क्षाका प्रत्येक खुड्किलो उक्लिन आइमाईहरूका कुम समाएका छन्, जीवनभर समाइरहन्छन् । तर पनि उनी कति निघृणी र कृतघ्न रहेछन्, आइमाईका बारेमा नहिचकिचाई त्यो भन्न सक्तछन् । र, त्यस्तो धारणा राख्नेहरूको संख्या हाम्रो समाजमा कम पनि छैन ।

मलाई लाग्छ, हामी आइमाईहरू कति कमजोर हुने ? किन हुने ? मानिलिउँ- कुनै युवतीलाई कुनै युवक मन पर्‍यो भने के उसले पहिले प्रस्ताव राख्न हुँदैन ? मन पर्‍यो भन्न हुँदैन ? केटीले पहिलो लभ लेटर लेख्न हुँदैन ? किशोरहरूले  LOVE YOU भनेको मात्र कति सुन्ने ? उनीहरूले भन्न किन हिचकिचाउने ? पुरुषबाट मात्र कति बलाकृत हुने ? कुनै पुरुषले मन परायो, चाह्यो भने पहिले अनुरोध र अनुनय गर्छ, भएन भने पछि बल प्रयोग गर्छ । पुरुष त्यसै छोड्नेवाला छैन । ऊ सजिलै हार स्वीकार गर्दैन । तर मैले अहिलेसम्म पढेको, देखेको र सुनेको छैन- स्त्रीले पुरुषलाई बलात्कार गरेको होस् । हुन त त्यो कुरा मेरो जानकारीमा नआएको पनि हुन सक्छ । यदि त्यस्तो भएको छ कतै भने ती सहासी महिलालाई म अभिवादन गर्छु ।

पुरुष मात्र किन जहिले र जहाँ पनि माथि ? प्रेम गर्दा र मायालु भएको बेला पनि ऊ मास्तिरै बसेर वा सुतेर मच्चिने गर्छ । चाहे ऊ सय केजी तौल भएको मोटो, भुस्तिघ्रे होस् र स्वास्नीमान्छे ख्याउटी तथा मरन्च्याँसी किन नहोस् ।

यस प्रसङ्गमा श्रीरामसिंह बस्नेतद्वारा लिखित भर्खरै प्रकाशमा आएको  ’जीवनका लागि यौन’ भन्ने पुस्तकको मलाई सम्झना आयो । जसका केही हरफहरू प्रस्तुत गर्न म यहाँ सान्दर्भिक देख्तछु- “स्त्री र पुरुषहरूबीच सम्भोगक्रिया सम्पन्न हुन पुरुषको लिङ्गको स्थितिमा अनुकूल परिवर्तन अथवा उत्तेजित हुनु अनिवार्य छ । तर स्त्रीको योनीमा कुनै खास परिवर्तन नआइकन पनि पुरुष उत्तेजित छ भने सम्भोग गर्न सक्तछ । अर्थात् पुरुष तयार छ भने स्त्री मात्र पुरुषबाट बलात्कृत हुनुपर्ने स्थिति आएको छ । पुरुषको लिङ्ग उत्तेजित नभई सम्भोग हुन नसक्नेजस्तै स्त्रीमा स्वस्फूर्त परिवर्तन नआई सम्भोगक्रिया’ हुन नसक्ने भइदिएको भए यो संसारमा बलात्कार’ भन्ने कुनै अपराध हुँदैनथ्यो होला । यस प्रसङ्गमा प्रकृतिले नै महिलालाई ठगेको मान्न सकिन्छ । ….महिलाले जबर्जस्ती गरेर, बल प्रयोग गरेर वा डर-त्रास देखाएर पुरुषको लिङ्ग उत्तेजित हुन नसक्ने भएकाले महिलाहरूले चाहेर पनि पुरुषलाई बलात्कार गर्न अर्थात पुरुषको इच्छा बेगर सम्भोगरत हुन सक्तैनन् ।”

उक्त हरफहरू झट्ट पढ्दा कसै-कसैलाई अश्लील र भद्दा लाग्न सक्छ । तर एकछिन घोरिएर विचार गर्ने हो भने यो यथार्थ र सत्य पनि हो । तर श्रीरामसिंह बस्नेतको उक्त भनाईमा मेरो फरक मत के छ भने आइमाईहरूलाई प्रकृतिले नठगेको ठाउँमा पुरुषले ठगेको छ । त भैहाल्यो, सेक्स गर्दा पुरुष उत्तेजित हुनु अनिवार्य छ । तर के स्त्री माथि’ बस्न वा सुत्न सक्तिन ? त्यसले के अन्तर आउन सक्छ ? आए राम्रै आउला ।

केही दिनअघि एक जना साहित्यकार मित्रले एउटा सानो जमघटमा एउटा प्रसङ्ग झिके, “आठ-दस वर्ष बढी उमेरकी आइमाईसितको शारीरिक सम्बन्ध कस्तो हुन्छ होला ? के त्यो स्वाभाविक हुन्छ ?” उनको आशय के त्यसले पूर्णसन्तुष्टि प्रदान गर्न सक्छ ? भनेजस्तो मलाई लाग्यो । त्यसबेला सायद उनी कथाको प्लट सोचिरहेका थिए र स्वाभाविकता ल्याउन त्यसबारे जान्न चाहन्थे । उनका कुरा सुनेर मलाई एकछिन त रिस पनि उठ्यो । मैले अलि अपमानित पनि अनुभव गरेँ । भनेँ, “के पुरुषले स्त्रीको बारेमा त्यसरी नै कहिल्यै सोच्ने गर्छ ? आठ-दस वर्ष फरकको त के कुरा चालीस वर्षको पुरुष पनि अठार वर्षकी केटीसित सम्पर्क कायम गर्नुलाई स्वाभाविक र न्यायसङ्गत ठान्छ । त्यस किसिमको उमेरको अन्तरले स्त्रीलाई कस्तो अनुभव हुन्छ ? ऊ आनन्दित हुन सक्छे या सक्दिन ? के उसले कहिल्यै यसतर्फ विचार गरेको छ ? अशिक्षित र गाउँलेहरू मात्र होइन शिक्षित र सहरियाहरू पनि धेरैजसो बिहे गर्दा केटीको उमेर आफ्नोभन्दा कमै हुनुपर्छ भन्ने मान्यता राख्तछन् । दस वर्षको अन्तरलाई स्वाभाविकमा होइन, उपयुक्त ठान्छन् । तर दुई-चार वर्ष मात्र पनि केटी जेठी छ भने बिहे गर्न सङ्कोच मान्छन् र नकारात्मक जवाफ दिन्छन् ।”

पुरुषले-हाकिम र मालिकका रुपमा मात्र होइन लोग्ने, बाबु, दाजु, प्रेमी वा छोरा अदि विभिन्न नाता र सम्बन्धभित्र रहेर पनि आइमाईहरूलाई ठगेको छ, होच्याएको छ, दबाएको छ, कज्याएको छ । चाहे आइमाईहरू योग्य र क्षमतावान् नै किन नहुन्, त्यसको सही मूल्य र अवसर पाउनबाट तिनीहरू बेलाबेलामा वञ्चित हुन्छन् ।

सावधान ! यदि सम्पूर्ण आइमाईले विचार गरेर यी कुराहरूलाई प्रतिकार गर्ने हो भने पुरुषहरूको थिचोमिचो, शोषण, अन्याय अत्याचारबाट मुक्त हुन धेरैबेर पनि लाग्नेछैन । ती नेताले भनेजस्तै साँच्चै जनता र आइमाई भनेका खतरनाक पो हुन्छन् !”

 

 

 

 

२०७४ बैशाख १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत