पत्रपत्रिकाबाट

सन् १९५० को सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक

काठमाण्डौ।सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत समयानुकूल थप परिमार्जन गर्नुपर्ने सन्धि–सम्झौताको नवीकरण, परिमार्जन र सुधार गरी पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाब पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे काठमाडौंमा बसेको सातौँ बैठकमा भारत दुवै पक्ष निराश नहुने गरी समयानुकूल पुराना सन्धि–सम्झौता पुनरावलोकन गर्न सकारात्मक देखिएको हो ।

‘विन विन’ हुने गरी पुराना सम्झौता पुनरावलोकन गर्न तयार आइतबार आयोजित पत्रकार सम्मेलनमा भारतीय पक्षका संयोजक भाजपाका वरिष्ठ नेता भगतसिंह कोसियारीले दुवै पक्ष ‘विन विन’ हुने गरी पुराना सम्झौता पुनरावलोकन गर्न भारत तयार रहेको बताए ।

‘दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने गरी हामीले मस्यौदा तयार पारेर दुवै सरकारलाई बुझाउँछौैँ, त्यसमा पुराना सन्धि–सम्झौता समयानुकूल परिवर्तनका लागि सुझाब दिन्छौँ,’ कोसियारीले भने, ‘म भारत सरकारका तर्फबाट विश्वास दिलाउन चाहन्छु कि, हामी कसैलाई पनि निराश हुन दिँदैनौँ । प्रतिवेदन दुवै पक्षले विन गर्ने तरिकाले आउँछ ।’

दुई दिनसम्म चलेको बैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायत जटिल विषयमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो ।

चार महिना म्याद बाँकी रहेको इपिजीले प्रतिवेदनको मस्यौदा तयारी पनि गरिरहेको छ । खुला सीमा व्यवस्थापन र राष्ट्रिय सुरक्षाका विषयमा समान धारणा दुवै देशबाट प्रतिनिधित्व गर्ने समूहका सदस्यहरूले खुला सीमा व्यवस्थापन र राष्ट्रिय सुरक्षाका विषयमा समान धारणा बनाएर समाधान खोज्नेतर्फ लक्षित रहेको बताएका छन् ।

दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धलगायत विषयमा तयार भएको मस्यौदामाथि भएको छलफल सकारात्मक भएको नेपालतर्फका प्रमुख पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले जानकारी दिए ।

दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमा व्यवस्थापन, जलस्रोतलगायत विषयमा हामी सकारात्मक दिशामा छौँ, उनले भने, ‘हामी अन्तिम लक्ष्यमा प्रवेश गर्ने क्रममा छौँ । सबै कुरा निष्कर्षमा नपुगी भन्नुभएन ।

अहिले दुई देशबीच देखिएका विवाद समाधानका लागि कसैको पनि विमति नरहेको भन्दै डा. थापाले (इपिजी)लाई दिइएको समयसीमाभित्र सरकारलाई सुझाबसहितको प्रतिवेदन पेस गर्ने बताए ।

इपिजीको आठौँ तथा अन्तिम बैठक मार्च अन्तिममा भारतको राजधानी नयाँदिल्लीमा बस्ने र उक्त बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

नयां पत्रिकाबाट

२०७४ फाल्गुण १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत