पत्रपत्रिकाबाट

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी

प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।सरकारले प्रदेश प्रमुख, मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने सातवटा मन्त्रालयमा आवश्यक पर्ने कर्मचारीको विस्तृत विवरणसहितको कार्यपालिकीय र प्रशासनिक संरचना तयार पारेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान्य प्रशासन मन्त्रालयको समन्वयमा तयार पारेको संरचनाअनुसार प्रदेश मुख्यमन्त्री, प्रदेश प्रमुख तथा विभिन्न मन्त्रालयमा अन्तरिम व्यवस्थापनका लागि कम्तीमा पाँच हजार कर्मचारी आवश्यक पर्ने देखिएको छ। कर्मचारी केन्द्रीय निकाय (सीपीए) को रूपमा रहेको सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशमा पठाइने कर्मचारीको व्यवस्थापन सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाएको छ।

सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।
सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजालले प्रदेशमा रहने मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रालयका लागि कम्तीमा पाँच हजार कर्मचारी आवश्यक पर्ने बताए। त्यसअनुसार सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाइने सम्बन्धमा आवश्यक गृहकार्य थालेको सहसचिव रिजालले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका संघीयता हेर्ने सचिव खगराज बरालले प्रदेशको निर्वाचन भएर जनप्रतिनिधि आउनुअगावै अन्तरिम व्यवस्थापनका लागि कर्मचारी पठाइने बताए।

सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा सरकारद्वारा गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले यसअघि नै प्रत्येक प्रदेशमा प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालय राख्न प्रस्ताव गरेको थियो। त्यसअनुसार सातवटा प्रदेशमा प्रदेश प्रमुखको सचिवालयमा अन्तरिम व्यवस्थापनका लागि दुई सय कर्मचारी आवश्यक पर्नेछ भने सातवटै प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा पाँच सयभन्दा बढी कर्मचारी आवश्यक पर्नेछ। यसैगरी, सातवटै प्रदेशमा रहने ४२ वटा मन्त्रालयका लागि चार हजार कर्मचारी आवश्यक पर्ने सरकारी अनुमान छ।
अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले दिएको प्रस्तावका आधारमा सरकारले कर्मचारीको दरबन्दी तयार पारेको हो। प्रदेश प्रमुखको कार्यालयमा प्रशासनिक प्रमुखको रूपमा सरकारको सचिवस्तरको कर्मचारी पठाइनेछ भने सचिव, सहसचिव, उपसचिवसहित बढीमा २५ जनासम्म कर्मचारी रहनेछन्। यसैगरी, प्रदेश प्रमुखको निजी सचिवालयतर्फ प्रमुख स्वकीय सचिवको नेतृत्वमा १२ कर्मचारी रहनेछन्, आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

२०७४ मंसिर ६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत