खेलकुद

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डी’ओर अवार्ड

एजेन्सी । रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यो बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।  बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले पाँचौ पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । 

रोनाल्डोले फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड लगातार दोस्रो पटक जितेका हुन् । बिहीबार राति पेरिसमा भएको कार्यक्रमका बीच रोनाल्डोलाई विजेता घोषित गरिएको थियो । अवार्ड ट्रफी बोकेर बसेका रोनाल्डोलाई एक विशेष भिडियोबाट सार्वजनिक गरिएको थियो । विश्वका १७३ जना खेल पत्रकारहरुको मतको आधारमा रोनाल्डोले यो अवार्ड पाएका हुन् । भोटिङमा मेस्सी दोस्रो र पेरिस सेन्ट जर्मेनका नेयमार तेस्रो भए । 

लगातार दोस्रो बर्ष यो अवार्ड जितपछि रोनाल्डोले आफ्नो करियरको लागि यो उपाधि महत्वपूर्ण रहने बताए ।  ३२ बर्षे उनले भने, “ यो अवाड जित्दा म एकदमै खुशी छु ।  यो त्यस्तो चिज हो, जुन म प्रत्येक वर्ष जित्न चाहन्छु । म रियल मड्रिडका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो मेरो करिअरको लागि निकै ठुलो अवसर हो ।”

योसँगै रोनाल्डोले यो अवार्डमा मेस्सीसँग बराबर गरेका छन् । यो अवार्ड मेस्सीले पनि ५ पटक नै जितेका छन् । गत सिजन रियल मड्रिडले ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए  । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग सहकार्य गरेर प्रदान गरिदै आएको बालोन डी’ओर गत बर्षबाट भने म्यागजिन आफैले प्रदान गर्दै आएको छ । यस्तै फिफाले पनि छुट्टै बर्ष खेलाडी अवार्ड दिँदै आएको छ । यो बर्ष फिफाले दिने बर्ष खेलाडीको अवार्ड पनि रोनाल्डोले जितिसकेका छन् ।

२०७४ मंसिर २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत