देश

बाढीले भारत पुर्‍याएका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने

अविरल वर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पुर्‍याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ। बुधबार थप एक गैँडा भेटिएपछि बिहीबार ल्याउने प्रयास शुरु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो। रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताए।

बिहीबार बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उनले बताए। भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर) गैँडा नेपाल ल्याइन्छ। जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ। हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ। अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ। लिङ्ग यकिन भइनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताए।

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा  पुर्‍याएको छ। नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन्। यी गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उनले बताए।

हालसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको थियो।

२०७४ भाद्र ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत