खेलकुद

श्रीलंकाविरुद्ध भारतको क्लिन स्वीप : बने यस्ता किर्तिमान

कोलम्बो । भारतीय क्रिकेट टिमले एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा श्रीलंकलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले श्रृंखला ५–० ले कब्जा गरेको छ । 

श्रीलंकाली भूमिमा भारतले ५–० ले श्रृंखला जितेको यो पहिलो अवसर हो ।
अन्तिम खेलमा श्रीलंकाको पूरै टोली २३८ रनमा आउट भयो । जवाफमा भारतले ४६.३ ओभरमा उक्त लक्ष्य पछ्यायो ।

म्याचमा शानदार बलिङ गर्ने भुवनेश्वर कुमार म्यान अफ द म्याच घोषित भयो भने जसप्रीत बुमराह म्यान अफ द सिरिज बने ।

एक दिवसीय इतिहासमा भारतले ६ पटक ५–० ले श्रृंखला क्लिन स्वीप गरेको छ । यसमध्ये मात्र दुई पटक विदेशी भूमिमा यस्तो सफलता हात पारेको छ ।

श्रीलंकाको भूमिमा यस्तो सफलता हात पारेको यो पहिलो अवसर हो र विदेशी भूमिमा हात पारेको दोस्रो जीत हो ।

भारतले यसअघि विराट कोहलीकै नेतृत्वमा सन् २०१३ मा जिम्बावेलाई ५–० ले हराएको हो ।

खेलमा विराट कोहलीले आफ्नो ३० औँ शतक पूरा गरे । एकदिवसीय इतिहासमा सबैभन्दा धेरै शतक लगाउने उनी दोस्रो खेलाडी बनेका छन् । उनले अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको किर्तिमान बराबरी गरेका छन् ।

विराटले १९४ औँ खेलमा यो उपलब्धि हात पारेका हुन् भने पोन्टिङलाई ३७५ औँ खेलमा यो सफलता हात पारेका थिए ।

कोहलीभन्दा अघि सचिन तेन्दुल्कर रहेका छन् । तेन्दुल्करले ४६३ खेलमा ४९ शतक बनाएका छन् ।

यता, महेन्द्र सिंह धोनी एकदिवसीय खेलमा १ सय स्टम्पिङ गर्ने पहिलो खेलाडी बनेका छन् । धनन्जयलाई स्टम्पिङ गर्दै उनले यो किर्तिमान बनाए । यसअघि श्रीलंकाका कुमार संगाकाराले ९९ वटा स्टम्पिङ गरेका थिए ।

त्यस्तै, धोनीले एकदिवसीय करियरमा ७३ औँ पटक नटआउट रहँदै दक्षिण अफ्रिकाका साउन पोलाक र श्रीलंकाका चमिण्डा भासलाई पछि छाडेका छन् ।

२०७४ भाद्र १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत