सचिव यादवको मृत्युले कपिलवस्तुवासी शोकमा
समाचार

सचिव यादवको मृत्युले कपिलवस्तुवासी शोकमा

कपिलवस्तु, माघ २८- सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित घरमा एकै ठाउँमा खाना खाएका थिए।

खाना खाएपछि परिवारका सदस्यसँग विदाई भएका थिए यादव। त्यो नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो।

परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ।

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बेपत्ता सिँचाइ सचिव यादव मृत भेटिएका छन्।

यादवसँगै नदिमा खसेका अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ। सचिव यादव ५७ वर्षका थिए।

माइली छोरी डा.रञ्जना यादवको विवाहका लागि सचिव यादव घर आएका थिए। आउने फागुन ११ गते रञ्जनाको विवाह भैरहवाका डा. रणधिर यादवसँग गर्ने पक्का भएको थियो।

पिता महावीर यादव र माता धन्जावती यादवका तीन भाइ छोरामध्ये सचिव यादव माइला छोरा थिए। यादवका कान्छभाइ बृजाप्रसाद यादवको ५ वर्षपहिले निधन भइसकेको छ भने दाजु छेदीप्रसाद यादव मात्र रहेका छन्।

यादवकी श्रीमती कमला यादव र तीन छोरी घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका थिए। जेठी छोरी नितुको वीरगन्ज विवाह भइसकेको छ।

सचिव यादव एकदमै मिलनसार र इमान्दार भएका उनका साथी रामबहादुर शुक्लाले बताए। अचानाक यादवको मृत्यु भएको खबरले धैरे दुखी भएको स्थानीय प्रदीप यादवले बताए।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत