रोजगार

यो वर्ष खाद्य उत्पादन १३ प्रतिशतले बढ्छः आर्थिक सर्वेक्षण

चालु आर्थिक वर्षमा खाद्य उत्पादन १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ को आठ महिनामा कृषि उत्पादनमा उत्साहजनक उपलब्धि देखिएको हो। व्यवस्थापिका–संसदमा आइतबार पेस भएको आर्थिक सर्वेक्षण २०७३/७४ मा कृषि क्षेत्रको उत्पादन पाँच दशमलव शून्य २९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

गत आवको सोही अवधिमा कृषि क्षेत्रको उत्पादन शून्य दशमलव शून्य तीन प्रतिशत थियो। अनुकूल मौसम, रासायनिक मल, कृषि औजारको सहज उपलब्धताका कारण खाद्यान्न उत्पादन बढेको हो । चालु आवमा कुल खाद्यान्न उत्पादन ९७ लाख ४१ हजार मेट्रिक टन पुग्ने अनुमान छ । उक्त उत्पादन गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो।

सबैभन्दा बढी धानको उत्पादनमा २१ दशमलव शून्य छ प्रतिशत वृद्धि भई ५२ लाख ३० हजार मेट्रिक टन पुगेको छ । चालु आवको आठ महिनामा सिँचाइ सुविधा थप नौ हजार ७७५ हेक्टरमा विस्तार भएको छ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने झन्डै १७ लाख हेक्टर जमिनमा खेती गरिन्छ। कृषि गणना २०६८ का अनुसार ६६ प्रतिशत जनता कृषि पेसामा संलग्न छन् । चालु आवमा धान, मकै, कोदो, फापर९तीते र मीठे०को कूल उत्पादन एक करोड ४ लाख मेट्रिक टन छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न आवश्यक पर्छ। 
गत वर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन, कोदो तीन लाख दुई हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन लाख छ हजार मेट्रिक टन उत्पादन भएको छ।

त्यसैगरी फापर (तीते र मीठे) को गत वर्ष ११ हजार ६०० मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ११ हजार ८०० मेट्रिक टन र गहुँ गत वर्ष १७ हजार मेट्रिक टन उत्पादन भएको थियो।

यस वर्ष तराइको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायत १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानमध्ये धानको मात्र २० प्रतिशत छ।

अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रको आकारमा सेवा क्षेत्रको अंश बढ्दै गए पनि कृषिको अंश घट्दै गएको बताए। शिक्षित युवाको कृषि क्षेत्रतर्फ आकर्षण नहुनु, खेतीयोग्य जमिन घडेरीमा परिणत हुनु, सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु, तथा जग्गा बाँझो राख्ने चलनले कृषिको अंश घट्दै गएको हो।

देशभर २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरज पोखरेलले जानकारी दिए। छैटौँ कृषि गणना २०६८ का अनुसार एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । पछिल्लो १५ वर्षको अवधिमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै आएको छ।

२०७४ जेठ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत