ग्लोबल

बेइजिङमा ट्रम्पलाई ‘स्टेट भिजिट प्लस’ सम्मान, ६८ वर्षपछि फर्बिडेन सिटीमा डिनर

तीन दिने भ्रमणका लागि बेइजिङ आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले भव्य स्वागत गरेको छ। चीनमा उनको भ्रमणलाई राजकीय भ्रमणभन्दा माथिल्लो मान्यता (स्टेट भिजिट प्लस) दिइएको छ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई स्टेट काउन्सिलर याङ जेइचीले बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

त्यसपछि ट्रम्प दम्पत्तीलाई राष्ट्रपति सी र प्रथम महिला पेङ लिउआनले फर्बिडेन सिटीको प्यालेस म्युजियममा स्वागत गरेका थिए। त्यहाँ चिया पिउँदै गर्दा राष्ट्रपति सीले आफूलाई अमेरिका भ्रमणका क्रममा ट्रम्पले गरेको न्यानो स्वागतका लागि धन्यवाद दिएका थिए।

 

 

ट्रम्पले पनि सीलाई आफ्नी नातिनी अराबेलाले चिनियाँ भाषामा गाएको गीत र कविता वाचन गरेको भिडियो ट्याबलेटमा देखाएको सिन्ह्वाले जनाएको छ। सीले सो भिडियो हेरेपछि अराबेलाको मन्दारिन भाषामाथिको पकडको प्रशंसा गरेको र उनले ए प्लस नम्बर पाउने बताएको पनि सिन्ह्वाले जनाएको छ।

त्यसपछि दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिहरुले तीन ओटा पुराना दरबारको भ्रमण गर्नुका साथै एक ओपेरा पनि हेरेका छन्।

चीनले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको तुलनामा ट्रम्पलाई बढी महत्व दिँदै स्वागत गरेको छ। बुधबार नै ट्रम्पको सम्मानमा फर्बिडेन सिटीभित्रै डिनर आयोजना हुँदैछ। १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि विदेशी नेतालाई फर्बिडेन सिटीभित्र पहिलो पटक यसरी डिनर दिन लागिएको बताइएको छ।

 

 

ट्रम्पको भ्रमणलाई चीनले नीतिगत कुराहरुमा भन्दा व्यक्तिगत सम्बन्ध बिस्तार गर्ने अवसरको रुपमा लिएको छ। उनलाई दिइएको ‘स्टेट भिजिट प्लस’ को सम्मानले सी र ट्रम्पबीच अझ बढी अन्तक्र्रियाको मौका जुराउने बताइएको छ।

व्यापार र उत्तर कोरिया मामिला ट्रम्पको चीन भ्रमणको मुख्य एजेन्डा बन्ने विश्लेषण चलिरहँदा दुई शक्तिशाली नेताबीचको सम्बन्धले आगामी दिनमा यी मुद्दाहरुमा पनि खास प्रभाव पार्न सक्ने बताइन्छ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटकपटक चीनमाथि गम्भीर आरोपहरु लगाउँदै आएका थिए। उनले चीनसँगको व्यापार निष्पक्ष नभएको बताएका थिए।

 

 

तर विश्वव्यापी रुपमा चीनको बढ्दो भूमिकाका बीच ट्रम्पले चीनबारे आफ्ना उग्र टिप्पणीहरु कम गर्दै लगेका छन्। उनले उत्तर कोरियाको सवालमा चीनले निभाएको भूमिकाको प्रशंसा गरेका छन् र सीलाई आफ्नो मित्र बताएका छन्।

बुधबार दिउँसो नै चिनियाँ तथा अमेरिकी पक्षबीच करिब ९ अर्ब डलरबराबरको सम्झौताहरु सम्पन्न भएका छन्। बायो साइन्स, उडान र उत्पादनलगायतका क्षेत्रमा विभिन्न १९ ओटा सम्झौता भएको छ।

बिहीबार ट्रम्पलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्ने कार्यक्रम छ। चीन भ्रमण सकेर ट्रम्प भियतनाम पुग्नेछन्। तर प्रथम महिला मेलानिया भने अमेरिका फर्किनेछिन्।

 

 

ट्रम्पको चीन भ्रमणका क्रममा चर्चा पाएको अर्को विषय हो, अमेरिकी राष्ट्रपतिको ट्विटर मोह। चीनमा ट्विटर ब्लक गरिएको छ। यद्यपि ट्रम्पले आफूले चाहेको कुरा ट्विट गर्ने एक ह्वाइट हाउस अधिकारीले जनाएका छन्।

 

 

२०७४ कार्तिक २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत