समाज

कीर्तिमान राख्न भन्दै पढाइ छाडेर पर्वतारोहण

सोलुखुम्बुको फोर्चे गाउँका २१ वर्षीय फुरा ग्याल्जेन शेर्पाले सगरमाथा चढ्न थालेको पाँच वर्ष भयो।

कक्षा सात पढ्दा पढ्दै उनको ध्यान विद्यालयको पढाइमा भन्दा हिमाल चढेर कीर्तिमान कायम गर्नेतर्फ थियो।

"सानैदेखि हिमाल चढ्ने रहर थियो। बुवा र गाउँका ठूला मानिसहरू हिमाल चढेको भनेर फुर्तीसाथ फर्कन्थे। अनि म पनि पढाइ छोडेर त्यतैतिर लागेँ," उनले भने।

पढाइ छोडेर हिमाल चढ्ने यो किशोर हुटहुटी उनको मात्रै होइन।

हुटहुटी

फोर्चे गाउँका अधिकांश युवाहरू आधारभूत र प्राथमिक तहको पढाइ सकेर आरोहणमा जाने गरेका छन्।

फोर्चेका ८५ घरधुरीका ७० भन्दा बढीले आफैँ हिमाल आरोहण गर्ने वा आरोहण गर्ने विदेशीको सहयोगीको काम गर्ने गर्छन्।

त्यसरी आरोहणमा काम गर्न विद्यालय छोडेर जाने अधिकांश किशोरहरू छन्।

१६ वर्ष कहिले पुगौंला र नागरिकता लिउँला भन्ने ध्याउन्नमा उनीहरू हुन्छन्।

नागरिकता नलिइ आरोहणमा जान नपाइने नियम छ।

फोर्चेका युवा आरोही ङवाङ तेन्जी शेर्पाले पर्वतारोहणमा आफ्नो आकर्षण हुनुको कारणबारे भने, "शेर्पालाई जहाँ पनि हिमाल चढ्ने भनेर चिनिन्छ। हिमालमा जस्तो आम्दानी अरूमा हुँदैन। त्यही भएर ९ कक्षा पढ्दापढ्दै म ६ हजार फिट माथिसम्म गएँ। १७ वर्षको उमेर पुगेदेखि म नियमित रूपमा सगरमाथा क्षेत्रमा गइरहेको छु।"

पेशा

फोर्चे गाउँका युवाहरूलाई विद्यालय पुग्नका लागि चार घण्टा पैदल यात्रा गर्नुपर्छ।

उनीहरूको घरबाट नजिकै रहेको विद्यालय भनेको खुम्जङ माध्यमिक विद्यालय हो।

पहिले पहिले विद्यालयसम्मको पहुँच सहज नहुँदा अघिल्लो पुस्ताले थप शिक्षा पाउन सकेनन्।

अहिलेको पुस्तालाई विद्यालय जान टाढा भए पनि उनीहरूसँग विकल्प छ।

तर उनीहरूलाई पढाइ सक्न भन्दा आरोहणमा गएर कीर्तिमानी राख्ने आकांक्षा नै धेरै छ भन्छन् गाउँका बुढापाका पनि।

संकेत

पाका आरोही मिङमार शेर्पाले भने, "हाम्रो जमानामा पढ्न पाइएन। बोल्न त अङ्ग्रेजी नेपाली सबै आउँछ तर लेख्न आउँदैन। त्यही भएर हामी अहिलेका युवाहरूलाई चाहिँ पहिला पढेर अनि आरोहणमा जाउ भन्छौं। उनीहरू मान्दैनन्।"

युवाहरू आरोहणमा आकर्षित भइरहँदा उनीहरूको आकांक्षा पूरा गर्न थप सहयोगी गाउँमै खुलेको खुम्बु क्लाईम्विङ सेन्टर भएको छ।

उक्त सेन्टरले आरोहणसम्बन्धी तालिम दिन्छ।

गाउँघरमै आरोहण तालिम खुलेपछि स्वभाविक रुपमा बढी जसो युवाहरूले तालिम लिएका र त्यही पेशा गर्न थालेका छन्।

यसलाई केहीले आफ्नो गाउँको सानका रूमा लिएका छन् त केहीले शिक्षा क्षेत्रमा उनीहरू पछि पर्ने संकेतका रुपमा हेर्ने गरेका छन् ।

२०७४ माघ १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत