खेलकुद

राष्ट्रिय फुटबलका नयाँ आशा

‘राम्रो खेल्ने तर गोल गर्न नसक्ने’ ट्यागले नेपाली फुटबल टोलीलाई सधै लखेटिरह्यो।

पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०१८ को छनोटका महत्वपूर्ण खेलहरु खेलिरहेको छ। 

छनोट चरणअन्तर्गत समूहको तेस्रो खेलमा मंगलबार नेपालले घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैछ। त्यसकै लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले २३ सदस्यीय टोली घोषणा गर्दा नेपालका लागि स्कोर गर्नसक्ने खेलाडी उनका खोजीमा परे।

सोही उद्देश्य पूर्ति गर्न कोजीले राष्ट्रिय टोलीमा एक जना नयाँ सदस्यलाई थपे। राष्ट्रिय टोलीका लागि ४९ खेल खेलिसकेका अनुभवी अनिल गुरुङको स्थानमा उनले फरवार्ड जर्ज प्रिन्स कार्कीलाई टोलीमा स्थान दिएका छन्।

प्रिन्स पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा हुँदै प्रारम्भिक टोलीमा अटाएका हुन्। ‘नाम घोषणा भएको दिन सपना जस्तै लागेको थियो, पछिल्ला प्रदर्शन राम्रो भएकाले टोलीमा अटाउछु कि झै पनि लाग्यो तर प्रारम्भिक सूचीमा आफ्नो पनि नाम देख्दा बच्चैदेखि देख्दै आएको सपना पूरा भए झै लाग्यो’, नेपालखबरसँगको सम्वादमा प्रिन्सले भने, ‘स्ट्राइकरको मुख्य भूमिका भनेकै गोल गर्नु हो, यदि मौका पाएमा गोल गर्ने उद्देश्य बोकी मैदान छिर्नेछु।’

प्रिन्सका पछिल्ला प्रदर्शनहरुले उनलाई गोल गर्न सक्ने खेलाडीका रुपमा चित्रित गरेको छ। त्रिभुवन आर्मीबाट घरेलु प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्सले पछिल्लो पटक मोफसलका दुई प्रतियोगितामा सहभागिता जनाउदा प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा आफूलाई अग्रस्थानमा उभ्याएका थिए।

गत चैतमा सर्लाहीमा भएको राजर्षि जनक कपमा प्रिन्स पहिलोपल्ट आर्मीको जर्सीमा मैदान उत्रिए। उक्त खेलमा उनले खेलेका ३ खेलमा ३ गोल गर्दै आर्मीलाई फाइनलसम्म पुर्याए।

यस्तै वीरगन्जमा भएको विशाल स्मृति कप आर्मीलाई जिताउन उनले ३ खेलमा ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाएका हुन्। ‘मेरो यही क्षमताले राष्ट्रिय टिमको ढोका उघ्रेको मैले महशुस गरेको छु’ प्रिन्सले भने, ‘साथै मेरो तीव्र गति र सशक्त प्रहार छनोटमा पर्नुको अर्को बलियो पक्ष रह्यो।’

स्नातकमा प्रतियोगिता

स्कुल जीवनमै साथीभाइहरुसँग रमाइलोका निम्ति खेल्दै जाँदा फुटबलप्रति उनको लगाव बढ्दै गयो। जन्मस्थान काभ्रेमा कक्षा दशसम्म अध्ययन गरुञ्जेलसम्म स्कुलका मैदानहरु बाहेक ठूलो मैदानमा प्रिन्सले फुटबल खेलेका थिएनन्। 
प्लस टु अध्ययनका लागि प्रिन्स लिटिल एन्जल्र्स एकेडेमीमा भर्ना भए। दुई वर्ष लिटिल एन्जल्र्समा पढ्दा उनले कलेज भित्रैका क्लबहरुसँग प्रतिस्पर्धा गरे।

‘व्यवसायिक फुटबल केहो? कसरी खेल्नुपर्छ र यसको क्रेज कस्तो छ भन्ने कुरा मैले प्लस टु सकाएपछि मात्रै थाहा पाए,’ प्रिन्स भन्छन्, ‘स्नातक अध्ययनका बेला अर्थात २०६७ सालयता मात्रै करिअरकै रुपमा फुटबललाई लिन थालेको हुँ।’
स्नातक अध्ययनका लागि सेन्ट जेभियर्स पुगेका प्रिन्सले पहिलोपटक ठूलो मैदानमा अन्तर कलेज स्तरिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाए।

२०६७ सालमा ब्रिटिस कलेजले बुद्धिविकास मैदान लगनखेलमा अन्तर कलेज फुटबल प्रतियोगिता आयोजना गरेको थियो। सेन्ट जेभियर्स सेमिफाइनलमा पराजित भए पनि ३ खेलमा ४ गोल गर्दै उनी प्रतियोगिता कै उत्कृष्ट खेलाडीमा चुनिए।

व्यवसायिक फुटबल

स्नातक अध्ययनका क्रममा विदाको समय मिलाएर विधालय स्तरिय प्रतियोगिता आयोजना गर्न र स्थानीय खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराउने उदेश्यले प्रिन्स काभ्रे फर्किए। ‘त्यहाँ स्थानीय खेलाडीहरुसँग फुटबल खेल्दै थिए,’ प्रिन्सले भने, ‘खल्ने क्रममा स्थानीय बनेपा ब्वाइज क्लबका पदाधिकारीहरुले मेरो खेलबाट प्रभावित हुँदै मलाई क्लबमा बोलाए।’

बनेपा ब्वाइज क्लबले त्यसवेला ‘सी’ डिभिजन छनोट खेलिरहेको थियो। २०६८ सालमा उनले पनि क्लवबाट ‘सी’ डिभिजन छनोट खेल्दै व्यवसायिक फुटबलमा पाइला चालेका हुन्। ‘क्लबले दुई खेल हार्यो तर मैले दुई खेलमा तीन गोल गरेको थिए,’ विगत सम्झदै प्रिन्सले भने।

सोही साल बनेपा ब्वाइज क्लबलाई जिल्ला च्याम्पियन बनाउँदा उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएपछि आर्मीको नजर उनीमाथि परे।

आर्मीले उनलाई आफ्नो फुटबल टोलीको प्रशिक्षणमा सहभागी गराउने भयो। त्यसवेला आर्मीको टोलीले ए डिभिजन लिग खेलिरहेको थियो। लिगकै बीचमा प्रशिक्षणमा आएका प्रिन्सलाई आर्मीको सेट टिम हुनुका साथै म्याच एक्सोजर पनि कम भएको भन्दै टिममा स्थान दिइएन् तर उनलाई आर्मीले फ्रेण्ड्स क्लबबाट खेल्ने बातावरण मिलाइदिए।

७० सालको ए डिभिजन लिगमा प्रिन्सले फ्रेण्ड्सले अन्तिम दुई खेल खेल्न पाए। ‘पहिलो चोटी ए डिभिजन खेलेकाले गोल गर्न सकेन् तर म्याच एक्सोजरका हिसाबले ती खेल महत्वपूर्ण थिए’ प्रिन्सले भने।

ए डिभिजन खेलेपछि पुनः आर्मीको नियमित प्रशिक्षणमा फर्केका प्रिन्स लगातार दुई वर्ष आन्तरिक प्रतियोगिताहरु र प्रशिक्षणमा व्यस्त रहे। सोहीक्रममा भारतमा आर्मीको प्रशिक्षणका लागि जादाँ समेत उनले त्यहाँ आफूलाई फुटबलमा अझै तिखार्दै लगे।

भारतबाट फर्केपछि प्रिन्सले घरेलु मैदानमा आर्मीका लागि दुई खेल खेलेका हुन्। दुवै खेलमा प्रतियोगिताकै उच्च गोलकर्ता भएपछि उनका लागि राष्ट्रिय टिमको ढोका खुलेको हो।

‘स्ट्राइकरको काम नै गोल गर्ने हो,’ राष्ट्रिय टिममा परेपछि नेपालखबरसँगको कुराकानीमा प्रिन्सले भने,‘ताजकिस्तान विरुद्ध मैदानमा उत्रने मौका पाए स्कोर गर्नेछु भन्ने विश्वास छ।’

२०७४ भाद्र १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत