राजनीति

प्रदेश-५ को मन्त्रालय ऐतिहासिक विद्यालयमा

रुपन्देही जिल्लाको सबैभन्दा जेठो विद्यालय बुटवल माध्यामिक विद्यालयको भवनमा प्रदेश-५ को मन्त्रालय राख्ने तयारी गरिएको छ।

प्रदेश-५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रदेश सांसद, प्रदेश प्रमुख सचिव, सरकारी अधिकारीसहिदको टोलीले मन्त्रालय बनाउनका लागि शुक्रबार विद्यालय भवनको अवलोकन गरेको हो।

मणीमुकुन्द सेन उद्यानबाट केही पर एकान्तमा रहेको बुटवल मावि २००८ सालमा स्थापना भएको थियो।। बुटवलको मुख्य बजारभन्दा तिनाउपारि रहेका ३ वटा विद्यालयलाई मर्ज गरेर बुटवल माविको भवनमा मन्त्रालय राख्ने तयारी भएको प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले नेपालखबरलार्इ जनाए।

‘३ विद्यालयलाई गाभेर बुटवल माविका विद्यार्थीलाई उजीर सिंह मावि र सरस्वती निमाविको भवनमा सार्ने एक किसिमको छलफल भएको छ।’ प्रदेश सभा सांसद भोजप्रसाद श्रेष्ठले भने,‘बुटवल माविको भवनमा एउटा ठुलो मन्त्रालय रहने छ।’ विद्यालयहरु मर्ज भएपछि आउँदो नयाँ शैक्षिकसत्रबाट मर्ज गरिएका २ विद्यालयमा बुटवल माविका विद्यार्थी सारिने तयारी श्रेष्ठले बताए।

शुक्रबार बुटवल माविमा भएको अवलोकन पछि ३वटा विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बसेर मर्ज प्रकृया अघि बढाउनेसमेत कुराकानी भएको छ।

तिनाउ पारी रहेका १ र २ नम्बर वडा बुटवलको पुरानो बजार रहेको ठाउँ हो। २० को दशकपछि तिनाउवारि बजार बिस्तार भएपछि विगतमा बटौली भनिने पुरानो बजार सुनसान बनेको छ। सुनसान बनेको पुरानो बुटवल क्षेत्रलाई गुल्जार बनाउन मन्त्रालय राख्ने तयारी गरिएको प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बताए।

विद्यालयका प्रधानाध्यापक अकरमुल्लाह खाँले इतिहास बोकेको जेठो विद्यालय सार्ने निर्णय आफुलाई राम्रो नलागेको बताउँछन्। ‘इतिहास बोकेको विद्यालय सार्ने कुरा मलाई राम्रो लागेन, हामी त कर्मचारी हौं। कुनै बेला पनि जान्छौं।’ खाँले भने ‘भोलीको पुस्ताले यस क्षेत्रको जेठो स्कुल भनेर चिन्ने बाटो हराउँछ।’

बुटवल माविका व्यवस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्यले विद्यालय मर्ज गरे पनि बुटवल हाईस्कुलको पहिचान मेटाउन नहुने बताए। उनले भने,‘मर्ज हुँदा राम्रै हो तर, पहिचान बनेको विद्यालयको नाम मेटीनदिनु हुँदैन।’

२०६८ सालमा बुटवल माविले हिरक महोत्सव मनाएको थियो। बुटवलको पुरानो विद्यालयको साख बचाउन र विद्यार्थीलाई आकर्षित गर्नको लागि समय-समयमा प्राविधिक शिक्षालय बनाउने, नयाँ तरिकाबाट विद्यालय व्यवस्थित गर्ने लगायतका चर्चा चल्ने गरेका छन्।

@nepalkhabar.com

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत