मनोरञ्जन

नुवाकोटमा कवि आरएम डंगोलको एकल कविता वाचन सम्पन्न

कवि आरएम डंगोलको एकल कविता वाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ। साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता वाचन लिएर उपस्थित भएका हुन्।

विदुर –२ शेरामा जन्मिएका कवि तथा समालोचक डंगोल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन्। उनी प्रगतिशीले लेखक संघका केन्द्रीय महासचिव समेत हुन।

त्रिशूली वाङमय प्रतिष्ठान तथा प्रगतिशील लेखक संघ र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि डंगोलले ‘अन्तर’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’, ‘म माझी’, ‘फूलको कम्पन’, ‘जूनको कथा’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ शीर्षकलगायत दुई दर्जनभन्दा बढी नयाँ पुराना कविता वाचन गरेका थिए। 

त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद घिमिरेले वाचित कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए। उनले डंगोलका कविताले समसामयिक अवस्थाको चिन्तनदेखि मनको कुरालाई बोकेको र र डंगोलमा सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्कन सक्ने खुबी भएको बताए।

कार्यक्रममा विदुरनगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले साहित्य र कलाका लागि नगरसभाबाट बजेटसमेत राखेकाले आगामी दिनमा साहित्यिक कार्यक्रमलाई प्रोत्साहन गरिने बताए।
त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले नुवाकोटका स्रष्टा राष्ट्रिय पहिचान निर्माण गर्न सफल रहेकाले नुवाकोटवासीले साहित्यमा शिर ठाडो पार्नसक्ने अवस्था रहेको बताए।कार्यक्रममा त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख प्रा. कृष्णप्रसाद आचार्य, नगरपालिकाका उपप्रमुख गीता दाहाल, वडा नं ४ का अध्यक्ष वडाध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा तथा काठमाडौँंदेखिका साहित्यकारका साथै जिल्लाका स्रष्टाको उल्लेख्य सहभागिता थियो।कार्यक्रममा प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले कवि डंगोलको जीवनी प्रस्तुत गरेका थिए। 

२०७४ भाद्र २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत