खेलकुद

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका कृष्णले जिते

काठमाडौं, माघ २७ – प्रधान सेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन् । निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै बस्नेत च्याम्पियन बनेका हुन् ।

शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित म्याराथनमा एपिएफ क्लबका गोपिचन्द्र पार्की उपविजेता भए । उनले निर्धारित दूरी २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पूरा गरे । त्यस्तै, राजन खत्री २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

उपाधि विजेता बस्नेतले १ लाख पुरस्कार पाए भने दोस्रो हुने पार्कीले ५० हजार तथा तेस्रो भएका खत्रीले २५ हजार पुरस्कार पाए । उपाधि विजेता बस्नेतलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले मोटरसाइकल पुरस्कार दिएका छन् ।

हाफ म्याराथन पुरुषतर्फ पनि शीर्ष तीन स्थानमा नेपाली सेनाका धावकहरुले नै उपाधि जिते । गजेन्द्र राईले उपाधि जित्दा रामजी बस्नेत दोस्रो र कल्याण बानिया तेस्रो भए ।

त्यस्तै, महिलातर्फ आर्मीकै विश्वरुपा बुढा च्याम्पियन बनिन् । आर्मीकै रेशु बस्नेत दोस्रो हुँदा एपिएफकी बिन्द्रा धनके तेस्रो स्थानमा आइन् ।

दुवै विधामा पहिलो हुनेले २५ हजार, दोश्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाए ।

४५ वर्ष माथिको हाफ म्याराथन विधामा भीमबहादुर गुरुङ च्याम्पियन बन्दा कपिल भट्ट दोस्रो र दरिनबहादुर खड्का तेस्रो भए । त्यस्तै, १० किलोमिटरतर्फ महिला र पुरुष दुवैतर्फ सेनाकै धावकहरु शीर्ष तीनमा रहन सफल भए । पुरुषतर्फ राकेश नेपाली, भुपाल अधिकारी र मधु थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ करिश्मा प्रधान, मिनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

प्रतियोगिताको म्याराथनतर्फ ३ सय २३ धावकसहित जम्मा ३ हजार १ सय ९० धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत