खेलकुद

सन्दीपको घातक बलिङ, अनिलको विस्फोटक ब्याटिङले थाइल्याण्डविरुद्ध नेपालको २ सय ५५ रनको शानदार जीत

काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ५५ रनको शानदार जीत हासिल गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड मात्र १० ओभरमा २६ रनमा सिमित बनेको हो ।

नेपाललाई जीत दिलाउन सन्दीप लामिछाने र अनिल कुमार साह नायक बने । अनिलले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तयार गर्न लामिछानेले घातक बलिङ गर्दे थाइल्याण्डको पारी सस्तोमा समेट्न योगदान दिए ।

लामिछाने ४ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ७ विकेट लिए । त्यस्तै, नन्दन यादव, किशोर महतो र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो ।

थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङको निम्तो दिएको थियो ।

नेपालका दुवै ओपनर मिलेर राम्रो शुरुवात दिएका थिए । महोमहद आसिफ शेख २१ रन बनाएर आउट हुनअघि उनीहरुले ८ ओभरमा ३४ रन बनाए ।

त्यसपछि अनिल कुमार शाह र ओपनर सन्दीप सुनार मिलेर नेपालको पारीलाई अघि बढाए । सुनार ५७ बलबाट ३२ रन बनाएर आउट भएपछि शाहले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर अर्धशतकीय साझेदारी गरे । 

उत्कृष्ट ब्याटिङ गरेका साह मात्र ९ रनले शतक बनाउनबाट चुके । उनले मात्र ७४ बलमा ६ चौका र ५ छक्काको मद्दतले ९१ रन बनाए ।

कप्तान ऐरीले २२ रनको योगदान दिए ।

साह आउट भएपछि प्रनित थापा मगरले नेपालको पारीलाई अघि बढाए । ५० रन बनाएर आउट हुनअघि उनले २८ रन बनाएका रोहित कुमार पौडेलसँग राम्रो साझेदारी गरे ।

थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ३ तथा पानास्क डेन्मालिडोइले २ विकेट लिएका थिए ।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

नेपाल र थाइल्याण्डसँगै भुटान र सिंगापुर समूह ए मा रहेका छन् भने समूह बीमा आयोजक मलेसिया, हङकङ, म्यानमार र चीन रहेका छन् ।

यो प्रतियोगिता एसीसी यू–१९ एसिया कपको छनौटको रुपमा पनि रहेको छ ।

२०७४ भाद्र २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत