कला

६० लागे वरिष्ठ कलाकार हरिबंश आचार्य,यस्तो छ जन्मदिनको तयारी

काठमाडौं – चर्चित अभिनेता हरिबंश आचार्य ६० वर्षमा प्रवेश गरेका छन् । आचार्यले आफ्नो जन्मदिन आफ्नै लगानीमा बनिरहेको चलचित्र ‘सत्रु गते’ को सुटिङमा नै मनाउने तयारी थालेका छन् । दिउँसो १ बजे रेडियो अडियोले सुटिङ स्पटमै केक काट्ने योजना बनाएको छ । अभिनयमा सक्रिय आचार्य पछिल्लो समय लेखकको रुपमा समेत चिनिन्छन् ।

आचार्य वि.सं. २०१४ कात्तिक २७ गते काठमाडौंमा जन्मिएका हुन् । उनका पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो। उनी अहिलेका सबैभन्दा सफल हाँस्य कलाकारहरूमध्येमा पर्छन्। आचार्य अभिनय तथा गायनमा समेत कुशल छन्। उनी ‘मह जोडी’ मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्। उनको विवाह बिक्रम संवत २०४०मा मीरा आचार्य सँग विवाह गरे। उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। उनकी जेठी श्रीमती मीरा आचार्य २०११ अप्रिल २०मा ह्रृदयघातबाट मृत्यु भयो। उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन। उनले वि।सं। २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरेका छन् ।

आचार्यले २०३४ मा गाइजात्रा महोत्सवमा भाग लिए, जसको कारण उनको चर्चा ह्वात्तै बढ्यो । सोही कारण मदनकृष्ण श्रेष्ठसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरुले आफुहरुको जोडीलाई ‘मह जोडी’का रुपमा स्थापित गरे । उनले चलचित्र पनि खेलेका छन्। ‘लोभिपापी’, ‘फिलिम’, ‘राजामति’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नी बद्री’ उनका लोकप्रिय चलचित्र हुन् । उनका ‘लाल पुर्जा’, ‘पन्ध्र गते’, ‘भकुण्डे भूत’, ‘हरि बहादुर र मदन बहादुर’, ‘५०र५०’, ‘दशैंको च्याङ्ग्रा’ लगायतका हाँस्य सिरिज निकै चर्चित भए ।

उनले ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ नामका उपन्यास समेत लेखेका छन् । श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेको भन्दै हरिवंश र मदनकृष्णलाई २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो।

२०७४ कार्तिक २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत