खेलकुद

नेपाल र ताजकिस्तान दुवैलाई जित्नैपर्ने वाध्यता, खेल रोमाञ्चक हुने

एएफसी एसियन कप छनोट २०१९ को महत्वपुर्ण खेलमा आज दिउसो घरेलु मैदानमा नेपालले ताजकिस्तानको सामना गर्दैछ। अघिल्लो चरणमा प्रवेशको सम्भावना जिवितै राख्न समूह एफका दुवै टोलीलाई जितको आवश्यकता छ।

सन् २०१९ मा यूएईमा हुने एसियन कपमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन्। अन्तिम छनोटमा समूहमा शीर्ष दुई टिमले सहभागिता जनाउन पाउने प्रावधान छ।

त्यसैले महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिता खेल्ने आशा कायमै राख्न पनि नेपाललाई ताजकिस्तानसँग कम्तीमा बराबरी नतिजा आवश्यक पर्नेछ भने अंकविहिन ताजकिस्तानलाई जसरी पनि जित्नैपर्ने दबाव छ।

दुवै टोलीहरुले समूहमा दुई खेल खेलेका छन्। जसमा नेपाल एक अंक सहित तेस्रो स्थानमा छ भने ताजकिस्तान अंकविहिन रहदै पुछारमा छ।

नेपाल र ताजकिस्तान रहेको समूह एफ को शीर्ष टोली फिलिपिन्सको भने ६ अंक छ त्यस्तै दोस्रो स्थानको यमनले ४ अंक जोडेको छ।

गत नोभेम्बरमा एएफसी सोलिडारिटी कपमा मकाउलाई पराजित गरेयता नेपालले कुनै खेलपनि अन्तराष्ट्रिय खेल जित्न सकेको छैन्।

छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा मकाउसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो।

नेपाली प्रशिक्षक ग्यातुकी कोजीले अघिल्ला खेलहरु भन्दा टोलीमा निकै सुधार देखिएकाले घरेलु मैदानमा जितका लागि खेल्ने बताएका छन्। ‘हामी तीन अंकका लागि खेल्नेछौ,’ खेलअघि प्रतिक्रिया दिदैं कोजीले भने, ‘नभए बराबरीबाट एक अंक पक्का छ।’

फिफा वरियतामा ताजकिस्तान नेपालभन्दा १८ स्थान माथि रहेको टोली भएकाले कडा प्रतिस्पर्धा हुने विश्वास कप्तान विराज महर्जनको छ। ‘ताजकिस्तान राम्रो टोली हो,’ विराज भन्छन्, ‘दुवै टोलीलाई जित आवश्यक भएकाले खेल प्रतिस्पर्धात्मक हुने पक्का छ।’

ताजकिस्तानका मुख्य प्रशिक्षक फुजयलोभ खाकिमले आफ्नो टिम अंकतालिकाको पुछारमा रहेकाले जितको विकल्प नभएको बताएका छन्। ‘हामीसँग हार्नका लागि केही छैन,’ उनले भने, ‘नेपाल विरुद्ध हामी जितका लागि खेल्नेछौ।’

खेलको तयारीका लागि नेपाली टोलीले १० दिने जापान भम्रणका क्रममा विश्वविद्यालय र विभिन्न क्लबका टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यसले पनि टोलीलाई थप सुदृढ बनाएको जापानी प्रशिक्षक कोजीको विश्वास छ।

जर्जलाई मौका तथा विक्रमको पुनरागम हुनसक्ने

अनुभवी खेलाडी अनिल गुरुङलाई बाहिर राख्दै प्रशिक्षक कोजीले पहिलो पटक आर्मीका जर्ज प्रिन्स कार्कीलाई टोलीमा भित्र्याएका छन्।

आर्मीका लागि पछिल्ला दुई घरेलु प्रतियोगितामा सर्बाधिक गोलकर्ता रहेका प्रिन्सको तीव्र गति र सशक्त प्रहारलाई मध्यनजर राख्दै टोलीमा स्थान दिएको देखिन्छ।

ताजकिस्तान विरुद्ध मैदान छिर्ने मौका पाए गोल गर्ने विश्वास लिएका जर्जको डेब्यु सम्भावनाबारे कोजीले कुटनितिक जवाफ दिदैं टोलीका २३ जना खेलाडीहरु नै एक से एक रहेकाले कसैको डेब्युलाई नकार्न नसकिने बताए।

यता छनोटको पहिलो खेलमा रातो कार्ड पाएका कारण प्रतिबन्धमा परेका मिडफिल्डर विक्रम लामाले आज पहिलो रोजाइमा पर्ने सम्भावना छ।

नेपालको सम्भावित सुरुवाती ११

गोलकिपर –किरण चेम्जोङ
रक्षक – कमल श्रेष्ठ,अनन्त तामाङ,देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान)
मिडफिल्ड – अन्जन बिष्ट, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ
फरवार्ड – नवयुग श्रेष्ठ, विमल घर्ति मगर

२०७४ भाद्र २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत