अन्तर्वार्ता

मान्छे जन्मदै विद्रोही हुन्छ : कादर खानको अन्तरवार्ता

मनमोहन देसाईको सिनेमाहरूलाई लिएर ‘इनच्यान्टमेन्ट अफ द माइन्ड– मनमोहन देसाइज् फिल्म्स’ (सन् २००६) लेखिसकेकी कोनी हामले पेरिस र ट्याक्ससमा अङ्ग्रेजी साहित्य अध्यापनको काम गरिन् । बलिउडमा शोधार्थीका रूपमा उनले कैयौँ महत्वपूर्ण काम गरिसकेकी छन् । उनको पछिल्लो पुस्तक सन् १०१६ मा ‘सो मी योर वड्र्स– द पावर अफ ल्याङ्वेज इन बलिउड’ प्रकाशित भइसकेको छ । उनै कोनी हामले फरवरी २००७ मा अभिनेता कादर खानसँग एउटा लामो अन्तरवार्ता गरेकी थिइन् । भारतीय मूलधारको सिनेमामा कादर खान चिनाइ राख्नुपर्ने नाम होइन । सन् १९७० को दशकमा उनले बलिउडमा आफ्नो यात्रा सुरु गरे । त्यसयता झण्डै तीन सयभन्दा बढी सिनेमामा काम गरेको अनुभव सँगालेका खान बलिउडभित्र अध्ययनशील व्यक्तिहरूमध्ये गनिन्छन् । यो अन्तरवार्ता कबाडखाना डटकमबाट नरेश ज्ञवालीले अनुवाद गरेका छन् ।
 
रङ्गमञ्चको सुरुवात–
कादर खान– रङ्गमञ्चले मलाई निकै ठूलो सहयोग गरेको छ । मैले ८–९ वर्षको उमेरमा नै थिएटरमा काम गर्न थालि सकेको थिएँ । महबुब खानका सिनेमा ‘रोटी’मा एउटा बुढा अभिनेता हुनुहुन्थ्यो । उनको नाम हो– असरफ खान । उनले एउटा नाटक तयारी गरिरहेका थिए– वमाज अजरा । यो रोमियो जुलियट टाइपको नाटक थियो । उनलाई एउटा सानो राजकुमारको खाँचो थियो । त्यो नै मेन क्यारेक्टर थियो । भनेपछि ८–९ वर्षको त्यस्तो केटालाई कहाँ खोज्ने ? जसले झण्डै ४० पाना लेख्न पनि सकोस र त्यो प्रत्यक्ष दर्शकहरूलाई सुनाउन सकोस् ।
 
तिनताका हाम्रो परिवार निकै गरिब थियो र हामी झुप्रोमा बस्थ्यौँ । आमा मलाई प्रार्थनाका लागि मस्जिद पठाउनु हुन्थ्यो । म त्यहाँबाट भागेर एक्लै कब्रस्तान जान्थेँ र दुइटा चिहानका बीचमा चर्को–चर्को एक्लै बोल्ने गर्थेँ । जो मान्छेले राम्रो बोलेको हो भन्ने मलाई लाग्थ्यो मैले उसको नक्कल गरेर उसैको शैलीमा बोल्ने गर्र्थें । प्रार्थनाको समय एक–ढेड घण्टा बितेपछि म घर फर्किन्र्थें । तर प्रायजसो आमाले मेरो गतिविधि समाइ हाल्नुहुन्थ्यो । तिनताका चप्पल त कहिलै लगाइएन, त्यसैले आमाले मेरो खुट्टा हेरेर म मस्जिद गइन भन्ने अनुमान गर्नुहुन्थ्यो । 

कोनी हाम भनेपछि तपाईं निकै बठ्याइँ गर्नुहुन्थ्यो ?
कादर खान–
के गर्नु ? मान्छेभित्र क्रान्ति भन्ने कुरा जन्मसिद्ध हुन्छ । मान्छे जन्मदै विद्रोही हुन्छ । केही मानिसहरूले असरफ खानलाई गएर एउटा केटो छ, जो राति दुइटा चिहानको बीचमा एक्लै बसिरहन्छ र चिच्चाइ रहन्छ भनेछन् । त्यसपछि उनले कयौँ रातसम्म मलाई नियालिरहेछन् । त्यसै गरी एउटा रात उनले टर्चलाइट बालेर त्यसको प्रकाश मेरो मुखमा लगाउँदै भने– ‘यता आऊ । त्यहाँ बसेर एक्लै तिमी के बोलिरहन्छौँ ?’ मैले भनेँ– ‘केही होइन, जे राम्रो लाग्छ त्यही बोल्छु ।’

उनले मतिर आँखा झिमिक्क नपारी– नाटकमा काम गर्छौँ ? भनेर सोधे । मैले नाटक भनेको के हो र ? भनेर सोधेँ । उनले भने– यो तिमीले बोलेको कुरा नै चर्को–चर्को गरी बोल्ने हो भने त्यसैलाई नाटक भनिन्छ । होइन मैले यस्तो पहिले कहिल्यै पनि गरेको छैन भन्ने मेरो कुरा थियो । त्यसपछि के थियो र उनले मेरो ट्रेनिङ नै सुरु गराइदिए । उनको मार्गनिर्देशन, माया र पितृवत स्नेहले म महिना दिनमै रोलका लागि तयार भएँ ।


 
ढेड महिनापछि नाटक सुरु भयो । दर्शकहरूले उभिएरै मलाई हौसला थपे । त्यसपछि एक जना बुढा सज्जन स्टेजमा आए र मलाई सयको नोट दिँदै भने– यो उमेरमा तिम्रा लागि यो ठूलो रकम हो । यो तिम्रा लागि प्रमाणपत्र हो । सधैँ के सम्झनु भने यो प्रमाणपत्र तिमीले निकै सानो उमेरमा पाएका थियौँ । मेरो आशिष तिमीसँगै छ । त्यसपछि उनले मेरो टाउकोमा हात राखे र खोई कता हराए । मालई उनी को थिए भन्नेसमेत थाहा थिएन ।

सय रुपियाँको त्यो नोट मसँग निकै महिनासम्म सँगै रह्यो । तर गरिबीले मान्छेलाई सम्मान र ट्रफी पनि बेच्न विवस बनाइदिन्छ । मेरो पनि त्यस्तै परिस्थिति बन्यो । घरमा चामल ल्याउन मैले त्यो सयको नोट खर्च गरेँ । त्यसपछि मैले लेख्ने र निर्देशन गर्ने काम थालेँ । त्यसपछि म कलेजमा विद्यार्थीहरू माझ यति लोकप्रिय भइसकेको थिएँ कि बम्बईका मान्छेहरूले के भन्न थालेका थिए भने यदि कादर खानको नाटकमा काम गरेको छैन भने त्यो बम्बईको कुनै कलेजमा गएको छैन ।
म यति चर्चित भइसकेको थिएँ कि अन्य विद्यालय र कलेजका विद्यार्थीहरू मेरो अटोग्राफ लिने गर्थे । भन्नुको अर्थ म आफ्नो जीवनको पहिलो खुड्किलोमै निकै चर्चित भइसकेको थिएँ । त्यसपछि मैले पढ्ने काम सुरु गरेँ । मूलतः म सिभिल इन्जिनियर थिएँ । म स्ट्रक्चर, हाइड्रोलिक्स, आरसीसी स्टिललगायतको विषयमा पढाउँथेँ । तर मेरो रुचि भने थिएटरमा थियो । स्टानिस्लाब्स्की, मैक्सिम गोर्की, एनटोन चेखब र दोस्तोवस्की मेरा अर्का अध्यापक थिए ।
 
कमाठिपुरा
हाम्रो परिवार मूलतः काबुलको हो । म त्यहीँको एउटा कट्टर मुस्लिम परिवारमा जन्मेको हुँ । बेरा हजुरबुवा सारै गरिब थिए । हातमुख जोड्न निकै धौ–धौ थियो । मभन्दा अघि मेरा तीन भाइ थिए जो आठ वर्ष पुग्दा नपुग्दै बिते । जब म पैदा भएँ आमाले– होइन यो ठाउँ मेरो छोराका लागि होइन भन्नुभयो । खासमा काबुलको हावा आफ्ना केटाकेटीलाई नफापेको आमाको ठम्याइ थियो । उनी त्यहाँबाट हिँड्न चाहन्थिन् तर कहाँ ? केही पत्तो थिएन ।
त्यहाँबाट निस्किएर खोई कसरी हो, हाम्रो परिवार बम्बई आइपुग्यो । नौलो ठाउँ, नौलो सहर, नौलो देश जान आउन कोही चिनेका मान्छे छैनन् । साथमा एक सुको छैन् । परिस्थितिले उहाँलाई बम्बईको सबैभन्दा नराम्रो सुकुम्बासी टोल कमाठिपुरा ल्याएर थेचार्यो । घर बनाउने सबै मजदुरहरू त्यहीँ रहन्थे । तर यो निकै नराम्रो सुकुम्बासी टोल थियो । सबैजसो रन्डीखाना त्यहीँ थिए । तपार्इं कुनै पनि नराम्रो कुराका बारे सोच्नुस्, त्यहाँ मौजुद थियो । यसलाई एसियाको सबैभन्दा ठूलो सुकुम्बासी टोल भनिन्थ्यो ।

धारावीलाई पनि बम्बईको ठुलो सुकुम्बासी टोल भनिन्छ तर कमाठिपुरा त त्योभन्दा पनि निकृष्ट थियो । धारावीमा झुप्राहरूको सङ्ख्या धेरै छ तर त्यहाँ– वेश्या, अफिम, गाँजा, चरस सबै पाइन्थ्यो । यदि कसैले आफ्नो जीवन बर्बाद गर्ने हो भने ऊ यहाँ आए पुग्ने थियो । मैले पहिलो कक्षादेखि सिभिल इन्जिनियरसम्मको आफ्नो अध्ययन त्यहीँ बसेर सकेको हो ।
 
पढेँ 
मैले टोलका अरू केटाहरूलाई नियालिरहेको थिएँ, जसले घरको खर्च चलाउन काम गर्नेगर्थे । कहिलेकाहीँ घरमा खाने कुरा नहुँदा म पनि काममा जाऊँ कि क्या हो भन्ने भाव आउँथ्यो । एक दिन म आफ्नै अडानमा पराजित हुन लागेको थिएँ कि मेरो काँधमा कसैले हात राखेको महशुस गरेँ ।

पछाडि आमा उभिनुभएको थियो । उहाँले भन्नुभयो– ‘मलाई थाहा छ, तँ कहाँ जाने विचार गर्दैछस् । केही केटाहरूसँग कुरा गर्दै थिइस । तैले दिनमा दुई–तीन सय कमाउने बारे सोच्दैछस् । तर तैले कमाएको दुई–तीन सयले यो घरको गरिबी मेट्न सक्दैन । त्यसपछि त पुरै जीवनभर त्यही दुई–तीन सय कमाएर बस्छस् । यदि तँैले यो घरको गरिबी मेट्न चाहन्छस् भने तैले पढ्नुपर्ने हुन्छ ।  

जसै आमाले मलाई पढ भन्नुभयो, त्यो कुरा मेरो टाउकोमा बज्रियो र गिदी हुँदै मेरो नसा–नसामा गएर मिसियो । त्यो कुरा म आज पनि महशुस गर्न सक्छु । मेरो पूरै जिउ काम्न थाल्यो । त्यसपछि मैले निर्णय गरेँ मैले मेरी आमालाई कहिल्यै पनि धोका दिन्न । मैले पढ्न सुरु गरेँ । हामीसँग दुइटा कोठासमेत थिएन । गणितमा निकै धेरै जोड घटाउ गर्नुपर्ने हुन्थ्यो । मसँग हिसाब किताब गर्न कागजसमेत हुँदैनथ्यो । त्यसैले मैले चक किनेर ल्याएर भुइँमा लेख्दै मेट्दै गरेर रातभरि पढ्थेँ । आमा रातभरि एउटा कुनोमा बसेर मैले पढ्दै गरेको हेर्नुहुन्थ्यो । फेरि उहाँ मलाई एकाबिहानै ब्युझ्याएर अब पढ भन्नु हुन्थ्यो ।
 
कोनी हाम– पढ्नुपर्छ भन्ने यस्तो जबरजस्त चेतना उहाँमा कसरी आयो ?
कादर खान–
मलाई थाहा छैन । मेरा लागि उहाँ भगवान हो । मेरीजस्ती आमा सबै छोराहरूले पाऊन् भन्ने कामना गर्छु । उहाँले मलाई जीवनमा सबै कुरा दिनुभयो । मेरो भनाइको आशय भौतिक कुराहरूसँग होइन, आजसम्म– म जे बन्न सकेँ, त्यो मेरी आमा र बुबाका कारण सम्भव भएको हो । मेरा बुबा निकै कमजोर मान्छे हुनुहुन्थ्यो । निकै गरिब हुनुहुन्थ्यो तर निकै पढेको । उहाँलाई दश प्रकारको फारसी र आठ प्रकारको अरबी भाषाको ज्ञान थियो ।
 
कोनी हाम– उहाँले यो सबै कुरा कसरी सिक्नु भयो त ?
कादर खान–
 काबुलमा उहाँले खोई कुन चाहिँ हो एउटा विद्यालयमा काम गर्नु हुन्थ्यो । उहाँको हस्तलिपि निकै राम्रो थियो । तर पढेलेखेका मान्छेहरू पैसा कमाउन सक्दैनन् । जब उहाँ बम्बई आउनुभयो, त्यसपछि यहाँको एउटा मस्जिदमा मौलबी बन्नुभयो । त्यहाँ उहाँले अरूलाई अरबी भाषा सिकाउनु हुन्थ्यो । तर त्यसको साटो उहाँलाई त्यहाँ केही पनि हासिल हुँदैन्थ्यो । सिवाय पाँच–छ सय मात्र महिनाको ।
 
सौता बुबा र म
गरिबीका कारण मेरो आमा–बुबाको सम्बन्ध अगाडि बढ्न सकेन । बुबा घरको आवश्यकता पूर्ति गर्न सक्नु हुँदैनथ्यो । घरमा सधैँ एउटा तनावको वातावरण रही रहन्थ्यो । त्यसपछि उहाँहरू छुट्टिनुभयो । म जम्मा चार वर्षको थिएँ, जति बेला आमा–बुबाको तलाक भयो । त्यसपछि मेरो हजुरबुबा मामासँग आउनुभयो र उहाँले भन्नु भयो– एउटी जवान महिला यस्तो घिनलाग्दो ठाउँमा बस्ने, त्यो पनि एक्लै ? तिमीले अब बिहे गर्नुपर्ने हुन्छ ।’ त्यसपछि उहाँले मेरी आमाको दोस्रो विवाह गराई दिनुभयो । त्यसपछि आठ वर्षको उमेरदेखि मैले आफ्नो जीवनमा मेरी आमाका दुइटा पतिलाई बेहोर्न थालेँ– एउटा वास्तविक बुबा र अर्को सौता ।
आमा–बुबा छुट्टिसक्नुभएको थियो तर दुवैको मनमा एकअर्काका लागि सहानुभूति थियो । सबैलाई थाहा थियो, उनीहरू गरिबीका कारण छुट्टिएका हुन् । परिस्थिति उनीहरूलाई सँगै देख्न चाहँदैनथ्यो । नभए उनीहरू छुट्टिनुपर्ने कुनै कारण थिएन । मेरो मनमा आमाका लागि जति धेरै माया थियो त्यति नै मेरा सौता बुबाका लागि मेरो मनमा नफरत थियो । उनी कुनै नाटक अथवा स्क्रिनप्लेमा खेलिने सौता बुबा जस्ता थिए ।
 
एक पटक के भयो भने मैले ‘लोकल ट्रेन’ भन्ने नाटकबाट राज्यस्तरीय प्रतियोगितामा पुगेर बेस्टप्ले, बेस्ट राइटर र बेस्ट एक्टरको पुरस्कार लिएर आएँ । म यी सबै कुरा आमालाई देखाउन चाहन्थेँ । त्यस दिन मेरा सौता बा मसँग कुरा गर्ने मुडमा थिएनन् । उनले त्यो पुरस्कारको चाङ देख्ने वित्तिकै आगो भए र मलाई पिट्न थाले । उनले मलाई पट्दा पिट्दै निलो बनाइदिए । मलाई लगातार उनले लात्तिले, हातले, के–के पाउँथे त्यसैले पिटिरहेका थिए । पिट्दापिट्दै थाकेर उनले मलाई घरबाट निकालिदिए । उनी त्यति कठोर हृदयका मान्छे थिए । त्यसपछि म कहिलै पनि फर्केर घर गइन । म आफ्नो प्रिन्सिपलको घरको छेउमा एउटा खाटमा सुतेर जीवन जिउन थालेँ ।
 
कोनी हाम– त्यति बेला तपाईं कति वर्षको हुनुहुन्थ्यो ?
 

कादर खान– त्यति बेला म झण्डै २४ वर्षको थिएँ । त्यति हुँदा पनि म आमालाई भेट्न दिउँसो गइरहन्थे । आमा मलाई घर आउन भन्नुहुन्थ्यो तर मैले त्यो कुरा मान्न सकिनँ । मैले भनेँ– तपाईंलाई माया गर्छु, त्यसैले भेट्न आउँछु तर मेरो आत्मसम्मानले मलाई यहाँ बस्न दिन्न । म त्यो मान्छेबाट बेइज्जत हुन चाहन्न । जब उसले मेरो बेइज्जती गर्छ तब कुन्नि किन मलाई लाग्छ, त्यसले तपाईंको बेइज्जती गर्दैछ । 

कैयौँ वर्षसम्म यस्तै चलिरह्यो । फेरि मेरो बिहेको दिन पनि आयो । त्यो मान्छे काम पनि गथ्र्यो र राम्रो सिकर्मी थियो । यदि उसले चाहन्थ्यो भने राम्रो पैसा पनि कमाउन सक्थ्यो तर उसको सङ्गत निकै नराम्रो थियो । उसका साथीहरू उसलाई भट्टी पसल लिएर जान्थे । ऊ निकै रक्सी खान्थ्यो र आमालाई पिट्थ्यो । सबैलाई गाली गथ्र्याे । मलाई अझै सम्झना छ, जब म सानो थिएँ उसले मलाई– जा आफ्नो बाउसँग पैसा मागेर ले भन्थ्यो । म कहिले काहीँ बुबाको अघिल्तिर गएर उभिइरहन्थेँ । बुबाले पैसा लिन आएको हो भन्ने बुझेर मलाई दुई रुपियाँ दिनुहुन्थ्यो ।
 
त्यसबाट मैले अलिकति पिठो, दाल, तेल लिएर आउँथेँ । अनि आमाले खाना बनाएपछि हामीले खान पाउँथ्यौँ । हप्तामा हामी दुई–तीन दिन भोकै बस्थ्यौँ । यो जीवनमा मैले सबै कुरा भोगिसकेको छु । यी सबै कुराले मलाई विद्रोही बनाइदियो र मैले कुनै पनि साहित्य नपढी लेख्न थालेँ ।
मैले आमा र बुबाबाहेक कसैको पनि माया पाइन । भनेपछि मायाको त्यो ठाउँ खाली नै थियो । म त्यस्तो स्कुल र कलेजमा पढेँ जहाँ केटीहरू हुँदैनथे । त्यसले ममा उनीहरूप्रति कुनै प्रकारको अनुराग र स्नेह थिएन । कुनै माया प्रेम थिएन । सबैलाई जीवनमा आमा–बुबाको माया चाहिन्छ । साँचो कुरा के हो भने तपाईंलाई भगवानको पनि प्रेम चाहिन्छ । त्यो नै सबैभन्दा उच्च कोटीको माया हो । तर मान्छे उच्च कोटीको हुँदैन । मान्छेलाई माया चाहिन्छ तर खासमा माया कहीँ पनि हुँदैन । यिनै कुराहरूलाई मैले विद्रोहमा परिणत गरिदिएँ । म लेख्ने काम गर्थेँ । नाटकका निकै पेचिला पङ्क्तिहरू म त्यत्तिकै लेख्थेँ ।
 
कोनी हाम– तपाईंको सिनेमाको काम ?
 

कादर खान– मैले झण्डै २८ वर्षसम्म सिनेमाका लागि लेख्ने काम गरेँ । त्यसपछि म वाक्क भएँ । मूलतः मलाई बुबाले शिक्षक बनाउनुभएको थियो । मैले सबैभन्दा आनन्द पढाउँदा पाएँ । त्यसपछि ग्ल्यामरको संसारमा गएँ । त्यहाँ मैले राम्रो नाम र दाम कमाएँ । तर मेरो मनलाई आराम भने थिएन । मलाई के लागिरहन्थ्यो भने कतै मेरा विद्यार्थीले मलाई कुरिरहेका होलान । त्यसपछि जब मलाई लाग्यो कि नयाँ पिढीले बलिउडमा कब्जा गरिरहेको छ, भन्नुको अर्थ नयाँ नयाँ केटाहरू, जो मेरो निर्देशकको असिस्टेन्टको पनि तल–तल काम गर्थे, उनीहरू डाइरेक्टर र हिरो बनिरहेका छन् ।
 
त्यसले के दर्शाउँथ्यो भने बलिउडमा एउटा ‘जेनेरेसन ग्याप’ भइरहेको थियो । विचार र भावनाहरूमा एउटा दूरी पैदा भइरहेको थियो । मैले एक दुई जनासँग काम त गरे तर त्यसलाई निरन्तरता दिन सकिनँ । त्यसपछि मैले विस्तारै काम गर्न बन्द गरिदिएँ । यसरी म सिनेमा उद्योगबाट बाहिर आएँ । मेरो बेलाका ७०–८० प्रतिशत निर्देशक र एक्टर गइसकेका थिए र उनीहरूसँग सधैँ कुरा गर्नु गारो भइरहेको थियो । उनीहरूका विचारहरू सबै निर्यातित छन् । म त यहीँको भुइँ मान्छे हो । म वास्तवमा कमाठिपुराकै मान्छे हुँ । जबसम्म मलाई त्यो कमाठिपुराकै माहौल उपलब्ध हुँदैन, म न त लेख्न सक्छु न अभिनय गर्न सक्छु ।

आजको यो नयाँ पुस्ता यसलाई कम्प्युटर साइन्स र विजनस म्यानेजमेन्टका बारे सबै कुरा थाहा छ । हाम्रो समयमा यी विषयहरू हुँदैनथे । उनीहरूको म्यानेजमेन्ट राम्रो छ । प्रविधि निकै अगाडिको छ तर साहित्यलाई उनीहरूले धेरै पछाडि छोडिसके । अहिले कुनै लेखक नै छैन । उनीहरू लेख्दै लेख्दैनन् । किनभने लेख्नुभन्दा अघि तपार्इंले जीवनका ती यावत पीडामय आगोका भट्टीहरू पार गर्नुपर्ने हुन्छ ।
 
कोनी हाम– भनेपछि तपाईंले के सोच्नु हुन्छ भने नयाँ पिढीसँग त्यति धेरै भोगेकै छैन कि उसले राम्रो लेख्न सकोस् ?
 

कादर खान–हेर्नुस्, यातनाको सघनता– यो पिढीका मान्छेहरू यातनालाई अर्कै केही नामले सम्बोधन गर्छन् । यदि एउटा केटोलाई एउटी केटीसँग प्रेम भइहाल्यो र उसले घण्टौँसम्म उसलाई कुरिरह्यो भने त्यो यातनालाई यिनीहरू ‘सफरिङ’ भन्छन् । होइन हजुर, यो ‘सफरिङ’ होइन । त्यो अरू केही नै हो र त्यो यस्तो कुरा हो जुन तपाईंको अचेतनमा जानुपर्ने हुन्छ । त्यसलाई त्यही नै लेखिनुपर्छ । त्यही रेकर्ड गरिनुपर्ने हुन्छ । त्यसपछि बल्ल तपाईंले जीवनको कुनै पनि समयमा आफैलाई रुवाउने मुडमा पाउन सक्नु हुन्छ ।

नरेश ज्ञवाली

२०७४ पौष १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत