स्वास्थ्य/जीवनशैली

गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने सरकारको निर्णय

काठमाडौं,पुस १३ -सरकारले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई जीविकोपार्जनको लागि मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो। अब मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता पाउनेछन् ।

क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउनेछन् । सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १ सय ४२ जनाले निःशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निःशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । त्यस्तै, ८ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन् ।

२०७४ पौष १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत