बितेको २४ घण्टामा जे भए : बन्दुक बोकेर हिँड्नेदेखि कार फुटाउनेसम्म पक्राउ
समाज

बितेको २४ घण्टामा जे भए : बन्दुक बोकेर हिँड्नेदेखि कार फुटाउनेसम्म पक्राउ

काठमाडौं, २० माघ–  प्रहरीले बितेको  २४ घण्टामा  देशका विभिन्न स्थानमा  घटेका घटनाको विवरण सार्वजनिक गरको छ । 

प्रहरीको केन्दीय समाचार कक्षका अनुसार काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकप्वाईन्टमा सवारी साधन जाँच गर्नेक्रममा चितवनबाट काठमाडौं आउँदै गरेको बा.५ ख १९७१ नम्बरको माइक्रोबसमा सवार धादिङको गलडाँडा गाउँपालिका–८ का ३४ वर्षीय उत्तम बराल झोलामा लुकाईछिपाई ल्याएको करीव ३ केजी गाँजासहित शनिबार पक्राउ परेका छन् ।

    यसैगरी सोही चेकप्वाईन्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१५ च ४८४७ नम्बरको कारमा सवार काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय दिभुषण शेरचनलाई पनि कारमा लुकाई छिपाई ल्याएको करीव ९ सय ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही महानगरपालिका–१ बस्ने १८ वर्षीय अब्दुल आलम, पर्साकै ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने १७ वर्षीय संजिब खड्का र काभ्रेको पनौती नगरपालिका–९ बस्ने २१ वर्षीय राजिब थापालाई अवैध लागूऔषध सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त ठाउँमा जाँच गर्ने क्रममा अब्दुलको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस र स्पासमो ७ पिस, संजिबको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस र राजिबको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस लागूऔषध बरामद भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    सुर्खेतको  सिम्ता गाउँपालिका–६ स्थित भेरी नदीको किनारमा  लागूऔषध चरेशको कारोबार हुँदैछ भन्ने  सूचनाको आधारमा ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र संघीय प्रहरी ईकाई कार्यालय नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जाजरकोटको बारेकोट गाउँपालिका–१ बस्ने ५९ वर्षीय अम्मरबहादुर शाही र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बस्ने ३५ वर्षीय जिवन बस्नेतलाई लागूऔषध चरेश करीव ४० किलो सहित शुक्रबार पक्राउ गरेको छ ।

    यता महोत्तरीको     बर्दिबास नगरपालिका–३ पाटु बस्ने ३५ वर्षीय लेखबहादुर कालिकोटेलाई १ नाल भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरीले शुक्रबार फेला पारी उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

    यसैगरी महोत्तरीकै बर्दिबास नगरपालिका–२ स्थित सागरनाथ वन परियोजनाको कुमारीघारीमा २ नाल बन्दुक लुकाईछिपाई राखेको अवस्थामा शुक्रबार सोही कार्यालयबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ । साथै सोही स्थानबाट सोही नगरपालिका–१४ ठकुरीटोल बस्ने ५० वर्षीय टङकु मल्ल र ४२ वर्षीय भरत हमाल भन्ने देवबहादुर हमाललाई बा.६७ प ४७६७ नम्बरको मोटरसाइकलमा १ नाल भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा  भरुवा बन्दुक र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर ३ को भक्तपुर    चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने सानुभाई श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुभाई समेत ७ जनालाई २ बुक तास र नगद २ लाख ५७ हजार ५ सय २० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

यस्तै     काठमाडौं महानगरपालिका–२६ ठमेलमा गुडिरहेको बा.१८ प ३३७१ नम्बरको कार तोडफोड गर्ने कार्यमा संलग्न काठमाडौं बहतीपोखरी बस्ने काभ्रेका २१ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    उक्त कारलाई भोज लामा भन्ने व्यक्तिको साथमा आएका २० जनाको समूहले शनिबार एक्कासी तोडफोड गरी पछाडीको शीशा फुटाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले घटनामा संलग्न तामाङलाई बहतीपोखरीस्थित कुमारी क्लबबाट नियन्त्रणमा लिएको हो ।

राजधानीको बुढानिलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिक बस्ने ३० वर्षीय टिकाराम कार्कीको घरको मुल ढोका फुटाई सुनका गरगहना १ तोला र नगद ८० हजार गरी करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका–७ पर्ता टोल बस्ने बिनोद थापाको घरबाट नगद १ लाख रुपैयाँ र १.५ तोलाको सुनको सिक्री २ थान बिहीबार चोरी भएको छ । घरमा ताला लगाई मुलगेटको छेउको भुसमा चावी लुकाई काम गर्न बाहिर गएको अवस्थामा भुसमा लुकाएको चाबीले अपरिचित व्यक्तिले ताला खोलेर उक्त धनमाल चोरी गरी लगेको बताइएको छ ।

    सुर्खेतबाट नेपालगंजको लागि छुटेको बा.३ ख ३४४६ नम्बरको बसमा सवार जुम्लाको चन्दननाथ नगरपालिका–६ बस्ने २४ वर्षीया सरिता महतको १५ तोला सुन र साडी राखेको झोला शुक्रबार बसबाटै चोरी भएको छ । उक्त बसमा चढेर नेपालगन्जस्थित पुष्पलाल चोकमा झर्ने क्रममा उक्त धनमाल हराएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाडीका साहु समेत ३ जनालाई सोधपुछ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

    हाल फरार रहेका चोरहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँचथरको  हिलिहाङ गाउँपालिका–५ सल्लेरीस्थित मेची राजमार्गमा ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको मे. १ त ३४०६ नम्बरको ट्याक्टर शनिबार ब्रेकफेल भई सडकबाट करीव १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक श्रीजंगा गाउँपालिका–१ बस्ने २६ वर्षीय भुपेन्द्र दर्जी र सोही ठाउँ बस्ने २५ वर्षीय कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा उक्त ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २० वर्षीय समिर शेर्पा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएको छ । उक्त ट्याक्टर पूर्णरुपमा क्षति भएको छ ।

    मोरङको  मिक्लाजुङ गाउँपालिका–५ मानेस्थित किसानचोकमा पनि मे.१ ख १४१९ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साईडमा कोल्टन जाँदा गम्भीर घाइते भएका सोही बसमा सवार गाडीधनी मिक्लाजुङ–३ धोबिनी बस्ने ४० वर्षीय राजकुमार बिकको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त बसमा ३६ जना सवार रहेको बुझिएको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

    रौतहटको     दुर्गाभगवती गाउँपालिका–५ बाँध टोल बस्ने ३१ वर्षीय बली दाशको आफ्नै घरमा सुतेको अवस्थामा चिसोको कारणले शुक्रबार मृत्यु भएको छ ।

बागलुङको     निसीखोला गाउँपालिका–३ बस्ने २७ वर्षीय योगेन्द्र घर्तीमगर शुक्रबार भरुवा बन्दुकको छर्रा लागेर घाइते भएका छन् । सोही ठाउँ बस्ने २४ वर्षीय सुमनबहादुर मगरसँग स्थानीय देउराली जङगलमा कालिज मार्न गएको अवस्थामा सुमनले चलाएको भरुवा बन्दुकको छर्रा लाग्दा योगेन्द्र घाइते भएपछि उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएको छ ।

    यता राजधानीको  नागार्जुन नगरपालिका–१ गैरीगाउँस्थित तिनधरे गुम्बा नजिकै जंगलमा शनिबार आगो लागेको छ ।  संखुवासभाको पाँचखपन नगरपालिका–४ ग्यामा बस्ने मनबहादुर बिकको घरमा केटाकेटीहरुले परालको आगो बाली ताप्ने क्रममा शुक्रबार अचानक टाटी बेरा भएको घरमा सल्कन गई आगलागी हुँदा घर जलेर करीव १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी वानाको टोली र स्थानियवासीको सहयोगमा आगो  नियन्त्रणमा आएको थियो ।

    सप्तरी ः सुरुङगा नगरपालिका–३ दौलतपुर बस्ने कुमार थापाको फुसको छानो भएको गोठमा आगलागी हुँदा गोठ जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय भेडियाको प्रहरी टोली र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

@lokaantar

२०७४ माघ २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत