राजनीति

दोश्रो चरणको निर्वाचनः कहाँ के भयो?

२१ मंसिर , दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन जारी छ। ४५ जिल्लामा भइरहेको निर्वाचनमा हालसम्म एकाध ठाउँमा झडप र बम विस्फोट भएका छन्। अन्यत्र मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिइरहेका छन्।

पाल्पामा शव बोकेर मलामी मतदानस्थल पुगे
पाल्पाको रिब्दीकोट गाउँपालिका हर्केडाँडामा एक महिलाको मृत्यु भएपछि मलामी शव बोकेरै मतदानस्थल पुगे। स्थानीय १०१ वर्षीया लीलाकुमारी गैरेको निधन भएपछि मलामी शव बोकेरै मतदानस्थल पुगेका थिए। मृतकका छोरा युद्धराज गैरेसहित १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका थिए।

मतदान गर्ने पाका नागरिकको चर्चा 
महोत्तरीमा १०१ वर्षीय वृद्ध दीपबहादुर थापाले मतदान गरेका छन्। उनले बर्दिवासस्थित दुधेश्वर प्रावि मतदान केन्द्रमा पुगेर भोट हालेका हुन्।

यस्तै ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि मतदान गरे। श्रीमती र छोरासहित लैनचौरस्थित कन्या माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर घिमिरेले मतदान गरेका थिए।

मतदान गरेर फर्किँदै गर्दा मृत्यु
उता पाल्पामा भने मतदान गरेर फर्किँदै गरेका ८० वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिकाका हुमनाथ न्यौपाने रहेका छन्। डोटीमा पनि मतदान गर्न जाँदै गरेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ। खापरमाडौं आधारभूत विद्यालय मतदान केन्द्रमा जाँदै गर्दा ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको हो।

सिके राउत पक्राउ, राउतको गाउँमा शून्य मतदान
निर्वाचन वहिष्कार गरेका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्‍यो। टेलिभिजनबाट निर्वाचन बहिष्कार गर्न अपिल गरेका उनलाई प्रहरीले डेराबाट पक्राउ गरेको थियो। राउत स्वतन्त्र मधेसको मागसहित पृथकतावादी गतिबिधिमा संलग्न रहँदै आएका थिए।

राउतको गाउँस्थित महदेवा मतदानस्थलमा कोही पनि मतदाताले मतदान गरेनन्। महदेवा राउतको गाउँ हो।

किरियापुत्रीले गरे मतदान
दाङमा किरियापुत्रीले मतदान गरेका छन्। घोराही उपमहानगरपालिका–१ को जनता आधारभूत विद्यालय मतदान केन्द्रबाट एकैघरका ५ जनाले मतदान गरे। ७ दिनअघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु जेरबहादुर पुन, मुक्ति पुन, तिलबहादुर पुन तथा बुहारीहरु गोमा पुन र यमी पुनले मतदान गरेका हुन्।

यस्तै आमाको काजकिरिया बसेका नयाँ शक्ति पार्टी नेपालबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सौगात पोखरेलले पनि मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

बम विस्फोट र झडप
सर्लाहीमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाइफायर गरेको थियो। जिल्लाको २ नम्बर क्षेत्रको कौडेना गाउँपालिका–२ जनता माविमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो।

अछामको साँफेबगरमा नगरपालिकास्थित बेतालमाडौं मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका एजेण्टबीच झडप हुँदा १ जना घाइते भए।

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका थलथले ठाकुरदेवि मावि मतदान केन्द्र नजिक बम विस्फोट भएको छ। विष्फोटबाट कुनैपनि मानवीय क्षति भएन।

उता सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा पनि बम विष्फोट भएको छ। विष्फोटपछि केहिबेर मतदान प्रकृया स्थगित गरिएको थियो। केहिबेर पछि नै पुनः मतदान प्रकृया सुचारु गरिएको थियो।

यस्तै निर्वाचन सुरु भइसकेपछि राजधानीको नैकापमा पनि बम विस्फोट भएको थियो। विस्फोटबाट कुनैपनि मानवीय क्षति भने भएन।

२०७४ मंसिर २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत