बिचार/ब्लग

महावीर जयन्ती :मनाईदै

 

आउनुहोस आज कुरा गरौ संसारमा आफ्नो अहिंसा अनि समानताकालागी अत्यन्त प्रचलीत अनि अनुकरण गरिएको विचार अनि धर्मको, प्रकृती सँग अत्यन्त नजिक रहेको जैन आदर्श अनि धर्मको । 
प्रकृतीको अत्यन्त नजिक रहेको यस आदर्शमा तिनवटा मन्त्रहरु छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिनवटा मन्त्रहरु अहिंसा अर्थात हरेक प्रकारका हिंसावाट परैरहने कुराहरु हुन् । हिंसा भन्ने वित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरुहरुलाई चित्त दुखाउने अनि अरुको नराम्रो सोच्ने पनि पर्दछन है । 
अनेकान्त वाद 
अर्थात कुनै पनि कुरा या तथ्यलाई वहुदृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरु मध्य धेरैजनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावीत भएर तथ्य अनि सत्यको मन्थन गर्दछौ, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरुलाई नियाल्न नसकेको । उदहारणकालागी कालो चश्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि हैन र ? यसरी एउटा मात्र नभई अनेकन विचार र आदर्शले मात्र सत्य को मन्थन गर्न जैन धर्म र विचारले प्ररित गर्दछ । 
अपरिग्रह 
अर्थात लोभ, लालच अनि संवेगहरुवाट पर रहन सक्नु अपिन आत्म शुद्धि लगायत दानपुण्यका मार्गहरुको पैरवी पनि यस जैन आदर्शहरुले गरेका छन् । 


यिनै जैन धर्मका महान प्रर्वतक स्वामी महाविरको आज जन्मदिन भब्यताकासाथ मनाइदैछ । स्वामी महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरिरमाथि नै नियन्त्रण गरी सासांरीक कुराहरुमाथी विजय प्राप्त गरेको उल्लेख छ, स्मरण रहोस जैन धर्म सिन्धुघाँटी सभ्यताको प्राचीन धर्महरु मध्य पर्दछ । जैन धर्मग्रन्थ अनुसार जीव र अजीव गरी मुख्य दुइवटा पदार्थ तथा बनाउन र हटाउन नसकिने छवटा द्रब्यबाट संसार बनेको हुन्छ । जसलाई जीव, अजीव, धर्म, अधर्म, आकाश र काल भनिएको छ । जैन धर्ममा ईश्वरलाई सर्वशक्तिशाली त्रिलोकज्ञाताका रुपमा मात्रै मानिन्छ भने कर्ताकारुपमा जिन अर्थात अरिहन्तलाई मान्दछन् । जैन धर्ममा २४ तीर्थंकरहरु रहेको उल्लेख गरिएको छ, तिर्थकर भन्नाले धर्मको मुल मर्मलाई अगाडी वढाउने गुरुहरुको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थंकर ऋषभदेव र अन्तिम तीर्थंकर स्वामी महावीर नै हुनुहुन्छ । महावीरको जन्म ईशापूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरुमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरु थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरु सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।

जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकूला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नुभएको महावीरलाई वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।
अर्को तर्फ हिन्दु सनातन शास्त्रहरु ऋग्वेद लगायतका पौराणिक शास्त्रहरुमा पनि जैन धर्मका बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनुभन्दा अगाडि नै थियो । श्रीमद्भागवत महापुराणमा प्रथम तिर्थांकर श्री ऋषभदेवलाई विष्णुको आठौं अवतारका रुपमा चर्चा गरिएको छ । त्यस्तै विष्णुपुराणमा पनि श्री ऋषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात ऋषभदेव, स्कन्दपुराण र लिङ्गपुराण आदिमा बाईसौं तीर्थंकर अरिष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफुल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पुजा गरिन्छ । महावीर जन्म जयन्तिका अवसरमा जैन मन्दिरहरुलाई विशेष रुपमा सजाउने गरिन्छ । महावीर जयन्तीका अवसरमा जैन धर्मावलम्बीहरुले अहिंसा र्यालीहरु आयोजना गर्दछन् । गरीवहरुलाई भोजन जस्ता सेवामुलक काम गर्दछन् । काठमाडौ नक्सालको जैन भवन लगायत देशैभरिका जैन समुदाय अनि भवनहरुमा आज विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापकासाथ आपसमा रहेका जैन् समुदायहरुवाट हामीसबैले सिक्नपर्ने कुराहरु धेरै छ । अहिंसा अनि बन्धुत्वकालागी यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक बर्ष चैत शुक्ल पक्ष त्रयोदशी तिथीका दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ । 


ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

२०७३ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत