फिचर

कफी खेतीमा युवा जोडीको सफलताः जिरोबाट ‘हिरो’

एक दशक अगाडिसम्म नेपालमा ‘कफी’ को परिभाषा नै छुट्टै थियो । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् ।

करिब नौ वर्षअघि काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गर्दै गरेका कुमुद सिंह र रवीन्द्र श्रेष्ठलाई पनि कफीबारे खासै जानकारी थिएन । झन् यो कसरी उत्पादन हुन्छ भन्ने त थाहा हुने कुरै भएन ।

‘हामी पढाइको अन्तिम वर्षमा छँदा निर्णय गर्‍यौं, नेपालमै बसेर कृषिमै केही गर्नेछौं’, काठमाडौं कफीका व्यापार प्रबन्धक कुमुद बताउँछन् ।

कफी खेतीमा होमिनु अगाडि रवीन्द्र र कुमुदले धेरै विज्ञसँग समय बिताए ।

‘हामीले धेरै सरकारी कृषि कार्यालय चहार्‍यौं, जहाँ जाँदा पनि अफिसहरू प्रायः खाली हुन्थे । घण्टौं बसेर चिया पिउँदै कुराकानी गथ्र्यौं’, कुमुद भन्छन्, ‘हामीले नेपालमा कफीको पायनियर मानिने हिमालयन जाभाका मालिकसँग पनि कुरा गर्‍यौं ।’

कुराकानी र सरसल्लाहको चरणपछि कुमुद र रवीन्द्र दुई वटा निष्कर्षमा पुगेः ‘हो, नेपालमा कफी उत्पादन गर्न सकिन्छ । तर, कुनै पनि कफी व्यवसाय दिगो हुनका लागि त्यसले निर्यात गर्न सक्ने क्षमता राख्नुपर्छ । किनभने नेपालमा कफीको खासै माग छैन ।’

केही महिनाभित्रै कफी उमार्ने र बिक्री गर्ने जोशका साथ उनीहरूले अल्पाइन कफी स्टेट प्रालि नामक कम्पनी दर्ता गराए । उनीहरूका अरू साथीले नुवाकोटमा कृषि व्यवसाय गर्न लागेका थिए । त्यहाँ कफी खेतीको सम्भाव्यता देखिएकाले उनीहरूले त्यतै जग्गा किन्ने निर्णय गरे । तर, जग्गा किन्न बैंकहरू धाउँदा उनीहरूको जोशलाई कसैले पत्याएनन् ।

‘केही नलागेर हामीले व्यक्तिगत रूपमै ओभर ड्राफ्ट ऋण लियौं, त्यो पनि चर्को ब्याजदरमा,’ कुमुद अझै सम्झन्छन् ।

 

धान रोपिने खेत उनीहरूले करिब ४० लाख हालेर किनेका थिए । त्यसपछि उनीहरुले जसोजसो आँट्दै गए, सबै पुग्दै गयो ।

उनीहरुले आफ्नो फार्ममा कफी रोप्न काभ्रेबाट मगाए । काम थाल्नुअघि उनीहरुले धेरै जनासँग सरसल्लाह लिए पनि उनीहरुले यो काम कसरी गर्ने भनेर काम अघि बढाएसँगै थाहा पाए । त्यस क्रममा उनीहरुले बुझे, कफी रोप्नु सोचे जस्तो सजिलो रहेनछ ।

आफ्नै कफी फार्म र आफ्नै प्रशोधन केन्द्र भएकाले उनीहरु व्यवसाय थप विस्तार गर्ने योजना बुनिरहेका छन् । उनीहरू अब आफैं कफी आउटलेट खोल्ने सोचमा पनि छन् । ‘हाम्रो बिजनेस मोडलले पनि हामीलाई आफ्नै पसल खोल्न सजिलो हुनेछ’, कुमुद सुनाउँछन् ।

तर, क्याफे खोल्न उनीहरूले आफ्नो उत्पादन बढाउनुपर्ने हुन्छ । नेपालमा जग्गाको हदबन्दीसम्बन्धी कानूनका कारण उनीहरुले फेरि जग्गा थप गर्न नसक्ने स्थिति छ । त्यसैले उनीहरू भएकै जग्गाको उत्पादकत्व बढाउन चाहन्छन् ।

‘हामीले थोपा सिँचाइ प्रविधि अपनाउन खोजिरहेका छौं । यो प्रविधिको प्रयोगबाट ५० प्रतिशतसम्म उत्पादकत्व बढाउन सकिने देखिएको छ’, रवीन्द्र भन्छन् ।

यो त भयो नेपाली बजारको कुरा । काठमान्डू कफीले अन्तर्राष्ट्रिय बजारका लागि के गर्दै छ त ?

नेपाली कफीले हालै मात्र विभिन्न देशमा आफ्नै ट्रेडमार्क पाए पनि यसको गुणस्तरमा एकरुपता आउन सकेको छैन । यो स्थितिमा उनीहरुले आफ्नो उत्पादनमा निश्चित गुणस्तर कामय राख्दै विदेशी बजार आकर्षित गरिरहने उद्देश्य बनाएका छन् ।

‘हामीले विदेशबाट इमेल पाउँछौं, नेपाली कफीको गुणस्तर किन सधैं एकैनासको हुँदैन भनेर । यदि कफीको निर्यात प्रवर्द्धन गर्ने हो भने सरकारले नेपाली कफी कस्तो हुनुपर्छ भनेर मापदण्ड नै तोक्नुपर्छ, त्यसरी मात्र यसको विदेशी बजार विस्तार गर्न सकिन्छ’, रवीन्द्र सुझाव दिन्छन् ।

त्यस्तै, विदेशीहरूले नेपालबाट कफी मगाउँदा सानो परिमाणमा मगाउँछन् र फ्लाइटबाट पठाउँदा यसको मू्ल्य निकै महँगो पर्न जान्छ । जसले गर्दा संसारका महँगो कफीभन्दा पनि नेपाली कफीको मूल्य चर्को हुन्छ । उनीहरु विदेशमा कफी पुर्‍याउन वैकल्पिक माध्यमको खोजीमा छन् ।

तर, ‘जिरो’ बाट सुरु गरेको व्यवसाय आज यो अवस्थासम्म आइपुग्दा रवीन्द्र र कुमुद सन्तुष्ट छन् । उनीहरु नेपाली कफीबारे आशावादी पनि उत्तिकै छन् ।

‘हामीलाई थाहा छैन, कफीमा असफल भएको भए हामी के गथ्र्यौं होला । तर, असफल हुन्छौं कि भन्ने नसोची हामी अगाडि बढिरह्यौं । आजको नतिजा त्यसैले दिएको हो’, उनीहरूको साझा निश्कर्ष छ ।

२०७४ आषाढ ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत