राजनीति

सबैका ‘प्यारा’ उपेन्द्र अघि–अघि, राजपा पछि–पछि !

काठमाडौ–जनआन्दोलन–२ र मधेश आन्दोलन–१ केही दिनको अगाडि–पछाडि भएको हो । यी दुई आन्दोलनबाट देशमा राजनीतिक रुपमा धेरै परिवर्तन भयो ।
सिङ्गो देशले ठूलो फड्को मार्यो ।

जनआन्दोलनबाट चम्किएका धेरै नेता नेता राजनीतिको भीडमै बिलाए ।

तर, मधेश आन्दोलनबाट चम्किएका एकजना पात्र अझै ‘हट पर्सन’ कै रुपमा छन् ।

यी ‘हट पर्सन’ हुन् उपेन्द्र यादव  ।

हरेक एक दशकमा पात्र परिवर्तन, व्यक्ति परिवर्तन यहाँसम्म कि ‘सिस्टमै’ नै परिवर्तन हुने गरेको इतिहास छ ।

तर, नेपाली राजनीति र मधेश आन्दोलनका नेतृत्वकर्ता उपेन्द्र एक एउटा यस्तो पात्र जन्मिए, जो जहिले पनि राजनीतिको केन्द्रविन्दुमा छन् । मधेश आन्दोलनदेखि अहिलेसम्म मधेशको धेरै जसो राजनीतिक मुद्दा आफ्नै पकडमा राखेका छन् ।


 
अहिले उनीबिना राजनीति अगाडि नबढ्ने जस्तो देखिन थालेको छ ।
 
तीन ठूला दल एमाले, काँग्रेस र माओवादी जसलाई पनि ‘उपेन्द्र  नै चाहिने’ राजनीतिक शक्ति सन्तुलन देखिन थालेको छ । अर्थात तीनवटै ठूला पार्टीको आवश्यकता बनेका छन् उपेन्द्र  ।
 
यतिसम्म कि यस्तै राजनीतिक खिचातानी भइरह्यो भने उपेन्द्र प्रधानमन्त्री बन्न पनि सक्छन् भनेर उनी निकटकाहरुले अंकगणित खोज्न थालेका छन् । उनीहरुको भनाई ‘राजनीति सम्भावनाको खेल हो’ भने भन्ने छ ।
 
यदि बामगठबन्धनको सरकार बनेन भने अरु विकल्पको खोजि हुन सक्छ । यहीँ बेला सत्ताका ‘किङ मेकर’ बन्न सक्छन् उपेन्द्र ।
 
जस्तो कि, माओवादीविना सरकार बनाउनुपर्र्ने अबस्था आए ठूलो दल एमालेका लागि उपेन्द्र को साथ चाहिन्छ ।
 
माओवादी केन्द्रले पनि एमालेसँग सहकार्य नभए उपेन्द्र  सहयोग लिएर नयाँ गठबन्धनको खेल बनाउन सक्छ ।


यहाँसम्म कि माओवादी केन्द्रसँग सरकार बनाउन काँग्रेसलाई पनि उपेन्द्र को साथ चाहिने हुन्छ ।
 
यसैले शक्ति बाँडफाँडमा कुरा नमिलेर वाम गठबन्धन भत्कियो भने सत्ताका ‘किङ्ग मेकर’ बन्ने अवस्थामा छन् उपेन्द्र  ।
 
उनले दुई नम्बर प्रदेशमा आफ्नै दलको नेतृत्वमा सरकार बनाउने हैसियत बनाईसकेका छन् । र, केन्द्रमा पनि केन्द्रविन्दुमै छन् ।  
 
२०६३÷०६४ मा मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्दले्र पहिलो सविधानसभामा जबर्जस्त रुपमा आफ्नो उपस्थिति देखाए । उनले प्राप्त गरेको संसदको अंकगणित सबै दलका लागि अनिवार्य बनयो, सरकार गठनका लागि ।
 
पहिलो मधेश आन्दोलन सकाएर आएपछि शरतसिंह भण्डारी, विजयकुमार गच्छदार, जेपी गुप्ता जस्ता राजनीतिका धुरन्धर खेलाडीलाई उनले आफ्नो नेतृत्वमा पार्टीमा भित्र्याए । तर, उनीहरु दोस्रो सविधानसभा आउँदासम्म कोही पनि टिकेनन् । तीनै जनाले अलग–अलग पार्टी बनाएर निस्किए ।
 
अहिले त्यसमध्ये गच्छदार काँग्रेसमा फर्केका छन् । जेपी गुप्ता राजनीतिकको निस्कृय जीवन विताइरहेका छन् । अर्का नेता शरतसिंह भण्डारी राजपा नेपालमा सामेल भएका छन् ।
 
त्यही टुटफुटको नतिजा दोस्रो सविधानसभामा उपेन्द्र ले नेतृत्व गरेको फोरम नेपाल कमजोर भएर आयो । पार्टी कमजोर भएपनि उनको मनोबल कहिले कमजोर भएन । उनी संगठन बनाउन तिर लागिरहे ।
 
दोस्रो संविधानसभामा दुईजना प्रत्यक्ष र आठजना समानुपातिक गरि १० जना सांसद लिएर पनि उनी नेपाली राजनीतिको चर्चामै रहे । चाहे त्यो भारतीय हस्ताक्षेपको विरोध गरेर होस्, या मधेश आन्दोलनको नयाँ–नयाँ योजना बनाएर होस् ।
 
एमालेबाट अलग भएका अशोक राईको पार्टी संघीय समाजवादी नेपाल पार्टीसँग एकीकरण गरेर आदिवासी जनजातिलाई जोड्ने कामले पनि गरे ।  
 
छ महिनासम्म चलेको मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र को जोडबलमा राजधानी केन्द्रीत आन्दोलन पनि भएको थियो । त्यो पनि चर्चाको विषय नै बन्यो, त्यतिबेला ।
डेढ महिनासम्म टुँडिखेलमा रिले अनसन चलेको थियो । उनले आफ्नो नेतृत्वमा ३० दलीय लोकतान्त्रिक गठबन्धन बनाएका थिए, जसमा मधेशी मोर्चासहित आदिवासी–जनजातिका आधिकांश पार्टी र संस्था सहभागी थिए ।

उपेन्द्र ले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणको पहल शुरु गरेकै बेला मधेशी मोर्चामा रहेका छवटा दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भयो ।  राजपा नेपाल गठन गरेपछि उपेन्द्र लाई मधेशी मोर्चा र लोकतान्त्रिक गठबन्धनबाट पनि निष्काशन गरियो ।
 
तैपनि, उपेन्द्र  अघि–अघि र राजपा नेपाल पछि–पछि हिडिरहेका थिए ।
 
राजपा नेपाल आन्दोलनमा रहेका बेला उपेन्द्र  स्थानीय तहको चुनावमा भाग लिए । त्यसबेला राजपा नेपालले त्यसको निकै आलोचना गर्यो । अलोचनाका कारण दोस्रो चरणको स्थानीय चुनावमा फोरम नेपालको क्षति पनि भयो ।

तेस्रो चरणको स्थानीय तहको चुनाव दुई नम्बर प्रदेशमा मात्र भयो । जसमा फोरम नेपालसहित राजपा नेपाल पनि भाग लियो । यो चुनावमा फोरम नेपाल सबभन्दा ठूलो पार्टी भएर आयो । त्यसमा पनि उपेन्द्र को निकै चर्चा भयो । मिडियाले त ‘कम ब्याक उपेन्द्र’ भनि समाचार लेखे ।
 
उपेन्द्र को फोरम नेपालले प्रदेशसभामा चौथो र प्रतिनिधिसभामा पाँचौ स्थान कायम गर्यो ।
 
प्रतिनिधिसभामा फोरम नेपालले समानुपातिकसहित १६ सीट ल्याएको छ भने राजपा नेपालले समानुपातिकसहित १७ सीट ल्याएको छ । एक सीटले राजपा नेपाल अगाडि छ ।
 
राजपा नेपाल एक सीटले अगाडि भएपनि त्यसका नेताहरु चर्चामा छैनन् । राजपालाई ठूला पार्टीले धेरै महत्व पनि दिएका छैनन् ।

करिब दुई हप्तादेखि महन्थ ठाकुर राजधानीमा छन् । तर, कुनै नेताले छलफलका लागि बोलाएका छैनन् । तर उपेन्द्र लाई एमालेका अध्यक्ष ओलीले मधेशमा विजय जुलुसमा सहभागी हुँदाहुँदै फोन गरेर काठमाडौं बोलाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि उपेन्द्र सँग छलफल गरिसकेका छन् । 

दुवैजनाले उपेन्द्र सँग आआफ्नो अनुकुल सहयोग लिनका लागि वार्ता र छलफल गरिसकेको छ ।

यहाँसम्म कि राष्ट्रपति विद्या भण्डारीले पनि राजपा नेपालभन्दा पहिले उपेन्द्र को पार्टीसँग राष्ट्रियसभाको अध्यादेश बारे छलफल गरिन् ।
 
केन्द्रीय राजनीतिमा मधेशले के गर्छ त्यो उपेन्द्र माथि निर्भर छ । राजपा नेपालले पनि उपेन्द्र ले जे गर्छ त्यही मानेर जाने अवस्थामा छ । जो पहिलादेखि हुँदै आएको हो ।
 
पहिला पनि राष्ट्रिय राजनीतिमा उपेन्द्र ले गर्ने निर्णयलाई राजपा नेपालका नेताहरु मान्ने गर्थे । चाहे त्यो सुशिल कोइरालाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरा होस् या प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा अथवा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरा किन नहोस्, उपेन्द्र  नै निर्णायक हुन्थे ।
 
राष्ट्रिय राजनीतिमा कुनै अप्ठ्यारो अवस्था आउँदा उपेन्द्र  के गर्छन् भन्ने चासो सवैको हुन्छ । ठूला दलका नेतादेखि मिडियासम्म उपेन्द्र को निर्णयलाई कुरेर बसेको हुन्छन् । राजपा नेपाल त झन उपेन्द्र को निर्णयलाई पर्खेर बसेका हुन्छ ।


 
उपेन्द्र को अवस्था स्पष्ट भएपछि मात्र राजपा नेपालले आफ्नो निर्णय लिने गरेको धेरै उदाहरण छन् ।
 
अहिले पनि उपेन्द्र ले लिने निर्णय राजपा नेपालले स्वीकार गरेर जाने अवस्था सृजना भएको छ । राजपा नेपालका एक नेताले भने, ‘फोरम नेपालले जुन पार्टीसँग केन्द्रमा सरकार बनाउने निर्णय गर्छ, त्यो नै राजपा नेपालको निर्णय हुन्छ ।’
 
उपेन्द्र ले एमालेका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका नेता बाबुराम भट्टराईसँग छलफल गर्नुअघि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । सो छलफलमा महन्थ ठाकुरले दुई नम्बर प्रदेशमा फोरमको नेतृत्वमा सरकार गठनको तयारी गर्न भनिसकेका छन् । 

२०७४ पौष १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत