पत्रपत्रिकाबाट

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

काठमाडौँ, १० फागुन-  पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् ।

अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना पठाएको छ । सञ्चालक नारायण तिमल्सेना भने ५ लाख धरौटी बुझाएर छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ १६ गते नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग मिलेमतो गर्दै स्वास्थ्य उपचारमा संलग्न नक्कली डाक्टरहरूलाई पक्राउ गरेको थियो । ब्युरोले काठमाडौंका ५ अस्पतालमा छापा मारी १३ चिनियाँ, १ अस्ट्रेलियन र ३ नेपाली सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो ।

ब्युरोले झूटा विज्ञापन गर्दै चिकित्सा विज्ञान नै नपढेका डाक्टर उपचारमा संलग्न रहेको र सर्वसाधारण झुक्याउने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी बयानका क्रममा पक्राउ परेका चिनियाँहरूले आफूहरू अस्पतालमा प्रयोग हुने मेसिनहरूको मेकानिक्स मात्रै रहेको र डाक्टर नरहेको बताएका थिए । तर ब्युरोले छापा मार्दा भने उनीहरू चिकित्सकीय अभ्यासमै संलग्न थिए, कान्तिपुरमा खबर छ ।

२०७४ फाल्गुण ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत