राजनीति

नुवाकोटमा कांग्रेस राजनीतिः महतलाई कारबाही गर्न सानेपामा उजुरी

असोज १, काठमाडौं– पार्टीको जनआधार बलियो हुँदाहुँदै व्यक्तिगत प्रतिसोध साँध्नका लागि आफूहलाई हराउने खेल खेलेको भन्दै नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतविरुद्ध उजुरी दर्ता भएको छ । 

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसबाट नुवाकोटका विभिन्न गाउँपालिका र वडाका उम्मेद्धारहरुले कारबाहीको मागसहित आइतबार पार्टी मुख्यालय सानेपामा सो उजुरी दर्ता गरेका हुन् ।

पार्टी सभापति र केन्द्रीय अनुशासन समिति संयोजकलाई सम्बोधन गर्दै सांसदसमेत रहेका महतलाई कारबाहीको माग गर्नेहरुमा लिखु गाउँपालिका वडा नं. ३ अध्यक्षका प्रत्यासी विनोद सेडाई, ककनी गाउँपालिका वडा नं. ३ अध्यक्षका प्रत्यासी सिताराम आचार्य, शिवपुरी गाउँपालिका वडा नं. ८ अध्यक्षका प्रत्यासी शिव प्रसाद रिजाल, ककनी गाउँपालिका वडा नं. ८ अध्यक्ष प्रत्यासी शंकर अधिकारी, लिखु गाउँपालिका वडा नं. ५ अध्यक्षका प्रत्यासी विश्वप्रकाश खतिवडा रहेका छन् ।

त्यसैगरी शिवपुरी गाउँपालिका वडा नं. ८ सदस्यका प्रत्यासी कृष्ण थपलिया र जयराम तामाङ लिखु ३ का सदस्यका प्रत्यासी प्रकाश कुँवर, लिखु ५ का वडा सदस्यका प्रत्यासी कल्पना आचार्य र कृष्ण बहादुर थापा मगर, ककनी ३ का वडा सदस्यका प्रत्यासी लक्ष्मी राई र गिता सुनार, लिखु ६ का वडा सदस्यका प्रत्यासी अनुजजंग थापा र ककनी १ का वडा अध्यक्षका प्रत्यासी मोहन कृष्ण श्रेष्ठलगायतले उजुरीपत्रमा हस्ताक्षर गरेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा आफूहरुलाई पराजित गराउन र पार्टीलाई क्षति पुर्याउने नियतले डा. महतको प्रत्यक्ष निर्देशनमा उत्तम पाठक, केशराम तामाङ, सुमन डंगोललगायतले असहयोग गरेको र विपक्षी पार्टीका उम्मेद्धारलाई मतदात गर्न लगाउने जस्ता हर्कत गरेको उनीहरुको आरोप छ । 

‘पार्टीका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको प्रत्यक्ष निर्देशनमा असहयोग गरेको र मतदाताहरुसँग विपक्षी पार्टीका उम्मेद्धारहरुलाई मत माग्न लगाउने जस्ता पार्टीद्रोही क्रियाकलाप गरे गराएको कारणबाट हामी निर्वाचन जित्नबाट बञ्चित भइ पराजित हुनुपरेको छ’ उजुरीपत्रमा लेखिएको छ‘त्यस्ता क्रियाकलाप गर्ने गराउनेमाथि उचित कारबाहीकोलागि माग गर्दछौं ।’

२०७४ आश्विन १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत