पत्रपत्रिकाबाट

मौसमभन्दा चिसो राज्य

काठमाडौं, पुस २९-तराई-मधेसमा शीतलहरले मृत्यु हुनुलाई अझै दैवीप्रकोप मानिन्छ । मैदानी भागका यी बस्तीमा वर्षैपिच्छे शीतलहरबाट गरिब नागरिकको ज्यान जान्छ ।

दैवीप्रकोपकै लागि भनेर केन्द्रमा जम्मा भएको ३ अर्ब रुपैयाँ उनीहरूको उद्धार-राहतमा खर्च हुन सकेको छैन । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई अर्ब र केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा १ अर्ब रुपैयाँ मौज्दात छ ।

कोषमा मौज्दात रकम दैवीप्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, प्रभावित क्षेत्रमा राहतका लागि अस्थायी शिविर स्थापना गर्ने, पीडित व्यक्ति तथा परिवारको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, घाइते तथा बिरामीको उपचार गर्नुपर्ने कानुनी प्रावधान छ । कोष रकमबाटै प्रकोपमा परी मरेका व्यक्तिको काजकिरिया वा सद्गत गर्ने, पीडितलाई अस्थायी आ श्रयस्थल बनाउने लगायतमा खर्च गर्नुपर्छ ।

तराई-मधेसका २२ जिल्लामा जारी शीतलहरबाट शुक्रबारसम्म मर्नेको संख्या २२ पुगिसकेको छ । राज्यका निकायले अझै पनि शीतलहर प्रभावित क्षेत्रमा सचेतता र सावधानी अपनाउन अग्रसरता देखाएको देखिँदैन ।

शीतलहरले विपन्नको ज्यान लिन थालेपछि सरकारले तीन दिनअघि शीतलहर प्रभावित २२ जिल्लामा न्यानो कपडा र कम्बल वितरण गर्न प्रतिजिल्ला १०-१० लाख पठाउने निर्णय गरेको थियो तर त्यो रकम पनि शुक्रबारसम्म गृह मन्त्रालयबाट सम्बन्धित जिल्लामा पुग्न सकेको छैन ।

बाढीपीडित क्षेत्रमा ६ महिनापछि १ अर्ब

गृह मन्त्रालयले साउन २७ देखि ३० गतेसम्म देशका १८ जिल्लामा आएको बाढीपहिरोबाट पीडित परिवारका लागि ६ महिनापछि मात्रै राहतस्वरूप १ अर्ब रुपैयाँ पठाएको छ ।

गृह प्रवक्ता दुवाडीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएको १ अर्ब रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिए । गृहले रकम शुक्रबार मात्रै बाढीपीडितका लागि निकासा गरेको हो ।

झापामा २ करोड, मोरङ ३ करोड, सुनसरी ८ करोड, सप्तरी १२ करोड, सिरहा ४ करोड, धनुषा १ करोड ७३ लाख, महोत्तरी ६ करोड २९ लाख, सर्लाही ६ करोड ६५ लाख, मकवानपुर १ करोड, रौतहट १० करोड, बारा ३ करोड, पर्सा २ करोड ४५ लाख र चितवनमा १ करोड २५ लाख पठाइएको छ ।

यसैगरी, बाढी प्रभावित नवलपरासीमा १ करोड ४२ लाख, दाङ ८९ लाख, बाँके ५ करोड, बर्दिया ५ करोड ८७ लाख र कैलालीमा ४० लाख पठाइएको छ । यो रकम जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको दैवीप्रकोप समितिमार्फत वितरण हुनेछ ।

महामारी क्षेत्रमा पनि पुगेन पैसा

जाजरकोटमा महामारीको रूप लिएको भाइरल ज्वरोले शुक्रबारसम्म १३ जनाको ज्यान लिइसकेको छ । तर, त्यहाँ पनि केन्द्रमा रहेको दैवीप्रकोप उद्धार कोषबाट रकम पठाइएको छैन ।

शीतलहरबाट प्रभावित जिल्ला

झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिरहा, धनुुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर,आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

२०७४ पौष २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत