ग्लोबल

हमलापछि सेभ द चिल्ड्रेनको काम स्थगित

अफगानिस्तानको पूर्वी शहर जलालावादमा रहेको अन्तर्राष्ट्रिय सहायता निकाय सेभ द चिल्ड्रेनको कार्यालयहरू रहेको भवनमा हमला भएपछि सो निकायले उक्त देशमा सञ्चालित कार्यक्रम स्थगित गरेको जनाएको छ।

अधिकारीहरूका अनुसार कम्तीमा दुई जना मानिसको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

हमला भएको बेला सो भवनमा ५० जना जति कर्मचारी रहेको ठानिएको छ।

मर्माहत

हमलाको खबरले आफूलाई एकदमै मर्माहत बनाएको एक विज्ञप्ति जारी गर्दै सेभ द चिल्ड्रेनले बताएको छ। उसले भनेको छ- हाम्रो मुख्य चिन्ता भनेको हाम्रो कर्मचारीको सुरक्षा हो।

तर आफ्नो कार्यक्रमहरू पुनः संचालनमा ल्याउन र जीवनरक्षा कार्य छिटोभन्दाछिटो शुरु गर्न आफू प्रतिबद्ध रहेको सो सहायता निकायले बताएको छ।

अफगानिस्तानमा सहायता निकायहरू अप्ठेरो परिस्थितिका माझ काम गरिरहेका छन् र नियमित जसो हमला र अपहरणहरुको सामना गर्ने गर्छन्।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय कार्यक्रमले गैरसैनिकहरु वा सहायता निकायहरूमाथि लक्षित हमला अन्तर्राष्ट्रिय मानवीय कानुन माथिको स्पष्ट हमला हो र युद्ध अपराध सरह हो भनेको छ।

हमला

हमला स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेर १० मिनेटमा शुरु भएको बताइएको छ। एक आत्मघाती हमलाकारीले सेभ द चिल्ड्रेन परिसरको प्रवेशद्वारमा विस्फोटक पदार्थले भरिएको एक गाडी विस्फोट गराएको नांगहार प्रान्तका गभर्नरका एक प्रवक्ताले बीबीसीलाई बताए।

हमलाको समयमा सेभ द चिल्ड्रेनको परिसरमा रहेका एक प्रत्यक्षदर्शीले एएफपी समाचार संस्थालाई बताएअनुसार उनले एक बन्दुकधारीले मुख्य गेटमा ग्रिनेड प्रहार गरेको देखेको थिए।

इस्लामिक स्टेट समूहले उसका तीन लडाकुहरु उक्त हमलाका लागि जिम्मेवार रहेको भनेको छ।

अफगान कमाण्डोको टोलीले सो हमला अन्त्य गर्न प्रहरीलाई सघाइरहेका छन्।

स्थानीय संवाददाता बिलाल सरवारीले भनेका छन् - भवनको भूमिगत तल्लाबाट ४५ जनालाई उद्धार गरिएको सेनाले उनलाई बताएको छ तर माथिल्ला तलाहरूमा अझै लडाईँ जारी छ।

२०७४ माघ १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत