खेलकुद

बंगलादेशविरुद्धको अन्तिम खेलमा नेपालको शानदार जित

काठमाडौं,कार्तिक १९ – बंगलादेश यू १९ बिरुद्ध को अन्तिम खेल नेपाल यू-१९ ले छ विकेटले जितेको छ । यस जितका बाबजुत पनि नेपालले तीन म्याचको श्रृङखला २–१ ले गुमाउन पुगेको छ । २२६ रनको लक्ष पक्षाएको नेपालले ४६ दशमलब तीन ओभरमा आफ्नो चार विकेट गुमाएर जित निकालेको हो । नेपाललाई जित दिलाउने क्रममा अशिफ शेखे सर्वाधिक ९० रन बनाएका थिए । सैफ हसनको बलमा एलबिडब्लु आउट भएका अशिफले ८८ बलको सामना गरेर नौ चौका र तीन छक्का प्रहार गरे । अक्रमक पारी खेलेका अशिफले आफ्नो अर्धशतक मात्र ३५ बलमा पुरा गरेका थिए ।

आशिफसँग मिलेर पहिलो विकेटका लागि ३२ दशमलब एक ओभरमा १३९ रन जोडेका जितेन्द्र सिंहले पनि ४५ रनको योगदान दिए । उनले १०९ बलमा तीन चौका र एक छक्का हानेका थिए । त्यस्तै रोहित कुमार पौडेलले २५ र अनिल कुमार शाहले पनि १५ रन बनाउन सके । अविजित रहेका कप्तान दिपेन्द्र सिंह ऐरीले २७ र भिम सार्कीले १३ रन बनाए । आजको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अमिनुल स्लामको अर्धशतक तथा महमद रकिबको बिष्फोटक ब्याटिङमा बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय २५ रन बनाएको थियो ।

आफ्नो टोलीको लागि सर्वाधिक रन बनाएका अनिमुलले चौथो नम्बरमा ब्याटिङ गर्न आएर ८० रन बनाएका थिए । ८७ बल खेलेका अनिमुलले आठ चौका प्रहार गरेका थिए । त्यस्तै महमद रकिबले छ चौका र एक छक्का प्रहार गर्दै ३६ बलमा ३९ रनको योगदान दिएका थिए । नौ नम्बरमा ब्याटिङ गर्न आएका रोशिउल हकले पनि अबिजित रहँदै १७ बलमा २१ रन बनाएका थिए ।

बंगलादेशका अन्य ब्याट्सम्यानहरुमा सोजिब होसेन छ, पिनाक घोष २३, कप्तान सैफ हसन १७, अफिफ होसेन १८ रन बनाएर आउट भएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि शाहब आलमले सर्वाधिक तीन विकेट लिएका थिए भने अनिल कुमार शाहले दुई तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए भने एक विकेट दिपेन्द्रले रन आउट गराएका थिए । नेपालले पहिलो खेल तीन विकेटले गुमाएको थियो भने दोश्रो खेलमा १२३ रनको फराकिलो हार ब्यहोरेको थियो ।

२०७४ कार्तिक १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत