वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै, अर्थतन्त्रमा यसरी आउँदैछ समस्या
बिजनेस

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै, अर्थतन्त्रमा यसरी आउँदैछ समस्या

काठमाडौं । वैदेशिक रोजगारीका लागि पछिल्लो दिनमा मलेसिया जानेको संख्या बढेको छ भने कतार, युएइ जानेको संख्यामा कमी आएको छ ।
खाडी मुलुक जाने नेपालीको संख्या घटेपछि विप्रेषण आप्रवाहमा समेत समस्या उत्पन्न भएको छ ।

विप्रेषणको भरमा चलेको मुलुकका लागि पैसा नै आउन बन्द भएपछि मुलुकको आर्थिक अवस्थामा समेत समस्या पैदा भएको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । चालु आवको ६ महिनामा विप्रेषण आप्रवाह तीन खर्ब ४० अर्ब ५४ करोडमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । फलस्वरुप, खुद ट्रान्सफर आय १.७ प्रतिशतले घटी रु. ३९३ अर्ब ३४ करोडमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.६ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा १.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.९ प्रतिशतले घटेको थियो ।
चालु आवको ६ महिनामा ५९ हजार २८८ जना नेपाली मलेसिया गएका छन् भने कतार जानेको संख्या ४८ हजार ९५७ जना रहेका छन् । गत वर्ष ३८ हजार ८०१ नेपाली मलेसिया गएका थिए ।

यस्तै कतार जाने नेपालीको संख्या गत वर्ष ६२ हजार ७७६ रहेको थियो ।
गत वर्ष संयुक्त अरब इमिरेट्स जानेको संख्या २६ हजार ३९६ रहेकोमा यस वर्ष ३० हजार ७५८ रहेका छन् । त्यसमा एक पटक गएर फर्किनेको संख्या समेत जोडिएको छ ।

यस्तै गत वर्षको ६ महिनामा साउदी अरब जानेको संख्या ४४ हजार ४८१ रहेकोमा यस वर्षको ६ महिनामा घटेर २३ हजार २८६ मात्रै रहेको छ । गत वर्ष ५ हजार ६९९ जना कुबेत गएका थिए भने यस वर्षको ६ महिनामा बढेर ७ हजार ७८१ जना पुगेका छन् ।

गत वर्षको ६ महिनामा दक्षिण कोरिया जानेको स्रख्या ८१५ रहेकोमा यस वर्षको ६ महिनामा २ हजार ६८७ रहेका छन् ।
ओमान, बहराइन, अफगानिस्तान, जापान, इजरायल, लेवनान जानेको संख्यामा पनि कमी आएको छ । गत वर्षको ६ महिनामा ७६ जना लेबनान गएकामा यस वर्ष मात्रै ५ जना गएका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.९ प्रतिशतले घटेको थियो भने यस वर्षको ६ महिनामा १.८ प्रतिशतले घटेको छ ।

२०७४ फाल्गुण २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत