समाचार

एक मतदाता बराबर ६० रुपया खर्च : निर्वाचन आयोग

काठमाडौं,जेठ १५ – चितवनको भरतपुर महानगरपालिकार र भक्तपुरको चाँगुनारायण नगरपालिकाबाहेक पहिलो चरणमा चुनाव भएका २ सय ८१ स्थानिय तहको परिणाम आइसकेको छ । मतपत्र निकै ठूलो भएको, दलहरु धेरै, दलहरुको अन्तिम समयमा भएको चुनावी गठबन्धन लगायतका धेरै कारणले यो चुनावमा धेरै मत बदर हुने आँकलन गरेको थियो ।

तर अनुमान गरिएजस्तो अन्त्यन्तै धेरै मत बदर भएको अन्तिम विवरण त आयोगले पनि सार्वजनिक गरेको छैन । तर शिक्षितहरुको बसोबास भनिएको शहरी इलाकामा नै हजारौंको संख्यामा मत बदर भएकाले दोस्रो चरणको चुनावको लागि मतदाता शिक्षा थप प्रभावकारी बनाउनुपर्ने निष्कर्षमा आयोग पुगेको छ । 

पहिलो चरणमा सोचेभन्दा कम मत बदर

राजनीतिक दलहरुको विवादका कारण चुनाव हरेक काम हतार हतारमा भए ।  मतदातालाई हरेक दिनका निर्णयले झनै अन्योल थपेको थियो । धेरै दल, ठूलो मतपत्र, देख्दा उस्तै देखिने चुनाव चिन्ह, अनि खुला वडा सदस्यको लागि एउटै कोठामा भएका दुईवटा चिन्हले मतदाता अक्क न बक्क थिए । जानेबुझेका मतदाता पनि भोट हाल्ने विषयमा अन्योलमा पर्दा पहिलो चरणको चुनावमा १० प्रतिशतसम्म मत बदरको अनुमान गरिएको छ, तर आयोग नै अचम्ममा पर्नेगरी धेरै भन्दा धेरैमा ४ प्रतिशत मात्रै मत बदर भएका प्रारम्भिक विवरण आएको छ ।

‘झन्झट हेर्दा पहिलो चरणको चुनावमा निकै मत बदर हुने डरमा आयोग थियो, तर हामी नै अचम्ममा पर्नेगरी धेरैमा ४ प्रतिशत मात्रै मत बदर भएको प्रारम्भिक रिपोर्टिङ पाएका छौं’ निर्वाचन आयोगका सहसचिव तथा मतदाता शिक्षा कार्यक्रम प्रमुख नवराज ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘निर्वाचन आयोगले भन्दा पनि मिडिया र दलहरु अनि मतदाता नै आफैं सजग भएकाले कम मात्रै मत बदर भएको हो ।’

कस्तो अवस्थामा कति मत बदर भए भन्नेबारेको अन्तिम तथ्याँक आउन बाँकी रहेकोले बदर मतको ठ्याक्कै संख्या आयोगसँग छैन । अन्तिम तथ्याँक आउन केही समय लाग्ने आयोगले जनाएको  छ ।

शहरमा बढेको बदर मतले आयोग तनावमा

काठमाडौं महानगरपालिकाको मेयर पदको लागि १ लाख ९७ हजार २ सय २१ मत खसेकोमा ६ हजार १ सय ८३ मत बदर भयो । यो खसेको मतको ३ दशमलव १४ प्रतिशत हो । उपमेयरमा त झण्डै १० हजार मत बदर भएको छ । काठमाडौं उपत्यकालाई आयोगले शिक्षितहरु बसोबास रहेको ठाउँ भएकाले यति धेरै मत बदर होला सोचेको थिएन । तर काठमाडौंमै यतिधेरै मत बदर भएपछि आयोग मतदाता शिक्षा कार्यक्रमलाई पुनर्विचार गर्ने योजना बनाएको छ । 

‘काठमाडौंमा मात्रै यति धेरै मत बदर होला भन्ने हामीले सोचेका पनि थिएनौं, तर यतिधेरै मत बदर भयो’ निर्वाचन आयोगका सहसचिव तथा मतदाता शिक्षा कार्यक्रमका प्रमुख नवराज ढकालले भन्नुभयो, ‘पहिलो कुरा त काठमाडौंका मतदाताले आफूलाई निकै जान्ने  ठानेर मतदाता शिक्षा दिएनन्, अनि मतदाता शिक्षा लिएका मतदाता पनि दलहरुको गठबन्धनका बारेमा मतदाता अनविज्ञ हुँदा बदर मत बढेको हो ।’

दोस्रो चरणको चुनावमा थप कार्यक्रम समावेश

कति मत भयो भन्ने तथ्याँक नआएपनि पहिलो चुनावबाट पाठ सिकेर निर्वाचन आयोगले जेठ ३१ गते ४१ जिल्लाका ४ सय ६१ स्थानिय तहमा हुने दोस्रो चरणको चुनावको लागि मतदाता शिक्षा कार्यक्रम अझै प्रभावकारी बनाउँदैछ । 

झण्डै ९१ लाख मतदाताको लागि आयोगले जेठ ५ गतेदेखि नै ११ हजार ९ सय ३१ जना स्वयंसेवकलाई खटाइसकेको छ । एउटा स्वयंसेवकले अनिवार्य रुपमा ७ सय ३० जनालाई उनीहरुकै घरमा पुगेर शिक्षा दिनुपर्नेछ । धेरै रकम खर्चेर सञ्चारमाध्यममा विभिन्न भाषाभाषीका प्रचार सामग्री बनाइएको छ, पर्चा पम्लेट अनि सडक नाटक देखाउने सम्मका कार्यक्रम गरिरहेको छ । २८, २९ र ३० गते मतदाता परिचयपत्र लिन जाँदा पनि मतदाता शिक्षा कार्यकर्ताले बदर नहुने गरि भोट हाल्न सिकाउने छन् । दोस्रो चरणको चुनावमा साँच्चैको मतपत्र नै देखाएर नमुना मतपत्रमा चिन्ह लगाउन सिकाउने काम भैरहेको छ । 

एक मतदाता बराबर ६१ रुपैयाँ भन्दा धेरै खर्च

१ करोड ४० लाख मतदातालाई शिक्षा दिन निर्वाचन आयोगले ८६ करोड रुपैयाँ खर्च गरेको छ । मतदाता शिक्षाको लागि आयोगले २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको छ, उनीहरुलाई दिइने भत्ता र अन्य सुविधा गरेर आयोगले ४० करोड रुपैयाँ खर्च गरेको छ । मतदाता शिक्षाका लागि १० करोड रुपैयाँ सरकारी सञ्चारमाध्यमलाई दिइएको छ । निजी सञ्चारमाध्यमलाई पनि रकम दिएर मतदाता शिक्षाका विभिन्न सामग्री प्रचार प्रसार गरिएको छ । विभिन्न भाषाभाषीका लागि प्रचार सामग्री बनाउँदा र प्रकाशन, प्रशारण गर्ना ९ करोड रुपैयाँ खर्च  गरिएको छ । 

यसरी मतदाता शिक्षामा सबै गरेर ८६ करोड रुपैयाँ खर्च भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । हिसाव गर्दा भोट हाल्न सिकाउन आयोगले प्रति मतदाता ६१ रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । आयोगले खर्च गरेअनुसारको मतदाता शिक्षा प्रभावकारी बनाउने र दलहरुले पनि भोट माग्दा सदर र बदर मतबारे मतदातालाई जानकारी गराएमा दोस्रो चरणमा पहिलो चरणमा भन्दा कम मत बदर हुनेथियो ।

२०७४ जेठ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत