पत्रपत्रिकाबाट

चिम्पान्जी तस्करीमा संलग्न दुई कर्मचारी पक्राउ

चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार कार्यालय र विमानस्थलस्थित क्वारेन्टाइन कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको हो ।

भन्सार कार्यालयका नासु चुणामणि दाहाल र क्वारेन्टाइन कार्यालयका भेटनरी चिकित्सक धीरेन्द्र साहलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । उनीहरूविरुद्ध संगठित अपराध मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । दाहाल शुक्रबार तथा साह बुधबार पक्राउ परेका हुन् । विमानस्थलबाट पटक–पटक भएको वन्यजन्तु तस्करीमा उनीहरूले सहयोग गरेको खुलेपछि पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए ।

तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयले एक महिनाअघि नै नासु दाहालसहित भन्सार अधिकृत आशुतोष राई र अर्का नासु लीला पनेरूलाई निलम्बन गरिसकेको थियो । सिआइबीले विमानस्थलबाटै पास भएका दुईवटा चिम्पान्जी, आठवटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो ।

तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन र सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई सिआइबीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले भन्सार र क्वारेन्टाइनका कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गर्दै आएको खुलेको हो । नासु दाहाललाई भन्सार एजेन्ट राजकुमार तिवारीले ५० हजार रुपैयाँ दिएर चिम्पान्जी पास गराएका थिए । क्वारेन्टाइनका कर्मचारी साहले भने कति पैसा लिएका थिए खुलेको छैन,आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०७४ मंसिर ६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत