लोकतन्त्रवादी भन्नेहरूले बैंकमा दशलाख एकमुष्ट राख्न र झिक्न नसकिने अवस्थाको निर्माण गरेः अध्यक्ष ओली
बैँक / वित्त

लोकतन्त्रवादी भन्नेहरूले बैंकमा दशलाख एकमुष्ट राख्न र झिक्न नसकिने अवस्थाको निर्माण गरेः अध्यक्ष ओली

काठमाडौं, माघ १५-एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको लोकतान्त्रिक मूल्यमान्यता र आस्थाप्रति अविश्वास नगर्न सचेत गराएका छन्।

नेपाल चेम्बर अफ कमर्सको नव निर्वाचित पदाधिकारीलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बधाई दिँदै एमाले अध्यक्ष ओलीले नयाँ बन्ने सरकार विधिको शासन, कानुनी राज र लोकतान्त्रिक मुल्य मान्यताप्रति आस्थावान हुने बताएका छन्।

वाम गठबन्धनको नयाँ सरकार बने कम्युनिष्ट शासन आउने भन्दै केही दलले अफवाह फैलाएको जिकिर गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका लागि आफ्नो पार्टीले संघर्ष गरेर आएको दाबी गरे।

अध्यक्ष ओलीले निजी उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्नसमेत आग्रह गरे । उनले वामपन्थी सत्तामा आए केके नै हुन्छ भनेर हल्ला गरिएको बताउँदै आफूलाई लोकतन्त्रवादी भन्नेहरूले बैंकमा दशलाख एकमुष्ट राख्न र झिक्न पनि नसकिने बनाएको बताए ।

अध्यक्ष ओलीले प्रश्न गरे, “दशलाख एकमुष्ट राख्न र झिक्न पनि गाह्रो हुने प्रणाली ठीक कि बेठिक तपाईं भन्नुहोला ।”

उनले सम्पत्ति शुद्धीकरणका नाममा उद्योगी व्यवसायीलाई लगानी गर्न निरूत्साहित बनाउन नहुने तर्क राखे । उनले सम्पत्ति शुद्धीकरण मुसालाई साँचो थापेर कुरेको भन्दै त्यो रकम अनुत्पादनशील क्षेत्रमा खर्च भइरहेको टिप्पणी गरे ।

उनले भने “लगानी गर्न नदिए सम्पत्तिको शुद्धीकरणको कसरी हुन्छ ? साबुन सर्फ त लगाउने होइन होला, लगानी गर्न नपाएपछि त्यो पैसा क्यासिनोमा जुवा खेल्न प्रयोग हुन्छ, त्यहाँ त शुद्धीकरण लाग्दैन ?” उनले अन्डरग्राउन्ड मनी (भूमिगत मुद्रा) लाई सतहमा आउन दिन आग्रह समेत ।

त्यस्तै उनले बैंकहरूले प्रोजेक्टलाई भन्दा पनि धितोलाई ऋण दिइरहेको बताउँदै यसले लगानीको वातावरण सिर्जना नगर्ने ठोकुवा गरे । उनले खेत बाँझो, युवा सीपबिहीन, सरकार नीतिबिहीन, उद्योग कामदारबिहीन, खानी उत्खननबिहीन, उद्योगी पुँजीबिहीन रहेको अवस्थामा सबै मिलेर समृद्धिको दिशा तय गर्नु आवश्यक रहेको बताए ।

विभिन्न खालका उछ्रिङ्खल र अफवाहले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको भन्दै ओलीले नयाँ सरकार बनेसँगै त्यसमा असाधारण सुधार आउने दाबी गरे। वर्तमान काम चलाउ सरकारले दुरगामी महत्त्वको निर्णय गरेर मुलुकलाई बोझ बोकाउने गैरजिम्मेवारीपूर्ण निर्णयहरु गरेको बताउँदै ओलीले नयाँ सरकार गठनपछि त्यसमा पुनर्विचार गरिने स्पष्ट पारे।

कार्यक्रममा चेक्बर अफ् कमर्शका चौथो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका राजेशकाजी शाक्यले अब बन्ने वाम गठबन्धनको सरकारसँग मिलेर काम गर्न उद्योगी इच्छुक रहेको बताए।

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत